झापामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु १३ जना घाइते

0
67

झापा । पूर्ब पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड सडक खण्डमा आज भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्काका अनुसार दुर्घटनामा परी मोरङ रंगेली – २ निवासी ४२ वर्षीय राजकुमार चौधरी र सुनसरी इटहरी – ११ निवासी ४६ वर्षीय दिनेशकुमार भट्टराईको मृत्यु भएको हो ।
आज बिहान ९ः३० बजे बिर्तामोड – ६ गिरीबन्धु टि–इस्टेट अगाडि पूर्बपश्चिम राजमार्गमा बिराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४४५९ नं को सगरमाथा यातायात यात्रुबाहक बस आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बसका सहचालक चौधरी र बसका यात्रु भट्टराईको मृत्यु भएको हो । चौधरीको घटनास्थलमै र भट्टराईलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
दुर्घटनामा परी सुनसरीको इटहरी ११ निवासी ३८ वर्षीय गुलसनराज शर्मा, उनकी श्रीमती ३६ वर्षीया अंकिता शर्मा , ६ वर्षीया छोरी मनसुई शर्मा घाइते भएका छन् ।
त्यस्तै सुनसरी निवासी ३७ वर्षीया बिनु शर्मा , मोरङ बिराटनगर महानगरपालिका २ निवासी ४२ वर्षीय सोमकुमार भुजेल , पाँचथर कुम्मायक ६ निवासी २८ वर्षीया गंगा लिम्बू, ,झापा कमल ७ निवासी ८ वर्षीय बालक लाजिहाङ लावती , सोही ठाउँ निवासी २३ वर्षीया सुहाना लिम्बू , उनकै भतिजो ५ वर्षीय मेङ्सो लिम्बू, मोरङ बिराटनगर १ निवासी १७ वर्षीया अनुषा भट्टराई , सोही ठाउँ निवासी ३६ वर्षीया मन्जु खतिवडा , दमक १ निवासी ६० वर्षीया राधिका खतिवडा र ताप्लेजुङ फक्तालुङ गापा–१ बस्ने राकेश लिम्बू घाइते भएको हुन् ।
घाइते तथा मृतकलाई बीएण्डसी अस्पताल पठाइएको र बस चालक तत्काल फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here