झापा । इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र भाटभटेनी सुपरमार्केट बिर्तामोड जस्ता व्यापारिक मलबाट लुटिएको सामग्री फिर्ता गराउन महत्वपूर्ण भूमिका खेले बिर्तामोड–४का राजु राजवंशी ‘सन्तोष’ ले ।

जेन–जीको गतभदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोडसहित आगजनी हुँदा त्यहाँ कार्यरत प्रहरीको हतियार समेत लुटियो । प्रहरीहरु विस्थापित भए । थुनुवाहरु भागे । भवनमा आगजनी भयो । कार्यालयका सबै सामग्री जलेर खरानी भए । सवारीसाधन जलेर कामै नलाग्ने अवस्थामा पुगे । आगजनीका कारण क्षणभरमै सँगै रहेका इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा खण्डहरमा परिणत भए ।
२४ भदौमा भएको त्यो आन्दोलनलाई राजवंशीले दिनभर नजिकबाट नियाले । विहानैबाट शुरु भएको आन्दोलनका क्रममा प्रहरी कार्यालय जल्दा आगो निभाउन सक्ने उनको कुनै सामथ्र्य रहेन । पटक– पटक आन्दोलनकारीलाई प्रहरी कार्यालयमा तोडफोड नगर्न आग्रह गरे । तर, त्यो भीडले के सुन्थ्यो उनको आग्रह । बरु उल्टै प्रहरीलाई कुटपिट गर्दै हतियार नै लुटेपछि सहाराविहीन बनेका प्रहरीको उद्धारमा उनी जुटे । आन्दोलनकारीको आक्रमणबाट घाइते भएका केही प्रहरीलाई अस्पताल पु¥याउन सहयोगी भूमिका निर्वाह गरे ।
प्रदर्शनकारीले आन्दोलन रोक्नअघि जब बिर्तामोडस्थित मुक्तिचोकमा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको हतियारसहित प्रदर्शन गरे तव राजवंश्ीको मन सिरिङ्ग भयो ।
उत्तेजित युवाले समाजमा थप क्षति नपु¥याउन भन्दै उनले हतियार प्रमुख जिल्ला अधिकारीलाई बुझाउन पाए हुन्थ्यो भन्ने सोचे । प्रजिअले उनको कुरा सुन्ने अवस्थै थिएन । तत्कालै एक जना सञ्चारकर्मीको सहयोगमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अनुमति लिँदै उनले प्रदर्शनकारीलाई सम्झाउँदै हतियार फिर्ता गर्न आग्रह गरे । उनको आग्रहलाई प्रदर्शनकारीले अस्वीकार गर्न सकेनन् ।
लुटिएका हतियार मुक्ति चोकस्थित पुरानो ट्राफिक भवनमा जम्मा गरिए । संकलित सबै हतियार प्रजिअ अधिकारीको आग्रहमा नेपाली सेनालाई हस्तान्तरण गर्न राजवंशी सफल भए । नेपाली सेनालाई हतियार हस्तान्तरण गर्दा उनले एक्लै गर्नु भएन । त्यहाँ मानवअधिकारकर्मी, नागरिक समाजका अगुवा र सञ्चारकर्मीलाई समेत उपस्थित गराए । मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा. रुपकप्रसाद खनालसहितको टोलीले संकलन गरिएका हतियार नेपाली सेनालाई हस्तान्तरण ग¥यो ।
इलाका प्रहरी कार्यालय अनारमनीदेखि केही सय मिटर दक्षिण घर भएका राजवंशी २५ भदौमा विहानै जब इलाका प्रहरी कार्यालय आए, तब उनले इलाकामा आफू स्वयम् लागेर निर्माण गरिएको मन्दिर र कार्यालयको अवस्था र आगजनीबाट बचेको सामान चोरी भएको देखे । त्यसपछि सार्बजनिक सम्पत्ति जोगाउन आफ्नो पनि दायित्य रहने भन्दै उनले स्थानीयलाई गुहार्दै चोरीको सामग्री फिर्ता गराउने अभियान नै शुरु गरे ।
