सुरुङ्गा . जेन–जी पुस्ताको आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि कुरुप बनेको बिर्तामोड सरसफाइमा यहाँका युवा जेटेका छन् ।
आगजनी र तोडफोडपछि कुरुप भएको बिर्तामोडको सफाइमा स्वतस्फूर्त यहाँका युवा अग्रसर भएका हुन् । उनीहरुले इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा सहित बिर्तामोड बजारको सरसफाई गरिरहेको स्थानीय समाजसेवी सन्तोष राजवंशीले जानकारी दिनुभयो ।
आगलागीका कारण जलेर पूर्ण रुपमा नष्ट भएका भौतिक संरचनाकोसमेत सरसफाई भइरहेको छ । इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयम झापामा रहेका सवारी समेत जलेर पूर्ण रुपमा नष्ट भएका थिए । ती सवारी साधनको समेत व्यवस्थापनको काम गरिँदै छ ।
त्यस्तै आन्दोलनका क्रममा प्रयोग गरिएका बोतल, ढुङ्गा, जस्ता सामग्री हटाइएको छ भने टायर बालेर प्रदुषित बनेको सडकसमेत सफा गरिएको छ । जसका लागि युवाले विहानैबाट सरसफाई अभियान सञ्चालन गरेका हुन् ।































