सत्ताको खेल कतिसम्म हुँदो रहेछ मधेश प्रदेशको राजनीतिले देखाएको छ । एमालेका संसदीय दलका नेताले प्रदेश बाहिर एउटा होटलमा मुख्यमन्त्री पदको शपथ लिएको घटना आफैंमा हाँस्यास्पद मात्र होइन लोकतन्त्रवादी र संघीयता पक्षधर भन्नेहरुको निर्लजताको उदाहरण बनिएको छ । प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदीले अघिल्लो दिनको मिति राखेर बर्दिबासको एउटा होटलमा शपथ गराएर सत्तालाई रमिताको विषय बनाएकी छन् । नव–पुस्ताको आन्दोलनपछि मुख्यमन्त्री बनेका जीतेन्द्रप्रसाद सोनलले विश्वासको मत नपाउने अवस्थामा एक महिना नपुग्दै राजीनामा दिएका थिए । त्यसपछि एमाले नेतृत्वको सरकार नियुक्त सुवेदीले एमालेका यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

एमालेकै नेता मुख्यमन्त्री नियुक्त हुँदा सबैभन्दा धेरै रमाउनुपर्ने प्रदेशका एमाले सांसद प्रदेश प्रमुखको यस्तो कामबाट प्रशन्न छैनन् । मधेश प्रदेशमा भएको यस्तो खेलप्रति नेपाली कांग्रेस र नेकपा एमाले सन्तुष्ट नभएको टिप्पणी हुन थालेको छ । मधेश प्रदेशका एमाले प्रमुख सचेतक हरिनारायण महतोले यादव नियुक्तिको विषयलाई ‘नहुनुपर्ने घटना’ भएको प्रतिक्रिया दिएका छन् । यसले प्रदेशमै यादव र प्रदेश प्रमुख सुवेदीको काम अप्रजातान्त्रिक र स्वेच्छाचारी भएको पुष्टि गर्दछ । मुख्यमन्त्री यादव नेतृत्वको प्रदेश सरकार गठनको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै कांगेस महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो धारणा प्रकट गर्दै यसलाई निन्दनीय घटना भनेका छन् । मधेश प्रदेशको सत्ता प्राप्तिको यस्तो चलखेल र जालझेलले मधेशको राजनीति अस्थिर र अनिश्चित बन्ने सम्भावना बढेको छ ।
बिरामी भएर उपचारका लागि काठमाडौं हिँडेकी प्रदेश प्रमुख सुवेदीले होटलमा बोलाएर शपथ गराउनु संविधान, लोकतन्त्र र संघीयताप्रतिको अपमान मात्र होइन, त्यसको अस्मिता माथिकै प्रहार हो । संसदमा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्नेमा एमाले नेतृत्वको दवाबमा हुनसक्छ विधि उल्लंघन भएको छ । प्रदेश प्रमुखको यस्तो कार्यबिरुद्ध कांग्रेससहित सात राजनीतिक दलहरुले अदालत जाने निर्णय गरेका छन् । सरकार गठनको यो प्रक्रियाको सर्वत्र आलोचना भइरहेको छ । हुन पनि मूलधारको भनिने दलको मनपरितन्त्रले देशमा कुशासन, भ्रष्टाचार र विचौलियाको ‘रजगज’ भएको हो । तिनै दलहरु नै संघीयता, लोकतन्त्र र संसदीय व्यवस्थालाई कमजोर बनाउन लागेको यो पछिल्लो प्रमाण हो । त्यसकै परिणाममा सृजना भएको जेन–जी विद्रोह र त्यसपछिको सरकारले विगतका राजनीतिक दलका गल्तीलाई सच्याएर संक्रमणबाट निकाश खोज्ने प्रयास गर्नुपर्छ ।




























