आज विश्वभर ओजोन तह बचाउ दिवस मनाइँदैछ । विश्वव्यापी समस्याका रुपमा रहेको जलवायु परिवर्तनलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९५ देखि यो दिवस मनाउन थालिएको हो । समुद्री सतहबाट पचास किलोमिटर माथिको तहमा रहेको वायुमण्डलको तह ओजोन हो । जसले सूर्यबाट निस्कने हानिकारक परावैजनी किरणलाई सोसेर प्राणीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्नबाट जोगाउँछ । यो तहले पृथ्वीको वातावरणमा पार्ने नकारात्मक असरलाई रोकेर जैविक विविधताको संरक्षणमा सहयोग गर्छ । पृथ्वीलाई ढाकेर रहेको यो ओजोन तह पातलिँदै जाँदा तापक्रम वृद्धि भई विश्वभर अनेक समस्या उत्पन्न हुन थालेपछि राष्ट्रसंघको आह्वानमा जनचेतना जगाउन प्रत्येक वर्षको सेप्टेम्वर १६ का दिन यो दिवस मनाउने गरिएको हो ।

प्राकृतिक रुपमा रहेको ओजोन ग्यासको तह विकसित मुलुकहरुमा हुने रेफ्रिजेरेटर, एयरकन्डिसनबाट निस्कने क्लोरोफोर कार्बन, वातावरणीय प्रदुषण, वन विनास, अवैज्ञानिक खेती प्रणाली, उद्योगधन्दाको विकास र तिनले उत्सर्जन गर्ने हानिकारक पदार्थ लगायतका कारणले क्षय भइरहेको छ । यस बाहेक जनसंख्या वृद्धि, वन विनाश, बढ्दो शहरीकरण र औद्योगिकीकरणले ओजोन तह क्रमशः पातलिँदै गएको वातावरणविद्को भनाइ छ । यदि ओजोन तह क्षय गर्ने गतिविधिलाई रोक्न सकिएन भने सूर्यबाट आउने हानिकारक किरणहरु सोझै पृथ्वीमा प्रवेश गर्नेछ जसले मानव मात्र होइन, सम्पूर्ण स्थलचर र जलचर प्राणीको स्वास्थ्यमा नकारात्मक असर बढ्ने छ । धनी तथा औद्योगिक मुलुकहरुले अत्यधिक उत्सर्जन गर्न कार्बनडाइअक्साइडलाई कम विकसित मुलुकहरुले थेग्न सक्दैनन् र धेरै कठिनाईको सामना गर्नुपर्नेछ ।
हरितगृह ग्यासका प्रमुख स्रोतहरुमा वनजंगलको विनाश, कोइला एवम् खनिजजन्य इन्धनको अधिक प्रयोग र औद्योगिकीकरणले प्रभाव पार्दछ । त्यसैले वनजंगलको संरक्षण, वृक्षरोपण, नवीकरणीय तथा वैकल्पिक ऊर्जाको प्रयोग बढाएर ओजोन तहको संरक्षणमा लाग्न जरुरी छ । विषालु तथा हानीकारक ग्यासको उत्पादन सन् २०३० सम्ममा शून्यमा झार्ने लक्ष्य लिइएको छ । तर, ओजोन तहमा प्रतिकूलता ल्याउने गतिविधि न्यून हुनुको साटो बढेर गएको छ । विश्व अहिले पनि मानव निर्मित तथा मानवद्वारा गरिएको युद्धमा फसेको छ । अणु–परमाणु हतियारको उत्पादन र प्रयोग भइरहेको छ । त्यसैले पृथ्वीको बढ्दो तापक्रम न्यूनीकरण गर्दै ओजोन तहको रक्षाका लागि आजको दिनले मावन मात्रमा सचेतना जगाउनुपर्छ । अनि मात्र यो दिवसको सार्थकता पुष्टि हुन्छ ।




























