अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिकाले कृषकहरुको गोठमै पुगेर खोरेत रोग बिरुद्धको भ्याक्सिनेसन कार्यक्रम आइतबारदेखि शुरु गरेको छ ।
अर्जुनधारा नगरपालिकालाई खोरेत रोगमुक्त पालिकासँगै स्वस्थ दूध र मासु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख पदमलाल राईल जानकारी दिए ।
अर्जुनधारा–३स्थित सनमन एकीकृत कृषि तथा पशुपालन फार्मका सञ्चालक सन्तोष राईको गोठमा रहेको गाईलाई भ्याक्सिनेसन गरि शुरु गरिएको उक्त कार्यक्रमको उद्घाटन पालिकाका प्रमुख एवम् कार्यक्रमका अध्यक्ष बलदेवसिंह गोम्देन तामाङले गरेका थिए ।
आगामी मंसीर ३० गते सम्म सञ्चालन हुने कार्यक्रम अन्र्तगत पालिका अन्र्तगत रहेका ११ वटा वडाका २० हजार वटा पशुचौपायालाई भ्याक्सिनेसन गर्ने शाखाको लक्ष्य रहेको प्राविधिक रविकुमार तिवारीले जानकारी दिए । उनका अनुसार कार्यक्रम अन्र्तगत गाई, भैंसी, राँगा, बाछाबाछी, पाँडापाँडीमा भ्याक्सिनेसन एवम् कृषकहरुलाई निःशुल्क खोप कार्ड वितरण गरिने छ ।

त्यसैगरी शाखाले यस वर्षदेखि एभीआईएस एप्समार्फत् तथ्याङ्क संकलनमा पनि प्रविधिको प्रयोग शुरु गरेको छ । उद्घाटन कार्यक्रममा उपप्रमुख खड्गमाया पराजुली, अर्जुनधारा–३का वडाध्यक्ष सीताराम भट्टराई, नगर कार्यपालिका सदस्य एवम् आर्थिक समितिकी संयोजक गौरीमाया चिमरीया, जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मोहन श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको सञ्चालन शाखा प्रमुख राईले गरेका थिए ।































