पथरी शनिश्चरेमा थारु समुदायको जितिया पर्व विशेष सांस्कृतिक कार्यक्रम

0
91

छविराज ढकाल
पथरिशनिश्चरे,

मोरङको पथरी शनिश्चरे वडा नं ४ को सरस्वती आधारभूत विद्यालयको प्राङ्गणमा थारु समुदायको लोकप्रिय जितिया विशेष सांस्कृतिक कार्यक्रम मनाएका छन्।

“भाषा, संस्कृति, भेषभुषा र जातिय पहिचानको संरक्षण ” भन्ने नाराका साथ थारु कल्याणकारिणी सभा पथरी शनिश्चरेको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले पथरी शनिश्चरे नगरभित्र विविधतामा एकता रहेको उल्लेख गर्दै नगरपालिकाले सबै समुदायका संस्कृति र परम्पराको विकास एवम् संरक्षण गर्ने बताउनुभयो।

सोहि क्रममा थारु कल्याणकारिणी समितिका मोरङ अध्यक्ष प्रदिप विश्वासले परम्परागत थातथलो सहित जल, जमिन ,जंगल मासिँदै गएको भन्दै थारूवासीको भाषा, पोशाक साहित्य, संस्कृति परम्परा पहिचान भएकोले जोगाएर राख्नु पर्ने बताउनुभयो।

आफ्नो सन्तानको सुख शान्ति समृद्धिको लागि ३ दिन सम्म निराहार महिला दिदिबहिनीहरुले मनाउँदै आएको जितिया पर्व थारू समुदायको मौलिक पर्व रहेको वक्ताहरुले धारणा राखेका थिए। सोहि अवसरमा आदिवासी जनजाति महासंघ पथरी शनिश्चरेका अध्यक्ष देवेन्द्र वनेम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) का केन्द्रिय उपाध्यक्ष अर्जुन जम्नेली राईले – आई. एल. ओ. -१६९ र आदिवासी जनजाति सम्वन्धि संघ संगठन घोषणा पत्र अनुसार नेपालका सबै ५९ आदिवासी जनजातिको अन्तर्राष्ट्रिय कानून तथा हालै सर्वोच्च अदालतको निर्देशनात्मक आदेश अनुसार संघ, प्रदेश र स्थानीय तहले नै आवश्यक कानुन नीति निर्माण गरी लागु गर्न भनिएको हुदाँ सोको लागि काम गर्न पनि अनुरोध गर्नुभएको छ।

थारु कल्याणकारिणी सभा पथरी शनिश्चरे नगर अध्यक्षका रामनारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा थारु कल्याणकारिणी सभा कानेपोखरीका अध्यक्ष विद्यानन्द चौधरी , पथरी शनिश्चरे वडा नं ८का वडा अध्यक्ष नवीन जंग कार्की, वडा नं ०४ का वडाध्यक्ष लोक किरण न्यौपाने, बावुराम चौधरीले शुभ-कामना मन्तब्य राख्नु भएको थियो।

उक्त अवसरमा थारु गायिका अन्जना चौधरीले थारु समुदायको लोकप्रिय जितिया पर्वको सुमधुर गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिइन् भने मोरङका विभिन्न १० सांस्कृतिक टोलीले सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए। कार्यक्रमका अतिथिहरूलाई थारु समुदायको मौलिक परिकार सगुन स्वरूप बग्या, रोटी र जेरी ( जुलेपी) कोशेली प्रदान गरिएको थियो।

थारु जातिका महिलाले आफ्नो सन्तानको सुख र समृद्धिको लागि गरेको ३ दिन सम्म जितिया पर्वको अवसरमा निराहार कठोर ब्रत बस्ने प्रचलन रहेको पाइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here