युवाका सपना साकार होउन्

0
47

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले आइतबार पदभार ग्रहण गरेकी छिन् । सत्ताइस घण्टाको युवाहरुको आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पदभार ग्रहण गर्दै विषम् परिस्थितिमा आफूले जिम्मेवारी लिनु परेकोले सबैको सहयोगको अपेक्षा गरेको बताइन् । यतिबेला देश कठिन अवस्थामा छ, शान्ति, सुव्यवस्था र सुशासनको खडेरी परेको छ । सामाजिक सञ्जाल माथिको प्रतिबन्धबाट शुरु भएको युवाहरुको आन्दोलनले भ्रष्टाचार, अपारदर्शिता र कुशासनको असन्तुष्टिलाई समेत जोडेर वर्षौंदेखि जरा गाडेर बसेका दलहरुको दम्भ र अहंकारलाई नामेट ग¥यो । जेन जी भनिने युवा पुस्ता देशमै गुणस्तरीय शिक्षा, रोजगारी र समृद्धिको अपेक्षामा थिए । तर, सरकार भने परम्परागत शैलीबाट उठ्न सकेन मात्र होइन तिनका सन्तानको जीवनशैली र विलाशी जीवन भोगाइलाई उपलब्धी ठानी रह्यो ।

त्यसो त राजनीतिक परिवर्तनका लागि फरक–फरक समयमा आन्दोलनहरु भएकै हुन् । तर, तिनले देशमा शान्ति, स्थायित्व र समृद्धि दिन सकेनन् । कुनै दल वा नेताको नेतृत्वमा भएका विगतका आन्दोलनभन्दा फरक यो आन्दोलन प्रविधिमार्फत विस्तार भएको विचार र आवेगको परिणाम हो । यो आन्दोलनले पुरानोशैली, परम्परागत सोच र कुनै व्यक्तिको अहंकार एवम् स्वेच्छाचारिताले अब जनतालाई झुक्याउन पाइँदैन भन्ने देखाएको छ । त्यहीकारणले जेन जी पुस्ताले हक्की, स्पष्टवक्ता, इमान्दारिता र भ्रष्टाचारबिरुद्धको व्यक्तित्वका रुपमा पूर्व प्रधानन्यायाधीश कार्कीमाथि विश्वास गरेका छन् । यद्यपि यो सरकार अन्तरिम हो र आन्दोलनले ध्वस्त गरेका भौतिक संरचनाको पुनर्निमाण त्यत्तिकै चुनौतीपूर्ण पनि छ । यही आन्दोलनमा सरकारले अत्यधिक बल प्रयोग गर्दा एकैदिन ठूलो मानवीय क्षति भयो भने त्यसयता गरी सत्तरी जनाभन्दा बढीले शहादत प्राप्त गर्नुप¥यो । मृतकका परिवारप्रति सरकारको दायित्व भावनात्मक र कर्तव्यबोधसहितको देखिनुपर्नेछ ।

प्रथम महिला प्रधानमन्त्रीको रुपमा सत्ताको बागडोर सम्हालेकी कार्कीका सामू शान्ति, सुरक्षा, पुनर्निमाण, आन्दोलनको अपेक्षा पूरा गर्ने चुनौती छदैछ । त्यस बाहेक छ महिनामा आमनिर्वाचन गरी प्रजातन्त्रको संस्थागत तथा स्थायित्वको प्रत्याभूति गराउनु पनि छ । त्यसका लागि प्रशासनिक सुधार, रोजगारीका अवसर, शिक्षा प्रणालीमा पुनर्संरचना, दीर्घकालीन नीति र विद्यमान विसंगतिहरुको अन्यसहितका जिम्मेवारी पूरा गनुपर्र्नेछ । परिवार, समाज र राष्ट्रको भविष्यका आधार भनेकै युवा हुन् । तसर्थ उनीहरुको आवाजलाई सम्बोधन गर्नैपर्छ । त्यसका लागि शक्तिशाली आयोग बनाएर भ्रष्टचारको छानविन गर्न जरुरी छ । अब फेरि पुराना दलहरुले सत्तामोहमा फसेर पुरानै ढर्रामा उभिने चेष्टा गर्नुहुँदैन । बरु आफ्ना कमीकमजोरी र भुलहरुको आत्मसमीक्षा गर्दै देशको स्थायित्व र समृद्धिमा हातेमालो गर्नुपर्छ । नत्र जनतामा व्याप्त निराशा र अविश्वासलाई लयमा फर्काउन सकिने छैन । त्यसैले सबै दल तथा नेतृत्व पंक्तिले परिस्थितिको मूल्यांकन गर्दै युवाको सपना साकार पार्न लाग्नु पर्दछ । यस्तो कठिन परिस्थितिलाई आत्मसात गरेर जिम्मेवारी ग्रहण गर्ने प्रथम प्रधानमन्त्री कार्कीलाई सफल तथा फलदायी कार्यकालको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here