बुद्धशान्ति (झापा)।

झापाको बुद्धशान्ति गाउँपालिका–४ मा १८ दिनकी एक बालिकाको रहस्यमय मृत्यु भएको छ। मृत्युको कारण स्पष्ट नभएपछि प्रहरीको उपस्थितिमा शव पोष्टमार्टमका लागि भद्रपुर अस्पताल पठाइएको छ।
स्थानीय एक शेर्पा परिवारकी नवजात छोरी आज बिहान मृत अवस्थामा फेला परेकी थिइन्। ती परिवारमा यसअघि नै चार छोरी छन्। स्थानीयका अनुसार बालिका जन्मेपछि परिवारभित्र झगडा हुने गरेको र मदिरा सेवन गर्ने बानीका कारण वातावरण तनावपूर्ण रहने गरेको थियो।
बालिका स्वस्थ अवस्थामा रहेको र अकस्मात मृत्यु भएको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बुद्धशान्ति प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीले घटनाको प्रकृति र मृत्युकै कारण पत्ता लगाउन पोस्टमार्टम रिपोर्टको पर्खाइमा रहेको बताएको छ। स्थानीयवासीहरू भने बालिकाको मृत्यु सामान्य नभई हत्या हुन सक्ने आशंका गर्दै गम्भीर छानबिनको माग गरेका छन्।





























