बिर्तामोडमा जेनजी युनाइटेड मुभमेन्ट नेपालको विरोध र्‍याली,

0
49
  • “सहिदको सपना साकार पार्न जेनजी एकताको अभियान देशभर फैलाउने”

झापा । जेनजी आन्दोलनका मागहरू सम्बोधन नगरेको भन्दै जेनजी युनाइटेड मुभमेन्ट नेपालले झापाको बिर्तामोडमा विरोध र्‍याली सम्पन्न गरेको छ ।

बिर्तामोड–५ सिटी सेन्टर अगाडि सुरु भएको उक्त र्‍यालीमा संगठनका अगुवा कार्यकर्ता सुरेश भारती, सोनिया बिक, निशा भारती, सागर तामाङ, पंकज गिरी, रिचन राई, अन्जना राई लगायत जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारका सदस्यहरू सहभागी भएका थिए।

कार्यक्रममा सहभागीहरुले विभिन्न प्लेकार्ड र राष्ट्रिय झण्डा बोकेर बिर्तामोड बजार परिक्रमा गरेका थिए। र्‍यालीले मुक्तिचोक परिक्रमा गरी पुनः सिटी सेन्टर अगाडि फर्की सडक नाटकसहित कोणसभामा परिणत भएको थियो।
कोण सभा जेनजी नेतृ अन्जना राईको संयोजकत्वमा सम्पन्न भएको हो। कार्यक्रममा केन्द्रीय वक्ताका रुपमा सदिक्षा राईले आफ्नो धारणा राखेकी थिइन् । उनले “यो आन्दोलन मोबाइलमार्फत सुरु भएको सामाजिक अभियान हो, जसले दुई दिनमै सरकार ढाल्न सफल भयो। तर अहिले मागहरू विभाजित हुँदै गएकाले साँचो परिवर्तनका लागि एकताको भावना पुनः जगाउन जरुरी छ,” उनले भनिन्।

राईका अनुसार, सहिदहरूको सपना साकार पार्न सबै नेपाली एकजुट हुनुपर्छ। “संविधानले राष्ट्रिय एकताको आह्वान गरेको छ। पृथ्वीनारायण शाहको ‘चार जात छत्तीस वर्णको साझा फूलबारी’को अवधारणालाई हामीले आत्मसात गर्नुपर्छ,” उनले जोड दिइन्।
त्यस्तै अर्का वक्ता अन्जना राईले जेनजी युनाइटेड मुभमेन्ट कुनै राजनीतिक वा संस्थागत अभियान नभई स्वतःस्फूर्त र स्वतन्त्र नागरिक आन्दोलन भएको बताइन्।
उनले भनिन्, “हामी कुनै भाषण वा चुनावका लागि होइन, सहिदको सपना साकार पार्न र जनताको कुण्ठित आवाज बुलन्द गर्न सडकमा आएका हौं।”

राईका अनुसार, देशभरका जेन्जि समूहहरूलाई एकताको सूत्रमा बाँध्न “जेनजी युनाइटेड मुभमेन्ट नेपाल” स्थापना गरिएको हो।
त्यस्तै राकेश राईले जेनजी आन्दोलन केवल सामाजिक सञ्जालमा सीमित नभई देशमा बढ्दो भ्रष्टाचार, बेरोजगारी, कुसंस्कार र बेथितिको विरोधस्वरूप सुरु भएको आन्दोलन भएको बताए। उनले भने, “हिजो सहिदको बलिदानले ल्याएको परिवर्तन आज विभाजनमा परिणत भएको छ, त्यसैले फेरि एकताको सूत्रमा बाँध्न यो अभियान आवश्यक भएको हो।”

राईले आगामी निर्वाचनमा पुराना अनुहार र सोचभन्दा फरक नयाँ पुस्ता र नयाँ दृष्टिकोणलाई अगाडि ल्याउनुपर्नेमा जोड दिए।

“मेचीदेखि महाकालीसम्म” एकता अभियान

आयोजकहरूले जेनजी युनाइटेड मुभमेन्ट नेपालको एकता अभियानलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विस्तार गर्ने योजना रहेको बताएका छन्।
सभाको अन्त्यमा वक्ताहरूले सहिदका सपना साकार पार्ने, विभाजनको राजनीति अन्त्य गर्ने र राष्ट्रिय एकताको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here