चाडपर्वमा महिलालाई घरायसी कामको बोझ

0
61

टीकापुर, दशैंको समयमा घरबाहिर रहेका वा रोजगारीमा रहेकाहरु घर फर्किएका छन् । यो समयमा परिवारका सबै सदस्य जम्मा हुने, खानपान तथा रमाइलो गर्ने चलन छ । यस्तो बेलामा घरायसी काम बढ्ने गर्दछ । घरायसी काम बढ्दा महिलालाई कामको बोझ बढ्ने गरेको महिलाहरु बताउँछन् ।

चाडपर्व भनेपछि प्रायजसो सबैलाई रमाइलो गर्न मन पर्छ । नेपाली समाजमा महिलाहरु घरायसी कामले पिल्सिने, पुरुषहरु रमाइलो गर्ने, फुर्सदिला भएकाजस्तो देखिन्छ । भजनी नगरपालिकाकी साधना साउँदका घरमा अहिले दसैँको रौनक छ । विदेशमा भएका श्रीमान् घर आएपछि घर आफन्त तथा पाहुनाले भरिएको छ । सबैलाई घरमा रमाइलो छ तर साधनाको भोक निद्रा हराएको छ । ‘‘दुईवर्षपछि श्रीमानसँग भेट भएकोमा खुसी छु, यसपालि श्रीमानसँग घुम्ने योजना थियो, तर घरको कामबाट फुर्सद छैन’’, उहाँले भन्नुभयो, ‘‘विहान ४ बजेदेखि राति ११ बजेसम्म कामै सकिदैन, सबै रमाउनेहरु मात्रै छन्, काम जति मेरै जिम्मामा छ ।’’

टीकापुरकी द्रोपती तिमिल्सिनाले चाडपर्वमा समाजमा महिलालाई भ्याइनभ्याइ भएको देख्नुभएको छ । ‘‘दसैँ, तिहार विदामा समाजमा पुरुषहरु फुर्सदिला देखिने, महिला भने घर सरसफाई, भान्साको काम, पाहुनाको स्वागतमा व्यस्त रहेको देखिन्छ’’, उहाँले भन्नुभयो, ‘‘महिलाले पनि यो समयमा नयाँ ठाउँ घुम्ने, अध्ययन गर्ने, नयाँ काम गर्ने, आफ्ना लागि समय छुट्याउन पाएको देखिदैन ।’’द्रोपतीका श्रीमान भने निकै सहयोगी छन् । उनीहरु मिलेर घरायसी काम गर्छन् । चाडपर्वमा गरिने खर्च, किनमेल र नयाँ योजना बनाउँदा पनि सल्लाह गरेर गर्छन् ।

अर्की महिला जानकी कुँवर महिलालाई त्यसै पनि घरायसी कामको बोझ हुने गरेका बेला चाडपर्व तथा उत्सवले थप जिम्मेवारी थप्ने बताउनुहुन्छ । ‘‘कामकाजी महिलालाई अझ दोहोरो जिम्मेवारी हुने हुँदा महिलालाई घरायसी काम व्यवस्थापन गर्न कठिन हुन्छ’’, उहाँले भन्नुभयो, ‘‘यस्तो बेला परिवारका सदस्य सहयोगी हुनुपर्छ । चाडपर्वमा खुशी हुने अवसर सबैलाई दिनुपर्छ । परिवार भनेको सामूहिक खुशी हो भन्ने सबैमा भावना हुनुपर्छ ।’’पुरुषहरु घुमघाम गर्ने, रमाइलो गर्ने, जाडरक्सी खाने, जुवातास खेल्ने गलत अभ्यास हाम्रो समाजमा अहिलेपनि देखिन्छ । जसले समाजमा अशान्ति र हिंसा बढाउँछ, भन्नेमा सबै सचेत हुनुपर्ने अधिकारकर्मी चन्द्रावती शर्माको भनाइ छ । ‘‘महिलाहरु रातदिन घरको काममा ब्यस्त हुने, पुरुषहरु जुवातासमा रमाउने गर्दा पारिवारीक कलह हुनसक्छ’’, उहाँले भन्नुभयो, ‘‘परिवारका सबै सदस्यहरु मिलेर घरायसी काम गर्ने, मिलेर रमाइलो गर्दै चाडपर्व मनाउने गरेमा चाडपर्व सबैका लागि रमाइलो हुन्छ । तर समाजमा यस्तो अभ्यास निकै कम छ ।’’

अर्की महिला अधिकारकर्मी कौशल्या खनाल पितृसत्तात्मक समाजका कारण विगतमा छोराछोरीलाई बराबरी काम नसिकाएकै कारण अहिले महिलाहरुले हिंसा भोगिरहेका बताउनुहुन्छ । ‘‘घरायसी काममा असमानता महसुस गरिरहेकाले अबका आमाहरु सचेत हुनुपर्छ’’, उहाँले भन्नुभयो, ‘‘छोराछोरीले बराबरी काम गर्नुपर्छ भन्ने सन्देश दिनुपर्छ । सानैबाट छोरालाई घरायसी काम सिकाउनुपर्छ ।’’चाडपर्वका बेला महिलाले खानपान, काम मात्र नभनी आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने, धेरै तनाव नलिने, योग तथा ध्यान जस्ता कार्यमा सहभागी भएर आफूलाई सम्हाल्नुपर्ने स्वास्थ्यकर्मी हेमा ज्ञवालीको सुझाव छ । ‘‘चाडपर्व सबैका लागि आएको हुन्छ । चाडपर्वमा रमाउने, राम्रो लगाउने, मीठो खाने चाहना सबैको हुने भएकाले सबै मिलेर काम बाडफाड गर्ने, अनावश्यक खर्च नगर्ने, घर सल्लाहमा खर्च गर्ने गरेमा महिला पुरुष दुबै खुशी हुन्छन्’’, उहाँले भन्नुभयो, महिला पुरुष खुसी भएमा परिवार, समाजमा शान्ति छाउँछ ।’’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here