दवावका कारण मिश्रले आत्महत्या गरेको आशंका, समवेदना लिएर आउँदा लखेटिए अध्यक्ष ढकाल

0
464
  • कामधेनु दूग्ध विकास संस्थामा आन्तरिक तनाव चुलियो

झापा, इटहरीस्थित कामधेनु दूग्ध विकास संस्थाका बजार प्रतिनिधि प्रेमकुमार मिश्रले अत्यधिक कार्यचाप र मानसिक तनावका कारण आत्महत्या गरेको घटना बाहिरिएको छ ।

कर्मचारीले आत्महत्या गरेसँगै संस्थाभित्र विवाद, आरोप–प्रत्यारोप र अनियमितताको चर्चा चुलिएको हो ।मृतक मिश्रले सुसाइट नोटमा दुई जनाको नाम उल्लेख गर्दै आत्महत्या गरेपछि संस्थाको आन्तरिक कार्यशैलीबारे गम्भीर प्रश्न खडा भएको छ । मिश्रले गतकात्तिक १७ गते आफ्नै घरमा आत्महत्या गरेका थिए । उनको मूल घर कमल गाउँपालिका हो ।

 

मृतक मिश्र इटहरी–२०स्थित कामधेनु दूग्ध विकास संस्थामा काम गर्दै आएको र संस्थाका अध्यक्ष यादव ढकालको समेत दवावमा रहेको बताइएको छ । अध्यक्ष ढकालले मिश्रको काममा असन्तुष्टि जनाउँदै केही समय अघि मात्रै स्पष्टिकरण सोधेका थिए । अध्यक्ष ढकालले त्यहाँस्थित एक महिला कर्मचारीलाई बढुवा गर्दै मिश्रलाई अत्यधिक काममा दवाव दिने गरेको बताइएको छ ।

दवावकै कारण उनको मृत्यु भएको परिवारको आरोप छ । यता मिश्रले आत्महत्या गर्नु अघि सोही संस्थाका बजार प्रमुख रञ्जित झा र शेरबहादुर खड्काको नाम उल्लेख गर्दै सुसाइट नोट लेखेका छन् । उनको मृत्यु कार्यालयको अत्यधिक कार्यचाप र उनीहरुको दबाबका कारण भएको हुनसक्ने इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक किशोर लम्सालले बताए । उनले भने– मिश्रले आत्महत्या गरेका छन् । उनले मृत्यु हुनुअघि दुई जनाको नाम उल्लेख गरेका छन् । आफू पनि दमकमा भर्खरै आएको र मुद्दाका विषयमा सबै कुरा बुझ्न बाँकी रहेकाले सोही विषयलाई लिएर जाहेरी आएको भए तत्काल कानूनी प्रक्रिया अघि बढाउने छु ।

यता संस्थाबाट मिश्रलाई कारोबार विवरण बुझाउन चर्को दबाब दिएको बताइएको छ । अध्यक्ष ढकालको आदेशमा मुनिका कर्मचारीहरूलाई अत्यधिक दबाब दिने प्रवृत्तिका कारण संस्थाभित्र असन्तुष्टि बढेको सहकर्मीहरूले बताएका छन् ।

अध्यक्ष ढकाल अन्त्येष्टिमा समेत नपुगेपछि कर्मचारीबीच थप आक्रोश चुलिएको छ । मिश्रको मृत्युको भोलिपल्ट झापा जिल्लामा आउने दूग्धजन्य सामग्रीको ढुवानी समेत रोकिएको थियो । ‘हामी डराएका थियौं, कसैले गाडी तोडफोड गर्न सक्छ भन्ने भय थियो’– एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने ।

यता मृतकका भाइ कमल मिश्रले संस्थाका कर्मचारीमाथि कानूनी कारबाहीको माग गरेका छन् । दाजुको १३ औं दिनको काम शनिवार सकिन्छ, त्यसपछि कानूनी कारवाहीका लागि हामी जान्छौं । उनले भने– आज १२औं दिनको काम सकियो । दाजुको मृत्युको कारण हामी खोजी गर्छौ । दाजुले मृत्युअघि दुई जनाको नाममा सुसाइट नोट किन लेख्नुभयो ?

