छवि वैरागीको ‘विविशारा’ उपन्यास गृह विमोचन

0
68

सुन्दरहरैंचा (मोरङ),

मोरङको सुन्दरहरैंचामा छवि वैरागी घिमिरेद्वारा लिखित उपन्यास ‘विविशारा’ को गृह विमोचन सम्पन्न भएको छ। सोमबार विराटचोकस्थित पानस पार्टी प्यालेसमा सुन्दरहरैंचा कला साहित्य विकास समिति र कोशी साहित्य कला परिषद नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उपन्यास सार्वजनिक गरिएको हो।

पुस्तक खरिद गरेर प्रमुख अतिथि प्रा.डा. भीमप्रसाद खतिवडाले उपन्यासको विमोचन गरे। कार्यक्रममा डा. अस्मिता विष्ट र रामप्रसाद खरेल वक्ताका रूपमा उपस्थित रहनुभयो।

उहाँहरूले पुस्तकका कथावस्तुको सरलता र मार्मिकतालाई विशेष रूपमा प्रशंसा गर्दै समाजका यथार्थ पात्रहरूको प्रस्तुति, विशेषगरी बाल–मनोविज्ञान सम्बन्धी पक्षहरूलाई उजागर गरिएकोले ‘विविशारा’ सबै पाठकका लागि उपयोगी हुने धारणा राखे।

लेखक छवि वैरागीले ‘विविशारा’ लाई समाजको गहिरो यथार्थ प्रस्तुत गर्ने प्रयासका रूपमा वर्णनगर्दै पुस्तकले पाठकमा आत्मचिन्तन र समाजप्रतिको उत्तरदायित्वको भावना जगाउने उद्देश्य राखेको बताए।

सो अवसरमा भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याख्खा, समाजसेवी सुजु थापा र हर्कमान तामाङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कोशी साहित्य कला परिषदका अध्यक्ष केशु विरहीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा सुन्दरहरैंचा कला साहित्य विकास समितिका उपाध्यक्ष दीपक न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण नवराज पोखरेल ‘नवशिला’ ले गरेका थिए । कार्यक्रममा साहित्यिक, शैक्षिक, सामाजिक क्षेत्रमा सक्रिय विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here