झापा, झापाको विभिन्न स्थानमा प्रहरीले लागूऔषधसहित चारजनालाई पक्राउ गरेको छ।
सीमावर्ती क्षेत्रमा निगरानी कडा बनाउँदै गएको प्रहरी टोलीले भारतबाट अवैध लागूऔषध लिएर नेपालतर्फ प्रवेश गर्ने प्रयास गर्नेहरु पक्राउ परेका हुन्।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले आज दिउँसो करिब ४ः४० बजे हल्दिबारी–३ बस्ने ३१ वर्षीय अनुप महतोलाई शंका उत्पन्न भएपछि चेकजाँच गरेको थियो। जाँचका क्रममा उनले मलद्वारभित्र प्लास्टिकमा प्याक गरी ल्याउँदै गरेको ९ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।
यस्तै, आज साँझ करिब ७ बजे भारततर्फबाट नेपाल प्रवेश गर्ने पैदल यात्रुहरूलाई चेकजाँच गर्दा थप तीनजनाबाट पनि ब्राउनसुगर फेला परेको छ।
पक्राउ पर्नेमा बिर्तामोड–३ कंचनजंघा टोलका ३० वर्षीय देबराज श्रेष्ठ रहेका छन्। श्रेष्ठको कपडाको गोजीबाट प्लास्टिकमा प्याक गरिएको २ ग्राम ६० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, बिर्तामोड–५ शान्तिटोलका ४० वर्षीय रामकुमार मौलीलाई ३ ग्राम २० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ।
यसैबीच, हल्दिबारी–३ जलथलका २० वर्षीय सुफर मर्डीबाट ७७० मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। पक्राउ परेका चारे जना माथि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र वहादुर खड्काले जानकारी दिए ।




