मिश्रको मृत्युपछि अध्यक्ष ढकालसहितको टोली समवेदनाका लागि झापा आएको थियो । तर, टोलीलाई परिवारजनले घरबाटै लखेटेको बताइएको छ । जसका कारण संस्थाका अध्यक्ष ढकालसहितको टोली मिश्रको घरमा समवेदना प्रकट नगरी फर्किएको थियो । समवेदनाका लागि मिश्रको घर पुगेको अध्यक्ष ढकालसहितको टोलीले मृतकको परिवारलाई पैसा दिएर ‘मिलापत्र’ गर्ने प्रयास गरेको बताइएको छ । जसका कारण उनीहरुलाई परिवार र आफन्तले लखेटेको बताइएको छ ।
यता मिश्रले आत्महत्या गरेसंगै संस्थाका व्यवस्थापक नवराज नेपाल र अध्यक्ष ढकालले कर्मचारीका मोबाइलसमेत जाँच गरेका थिए । संस्थाका सञ्चालक कृष्ण अधिकारीले सामाजिक सञ्जालमार्फत अध्यक्ष ढकालको कडा बिरोध गर्दै लेखेका छन्– ‘अब बल्ल थाहा भयो, अध्यक्ष ढकाल कति तलसम्म झर्न सक्ने रहेछन् । उनका अनुसार ढकालले बीच बाटैमा गाडी रोकेर सबै कर्मचारीका मोबाइल जबरजस्ती चेक गरेका थिए । ढकाल संस्थामा अध्यक्ष बनेदेखि मन नपर्ने पुराना कर्मचारीहरूलाई हटाउने, लाञ्छना लगाउने र दोस्रो कार्यकालका लागि कृषकहरूलाई विभिन्न हतकण्डाबाट प्रयोग गर्ने गरेको पनि आरोप छ ।

त्यसैगरी, पशुचौपायाको दानामा मोटो कमिशन लिएर बुटवलस्थित दाना उद्योगलाई संस्थाभित्र ल्याएको र त्यसको बदलामा स्कारपियो गाडी पाएको आरोप समेत लागेको छ । कर्मचारी नियुक्ति प्रक्रियामा पनि ढकालले एकलौटी गरेको बताइएको छ । कार्यालय सहयोगीका रूपमा नियुक्त भावना रेग्मीलाई एकैपटक चौथो तहमा बढुवा गरिएको र अध्यक्षसँगको निकट सम्बन्धकै कारण उनले अन्य कर्मचारीलाई धम्क्याउने गरेको चर्चा छ । ढकाल अध्यक्ष भएपछि कामधेनु दूग्ध विकास संस्था सेवा होइन, व्यक्तिगत लाभको केन्द्र बनेको कर्मचारीहरुले बताउँदै आएका छन् ।

यता अध्यक्ष ढकालले मिश्रको मृत्युको कारण आफूलाई थाहा नभएको र उनले संस्थाका दुई जना कर्मचारीको नाम उल्लेख गरेको सुनेको बताएका छन् । प्रहरीले घटनाको अनुसन्धान गर्ला त्यो फरक पाटो हो– उनले भनेका छन्– कर्मचारीको मृत्यु पछि उनको घरमा समवेदना लिएर गएका थियौं तर, त्यहाँ अवस्था असामान्य बनेपछि हामी त्यसै फर्कियौं । कर्मचारीको मोवाइल जाँचका विषयमा जिज्ञासा राख्दा उनले भने– संस्थाको कर्पाेरेट सिम प्रयोग गर्ने भएकाले हामीले उनीहरुको सिम जाँच गरेका हौं, त्यो संस्थाको नियम भित्र पर्छ ।

यता व्यवस्थापक नेपालले कसैको नाम उल्लेख गर्दैमा ऊ दोषी हुन नसक्ने बताएका छन् । संस्थाले पनि आन्तरिक छानविन गरिरहेको छ । प्रहरीले पनि छानविन गर्ला, त्यसपछि वास्तविकता पक्कै बाहिर आउने छ– नेपालले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here