प्रहरी कार्यालय पुनःस्थापना गर्न एकका लागि एक अभियानको १० लाख

0
218

बिर्तामोड ।

जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेका झापाका प्रहरी कार्यालय पुनःस्थापनाका लािग एकका लागि एक अभियानले १० लाख रुपैयाँ सहयोग गरेको छ ।

प्रहरी कार्यालयहरु पुनर्निर्माण तथा अत्यावश्यक सामग्री खरिद गरी प्रदान गरिएको हो । अभियानका संयोजक महेन्द्रकुमार गिरीका अनुसार बढी क्षतिग्रस्त कार्यालयहरु इलाका प्रहरी अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडलाई ६ लाख रुपैयाँ, इलाका प्रहरी कार्यालय सुरुङ्गालाई दुई लाख र दमकलाई दुई लाखको सामग्री प्रदान गर्ने निर्णय अनुसार सहयोग हस्तान्तरण भइरहेको छ ।

जस अन्तर्गत शुक्रवार बिर्तामोडका लागि व्ल्याङ्केट लगायतका रु. ६ लाखको सामग्री हस्तान्तरण गरियो । त्योसँगै ६० थान झुल पनि हस्तान्तरण गरिएको थियो । अभियानले उक्त कार्यालयहरुमा तत्कालको आवश्यकता बुझी सामग्री खरिद तथा हस्तान्तरणका लागि अभियन्ता नवीन गट्टानीको संयोजकत्वमा समिति गठन गरी जिम्मेवारी दिएको छ । समिति सदस्यहरुमा लीलाप्रसाद चिमरिया, सुवास भट्टराई, बलराम कार्की र मिजास पोखरेल छन् ।

गट्टानीसहित अभियानकर्मीको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण भएको हो । शनिवार सुरुङ्गामा प्रहरीलाई त्यहाँ आवश्यक सामग्री हस्तान्तरण गर्ने अभियानको कार्यक्रम छ । दमकमा पनि तत्काल आवश्यक सामग्री खरिद गरी हस्तान्तरण गरिने बताइएको छ ।

कोरोना भाइरसको महामारीमा समुदायस्तरबाट नागरिकको जीवन रक्षा गर्न स्थापित अभियानले हाल रु. १ करोडको आपतकालीन राहत कोष स्थापना गरेको छ । उक्त कोषमा प्राप्त व्याज प्रहरी कार्यालय पुनःस्थापनाका लागि हस्तान्तरण गर्ने निर्णय भएको संयोजक गिरीले बताए । जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थिति र चाडपर्वको समयमा प्रहरीको मनोबल उच्च बनाउँदै समाजमा शान्ति सुरक्षा कायम गर्ने कार्यमा समुदायबाट हुने यस्ता सहयोगको ठूलो महत्व रहने गिरीले बताए ।

कोभिड–१९का समयमा एकका लागि एक अभियानबाट करिव ४ करोड रुपैयाँ संकलन भएकोमा बचत रहेको एक करोडको आपतकालीन राहत कोष बनाइएको छ । अभियानले बिपन्न समुदायलाई खाद्यान्न राहत, पीसीआर ल्याब स्थापना, रेडक्रस बिर्तामोडमा प्लाज्मा बैंक स्थापना, अक्सिजन बैंक स्थापना गरी कोभिड–१९को महामारीमा नागरिकको जीवन रक्षा गर्न ठूलो योगदान गरेको थियो ।

सहारा नेपाल साकोस तथा सहारा नेपाल, अन्तर्राष्ट्रिय झापाली समाज, जिल्ला सहकारी संघ लगायतका संस्थाको साझेदारीमा सञ्चालन भएको अभियानमा एक सयभन्दा बढी सामाजिक तथा व्यवसायिक संस्थाले योगदान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here