नेपालमा हरेक बर्ष भदौ २० गते मानव बेचबिखनबिरुद्धको राष्ट्रिय दिवस मनाइन्छ । हरेक बर्ष मनाइने गरेको यो दिवसको यस बर्षको नारा–‘ तीनै तहका सरकार मिली गरौं हातेमालोः मानव बेचबिखनको हटाऔं दुष्चक्रको जालो’ निर्धारण गरिएको छ । सार्क सम्मेलनबाट पारित वेश्याबृत्तिका लागि हुने महिला तथा बालबालिका बेचबिखनविरुद्धको महासन्धि सन् २००२ लाई २०६३ सालमा पुनस्र्थापित संसदले अनुमोदन गरेको दिनदेखि यो दिवस मनाउन शुरु गरिएको हो । विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको यो दिवसको सान्दर्भिकता झनै बढेको छ । ¥याली, अन्तरक्रिया लगायतका कार्यक्रम सञ्चालन गरिरहँदा पनि यो समस्या न्यूनीकरण हुनुको साटो भयावह बन्दै गएको छ ।

सरकारले मानव बेचबिखन तथा ओसारपसार र हिंसालाई नियन्त्रण गर्ने उद्देश्यका साथ २०६४देखि मनाउन थालिएको भए पनि यो बहुआयामिक, बहुक्षेत्रगत र विश्वव्यापी समस्या बनेको छ । नेपालमा भने मानव बेचबिखनको स्वरुप फेरिँदै गएर गम्भीर समस्याका रुपमा देखा परेको छ । अहिले रोजगारीको लोभमा पारेर जोखिमयुक्त काममा लगाउने, श्रम शोषण गर्ने, अंग बेचबिखन गर्ने जस्ता घटना हुन थालेका छन् । बालबालिका, किशोरी मात्र होइनन् महिलाहरु नै रोजगारीको प्रलोभनमा जोखिममा पर्दै गएको दिनहुँ सार्वजनिक भइरहेका सूचनाले देखाउँछ । तर, बेचिएका चेलीबेटीको उद्धार बेचबिखनबाट जोगाउनुपर्ने कदम प्रभावकारी हुन सकेका छैनन् । यस्तो बेचबिखनमा पुरुषहरु पनि पर्न थालेका छन्, सचेतनाका कार्यक्रमले त्यस्तो कार्य रोक्न सकेको छैन ।
यद्यपि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धित ऐन, नियम बनाइएको छ तर त्यसको उचित कार्यान्वयन भएको छैन । अहिले मानव बेचबिखनको स्वरुप फेरिएको छ र बैदेशिक रोजगारीको नाममा मानव बेचबिखन भइरहेको छ । कानूनले विदेशमा काम गर्न जानेले श्रमस्वीकृति लिनुपर्ने प्रावधान राखेको छ तर बिना श्रमस्वीकृति धरै युवा घरेलु कामदारका रुपमा बेचिएका छन् । यहाँसम्म कि सरकारका उच्च पदमा रहेकाहरु नै मानव बेचबिखनमा संलग्न रहेको आरोप लागिरहेको छ । यस्तोमा कुनै मेनपावर कम्पनी, कन्सलटेन्सी र बिचौलियाका भ्रममा परेर बेचिनु अनौठो होइन । यस्तो गलत, अनुचित र गैरकानूनी कार्य गर्ने जो कोही कानूनद्वारा दण्डित हुनुपर्छ । उनीहरुलाई कानूनी दायरामा नल्याएसम्म यस्तो अपराध रोकिने छैन । तसर्थ तीनवटै तहका सरकारले आ–आफ्नो तहबाट बेचबिखनकाबिरुद्ध सशक्त ढंगले लाग्नुपर्छ ।




