तत्कालै बिर्तामोडबासीले नागरिक प्रहरी समूह गठन गरे । स्थानीय अगुवा सन्तोष घिमिरेको संयोजकत्वमा नागरिक प्रहरी समूह गठन गरे पनि जिल्ला प्रशासन कार्यालयले प्रहरी भन्ने शब्द हटाउन आग्रह गरेपछि उनीहरुले नागरिक प्रहरीलाई ‘नागरिक सेवक’ समूह बनाए । त्यही समूहले हाल पनि बिर्तामोडका टोल–टोलमा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
प्रहरीको उपस्थिति नहुँदा नेपाली सेनासँग सहकार्य गर्दै अहिले गठित समूहले नै बिर्तामोडमा शान्ति सुरक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । सो समूहले अहिले राति टोल–टोलमा रात्री गस्ती गर्दै आएको छ ।
यता प्रहरी कार्यालय सहित भाटभटेनी सुपरमार्केटबाट समेत चोरी गरेर लगिएको सामग्री फिर्ता गराउने अभियानमा लागेका राजवंशीले दुई दिनको समयमा नै बिर्तामोड क्षेत्रबाट मात्रै दुई पिकअप सामग्री फिर्ता गराए ।
सीसी टीभी फुटेज हेर्दै ‘नागरिक सेवक’ समूहको टोली लिएर प्रत्येकको घर–घरमा पुगेर चोरीको सामग्री फिर्ता गराउने अभियान सञ्चालन गरेपछि अहिले उनको झापामा चर्चा चुलिएको छ ।
भाटभटेनी सुपरमार्केटबाट लुटिएको सामग्री संकलन गर्दै भाटभटेनीलाई हस्तान्तरण गरेसंगै राजवंशीको चर्चा चुलिएको हो । गाउँगाउँबाट चोरीको सामग्री फिर्ता गराउन हिँडेसंगै व्यक्तिको घरबाट समेत हराएको सामग्री खोजीका लागि उनलाई फोन आउने गरेको राजवंशीले बताए ।
भाइरल हुने डरले चोरिएको सामग्री धमाधम फिर्ता
बिर्तामोडस्थित भाटभटेनी सुपर मार्केटबाट चोरी गरेको टेलिभिजन बाह्रदशी गाउँपालिकाका एक युवाले खरिद गर्छन् । उनले ८५ इञ्चको टीभी पाँच हजार रुपैयाँमा खरिद गर्छन् । बिर्तामोडस्थित एक पसलमा काम गर्ने एक कर्मचारीले भाटभटेनीबाट टेलिभिजन चोरेर लगेको र उनले टेम्पो (तीन पाङ्ग्रे अटो) चालकको सहयोगमा सो टीभी बाह्रदशी–६का एक युवालाई बिक्री गरेका थिए । तर, टिभी चोरी गरेर लाँदै गरेको भिडियो टिकटकमा भाइरल भएपछि राजवंशीको सहयोगमा चोरिएको टीभी फिर्ता गरिएको थियो ।
बाह्रदशी–६ विहीवारे बजार नजिक पु¥याइएको टीभी फिर्ता गरिएको भिडियो सामाजिक सञ्जालमा अपलोड भएसँगै झापामा धमाधम चोरी गरिएको सामग्री फिर्ता गर्ने अभियान नै चल्यो । त्यसको नेतृत्व पनि राजवंशीले नै गरेका थिए । सो अभियानमा बिर्तामोडका युवाहरुले पनि साथ दिएका छन् । टेलिभिजन लिन बाह्रदशी गाउँपालिकासम्म नै ती युवापनि राजवंशीको साथमा गएका थिए ।
चोरिएको सामग्री फिर्ता गर्न पालिकाको आग्रह
आन्दोलनका क्रममा चोरिएको सामग्री फिर्ता गर्ने क्रम शुरु भएपछि झापाका स्थानीय तहले समेत चोरी गरिएको सामग्री फिर्ता गर्न आग्रह गरेको छ । बाह्रदशी, बुद्धशान्ति, बिर्तामोड, कनकाई लगायतका स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै चोरी गरिएको सामग्री फिर्ता गर्न आग्रह गरेको हो ।






























