झापा, अडिटर एशोसिएसन नेपाल (अडान) झापाले प्रहरी भवन पुनः निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।
अडानका अध्यक्ष पर्शुराम वुढाथोकीले इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रहरी भवन पुनः निर्माणका लागि २५ हजार रुपैयाँ सहयोग गरेको बताए । उनले आइतवार प्रहरी कार्यालय परिसरमा पुगेर निर्माणका अगुवा विपिन वजगाँई, पदम श्रेष्ठ र रमेश चौधरी लगायतलाई उक्त रकम बरावरको चेक हस्तान्तरण गरेका हुन् ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते प्रर्दशनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको थियो । प्रहरी कार्यालय क्षतिग्रस्त बनेसंगै सुरक्षा चुनौति बढेको भन्दै स्थानीय व्यवसायी तथा युवाहरुले प्रहरी भवन पुनः निर्माण तथा मर्मत सम्भार गरिरहेका छन् ।
प्रहरी भवन पुनः निर्माणका लागि करिव ९० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सबै रकम दाताहरुले स्वतस्फूर्त रुपमा सहयोग गरिरहेका छन् ।





























