विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख

0
60

भोजपुर,

विदेशमा वर्षौँ पसिना बगाएर फर्किएका जिल्लाका धेरै युवा अहिले आफ्नै गाउँमा कृषिमा जोडिन थालेका छन् । रोजगारीको विकल्पका रूपमा कृषिलाई आत्मसात् गर्न थालेपछि गाउँघरमै नयाँ आशा पलाएको छ ।

रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका मनिराज राई पनि त्यस्तै उदाहरण हुनुहुन्छ । करिब १० वर्ष विदेशमा बिताउनुभएका राई गाउँ फर्केपछि व्यावसायिक तरकारीखेतीमा लाग्नुभएको छ । राईले अहिले गोलभेँडा, बन्दा, फुलकोभी, आलु, मुला, साग, गाँजरलगायत तरकारी उत्पादन गर्दै आउनुभएको छ । वडा कार्यालयको पहलमा तालिम र कृषि औजार पाएपछि खेतीमा लाग्न अझ सहज भएको उहाँको भनाइ छ ।

“विदेशबाट फर्केर आफ्नै गाउँमा व्यावसायिक तरकारीखेतीमा लागेको हुँ”, उहाँले भन्नुभयो, “त्यहाँभन्दा आफ्नै ठाउँमा मेहेनत गरे राम्रो आम्दानी लिन सकिने रहेछ । अहिले परिवारसँग बसेर तरकारीखेतीमै रमाएको छु ।”

तरकारी व्यवसायबाट राम्रै आम्दानी गर्न सकिने देखेपछि २०७८ सालदेखि व्यावसायिक रूपमा तरकारीखेती गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार तरकारीखेतीबाट सबै खर्च कटाएर मासिक रु २० देखि २५ हजारसम्म आम्दानी हुने गरेको छ । गाउँमै उत्पादन भएको तरकारी स्थानीय बजारमै सजिलै खपत हुने भएकाले उहाँलाई बिक्रीमा समस्या छैन । “आफ्नै गाउँमा व्यावसायिक बन्न सकियो भने पैसा कमाउन बाहिर जानु पर्दैन”, उहाँले भन्नुभयो, “यहाँको माटो र पसिनाले दिने आम्दानीमै सन्तुष्ट छु ।”

व्यावसायिक कृषिमा लागेका किसानलाई पहिचान गरेर उनीहरूको योजनाअनुसार अनुदान, तालिम र उपकरण उपलब्ध गराउँदै आएको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष बाचकुमार राईका अनुसार सीमित बजेट भए पनि सङ्घसंस्था र विभिन्न निकायसँग सहकार्य गरेर कृषिलाई नमूनायोग्य बनाउन जोड दिइएको छ । “आर्थिक रूपमा किसानलाई सक्षम बनाउन कृषिलाई प्राथमिकतामा राखेका छौँ”, वडाध्यक्ष राईले भन्नुभयो, “तरकारीखेती, व्यावसायिक बाख्रापालनसँगै विभिन्न सीपमूलक तालिमसमेत दिँदै आएका छौँ ।”

भावी दिनमा माटोको परीक्षण गरेर माटो सुहाउँदो बाली लगाउन किसानलाई प्रोत्साहन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । वडामा विनियोजित बजेटले सबै क्षेत्रलाई समेट्न नसकेकाले अन्य निकायसँग सहकार्य गरेर कृषिमा लगानी बढाउने काम भइरहेको वडाध्यक्षको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here