शिवसताक्षीमा एमालेले निकाल्यो शान्ति र्याली

0
42

झापा, एघारौँ संविधान तथा राष्ट्रिय दिवसको अवसरमा नेकपा एमाले शिवसताक्षी नगर कमिटीले शान्ति र्याली निकालेको छ। नगरको ११ नम्बर वडा स्थित दुधे को सब्जी बजार बाट सुरु भएको र्याली संविधान रक्षाका लागि गरिएको एमाले नगर कमिटीले जनाएको छ। 
विभिन्न प्लेकार्डसहित निस्किएको र्याली दुधे बजारको मुख्य चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। सभामा कोशी प्रदेशका सांसद तथा नेकपा एमाले झापा जिल्ला सल्लाहकार समितिका संयोजक राधाकृष्ण खनालले संविधानको ऐतिहासिक महत्वबारे धारणा राख्दै यो संविधान जनताको बलिदानीपूर्ण संघर्षको जगमा निर्माण भएको बताए।

उनले भने, ’नेपाली जनताको दीर्घ संघर्ष, बलिदान र लोकतान्त्रिक आन्दोलनको फलस्वरूप प्राप्त संविधान विश्वकै इतिहासमा अब्बल छ। यो संविधानलाई जनप्रतिनिधिहरुले नै लेखेका हुन्, त्यसैले यसको ऐतिहासिकता र गरिमा असाधारण छ।’
सांसद खनालका अनुसार, संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय र नागरिक अधिकारलाई संस्थागत गरेको छ। उनले भने, ’नागरिकको समान अधिकार, महिला, दलित, जनजाति, आदिवासी, मुस्लिम, मधेसीलगायत सबै समुदायलाई सहभागिता सुनिश्चित गर्नु संविधानको विशेषता हो।’

संविधानलाई जनताद्वारा निर्वाचित संविधानसभाले निर्माण गरेको हुँदा यसको वैधानिकता र जनाधार अन्य मुलुकका संविधानभन्दा प्रष्ट भएको खनालको भनाइ थियो।

खनालले हालैको जेन्जी आन्दोलनमा सहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनको मागलाई संविधानले नै सुनिश्चित गरेको अधिकारभित्र रहेको बताए। ’जेन्जी पुस्ताका माग नाजायज थिएनन्। तर घुसपैठका कारण आन्दोलन हिंसात्मक बनेर निर्दोष विद्यार्थीले ज्यान गुमाउनु प¥यो,’ उनले भने।
उनले संविधानमै नभएको संसद विघटन र अन्तरिम सरकार गठनजस्ता कदम असंवैधानिक भएको टिप्पणी गर्दै भने, ’जनताद्वारा लेखिएको संविधानलाई टेकेर सरकार गठन गरिएको भए जनताको चित्त बुझ्थ्यो। तर गैर–संसदीय नियुक्तिहरुले संविधानलाई लङ्गडो बनाइदिएको छ।’

र्यालीमा सहभागिहरुले हालैको आन्दोलनका क्रममा कांग्रेस र एमाले नेताकार्यकर्ताको निजी सम्पत्ति छानीछानी तोडफोड र आगजनी गरिएको घटनाप्रति आपत्ति जनाए। सांसद खनालले भने, ’हामी त्यस्ता घटनाको खुलेर विरोध गर्दछौँ। सरकारसँग माग गर्दछौँ ’सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पु¥याउने व्यक्तिहरुलाई छानबिन गरी कानुनी कारबाही गरियोस्।’

२०७२ साल असोज ३ गते जारी नेपालको संविधान–२०७२ जनताद्वारा निर्वाचित संविधानसभाले निर्माण गरेको हो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनालाई संस्थागत गर्दै संविधानले नेपाललाई आधुनिक लोकतान्त्रिक मुलुकको रूप दिन सफल भएको छ। यसले सर्वसाधारण नागरिकलाई मौलिक अधिकारसहित राज्यका प्रत्येक तहमा सहभागिताको सुनिश्चितता गरेको छ।
संविधान दिवसका अवसरमा आयोजित र्यालीले संविधानको रक्षा, सम्मान र कार्यान्वयनमा सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने सन्देश दिएको सहभागीहरूको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here