प्रकृतिले समृद्ध जिल्ला इलाम उत्पादनका दृष्टिले समेत अग्रस्थानमा छ । पूर्वी नेपालको पहाडी जिल्ला इलाम अम्लिसो, अलैंची, अदुवा, आलु र ओलन अर्थात् दूधको उत्पादनमा देशमै कहलिएको थियो । पछिल्लो समय पर्यटनसँगै गोल्डेन भ्यालीको नामले विदेशमा समेत परिचित हुन थालेको छ । जिल्लाको दक्षिणी–पूर्वी क्षेत्रमा अवस्थित रोङ गाउँपालिकाको सलकपुरले सुन्तला उत्पादनकै कारण ग्राीनभ्यालीको उपमा पाएको हो । सुन्तला खेतीमा स्थानीयदेखि संघीय सरकारसम्मले विशेष कार्यक्रमको घोषणा गरेपछि किसानहरु पनि सुन्तलाको व्यवसायिक खेतीमा लागेकोले यसको उत्पादन र किसानको आम्दानी पनि बढ्दै गएको छ ।

नेपाल कृषि प्रधान देश हो । तर, पछिल्लो समय खाद्यान्नदेखि फलफूल, तरकारी लगायतका कृषिजन्य उत्पादनमा समेत परनिर्भरता बढेर गएको छ । कृषिमा लाग्नुपर्ने उमेरका युवा जनशक्ति रोजगारका लागि विदेश जानेक्रम बढेको छ । जसका कारण उत्पादनशील जमिन बाँझिने क्रम बढेर गएको छ । अन्नको भण्डार भनिने तराईका जिल्लाहरुमा समेत जनशक्तिको पलायनको क्रम बढ्दा परनिर्भरता पनि बर्सेनि उकालो लाग्दैछ । यस्तोमा इलामको सलकपुर पहेंलो सुन्तला उत्पादन हुने कारण सुनौला अर्थात् गोल्डेन भ्यालीको नामले प्रशिद्ध हुन थालेको छ । सलकपुरका किसानले सुन्तला बिक्रीबाट मनग्य आम्दानी लिन थालेपछि किसान त्यसको व्यावसायिक खेती गर्न आकर्षित भएका हुन् ।
सलकपुर भारतसँग सीमाना जोडिएको क्षेत्र भएका कारण भारतीय व्यापारीहरु सुन्तला खरिद गर्न किसानको बारीमै पुग्ने गरेका छन् । यसले किसानलाई बजारीकरणको समस्या छैन । त्यसमाथि वडा कार्यालय र गाउँपालिका कार्यालयले समेत सुन्तला खेतीलाई प्रोत्साहन तथा प्राविधिक सहयोग निःशुल्क प्रदान गरेपछि किसान नगदेबाली सरह सुन्तला खेतीमा लागेका हुन् । यसले किसान त प्रत्यक्ष लाभान्वित हुन्छन् नै राज्यले समेत यसको पैठारीबाट लाभान्वित हुन्छ । सलकपुरको सुन्तला स्वादिलो हुने भएकाले बोटबाटै टिपेर खान आन्तरिक तथा बाह्य पर्यटक समेत आउने गरेका छन् । यसले होमस्टे व्यवसाय पनि फस्टाएको छ । राज्यले पनि भूगोल, माटो र हावापानी अनुसारका स्थान चयन गरी कृषिमा व्यावसायिकता खोज्ने हो भने समृद्ध राष्ट्र बनाउन समय लाग्दैन ।




























