त्रिपुरेश्वर शिवालय मन्दिरको अध्यक्षमा पुनः बराल

0
102
अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिका–३स्थित त्रिपुरेश्वर शिवालय मन्दिरको १३औं अधिवेशन एवम् ३५औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भोलानाथ बरालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको विशेष अतिथि मन्दिरका संस्थापक सचिव एवम् अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिका महासचिव शिवलाल खतिवडाले उद्घाटन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तोकिएका अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ पालिकाको आफ्नै कार्यक्रमको कारण अनुपस्थित भएपछि आयोजकको निर्णय अनुसार उक्त कार्यक्रमको उद्घाटन विशेष अतिथि खतिवडाले गरेका थिए ।
कार्यक्रममा समितिका अध्यक्ष बरालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र आन्तरिक लेखा परिक्षण समितिका सदस्य लोकनाथ खतिवडाले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा संस्थाको गत आर्थिक वर्ष २०८१÷०८२को जम्मा आम्दानी ३९ लाख २५ हजार एक सय १८ रुपैयाँ, जम्मा खर्च १६ लाख ५९ हजार पाँच सय दुई रुपैयाँ र जम्मा बचत २२ लाख ६५ हजार छ सय १६ रुपैयाँ उल्लेख गरिएको छ ।
सोही कार्यक्रममा संस्थालाई भूमिदान अन्र्तगत एक लाख रुपैयाँ सहयोग रकम प्रदान गर्ने दाता दानेन्द्रविक्रम नेम्वाङलाई सम्मानित गरिएको थियो । दाता नेम्वाङको सम्मान निवर्तमान वडाध्यक्ष जीवकुमार भण्डारी “जीवन”ले ग्रहण गरेका थिए ।
कार्यक्रममा अर्जुनधारा–३का वडाध्यक्ष सीताराम भट्टराई, नगर कार्यपालिकाकी सदस्य चन्द्रमाया तामाङ, मन्दिरका संस्थापक सचिव खतिवडा, सहभागीद्वय सीता भट्टराई र हरिप्रसाद तिम्सिनालगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिका उपाध्यक्ष लीलाधर खतिवडाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव भीम सुवेदीले गरेका थिए ।
सोही अधिवेशनको बन्दसत्रले आगामी तीन वर्षे कार्यकालको लागि पुनः बरालको अध्यक्षतामा नौ सदस्य कार्यसमिति सर्वसम्मत गठन गरेको बताइएको छ । समितिका उपाध्यक्षमा सोमनाथ आचार्य, सचिवमा रामचन्द्र आचार्य, सहसचिवमा सीता भट्टराई, कोषाध्यक्षमा जानुका खतिवडा र सदस्यहरुमा उर्मिला खतिवडा, डिल्लीराम खतिवडा, याम सुवेदी र हरि भण्डारी चयन भएका छन् ।
विधान अनुसार ११ सदस्यीय समितिको बाँकी दुई जना सदस्य संस्थाको आगामी बैठकबाट मनोनित गरिने अध्यक्ष बरालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here