विनोद सापकोटा
झापा, शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले सरकारी सवारीसाधनको चरम दुरुपयोग गरेको आरोप लागेको छ। 
मंगलबार बिहान नेकपा एमाले शिवसताक्षी–११ ले आयोजना गरेको शोक सभामा उपप्रमुख कार्की नगरपालिका कार्यालयको नाममा दर्ता रहेको मे १ झ १३१ नम्बरको रातो सरकारी गाडी चढेर उपस्थित भएकी थिइन्।
सो कार्यक्रममा नगरप्रमुख स्वयं सहभागी भए पनि उनी निजी स्कुटीमा आएका थिए। अन्य जनप्रतिनिधिहरू पनि निजी सवारी प्रयोग गरी कार्यक्रम पुगेका थिए। यसले उपप्रमुखले मात्र सरकारी गाडी प्रयोग गर्नुको औचित्य झनै प्रश्नगत बनेको स्थानीयको भनाइ छ।
स्थानीयवासीले भने, “नगरप्रमुख निजी सवारीमा आउँछन्, अन्य जनप्रतिनिधि पनि आफ्नै साधनमा आइपुगेका थिए, तर उपप्रमुखले मात्र पार्टी र निजी कार्यक्रममा सरकारी गाडी प्रयोग गर्नु पर्ने कारण के हो?”
यसअघि पनि उपप्रमुख कार्कीले निजी तथा पारिवारिक कामकाजदेखि राजनीतिक भेटघाटसम्ममा सरकारी गाडी प्रयोग गर्ने गरेको गुनासो आइरहेको थियो। तर यसपटक प्रत्यक्ष सार्वजनिक राजनीतिक कार्यक्रममा सरकारी गाडी देखिनुले उनीमाथिको प्रश्न झनै गम्भीर बनेको छ।
सरकारले स्थानीय तहका प्रमुख तथा उपप्रमु
खलाई उपलब्ध गराइने सवारीसाधनको उद्देश्य जनसेवा, निरीक्षण, अनुगमन तथा प्रशासनिक काम सहज बनाउने हो। करदाताको पैसा प्रयोग गरी उपलब्ध गराइने यस प्रकारका साधन कार्यालय र जनहितका काममै सीमित प्रयोग गर्न सकिने कानुनी व्यवस्था छ। निजी वा राजनीतिक प्रयोजनमा सरकारी सवारी चलाउनु सार्वजनिक स्रोतको दुरुपयोग मानिन्छ।
नेपालको सार्वजनिक सम्पत्ति (संरक्षण) ऐन तथा भ्रष्टाचार निवारण ऐन अनुसार सरकारी सवारीसाधनको दुरुपयोग दण्डनीय अपराध हो। गैरकानुनी रूपमा सरकारी साधन प्रयोग गरेमा जरिवाना, क्षतिपूर्ति तिराउने, अनुशासनात्मक कारबाहीदेखि भविष्यमा सार्वजनिक पद धारण गर्न रोक लगाउनेसम्मको व्यवस्था छ। राजनीतिक पार्टीका कार्यक्रममा सरकारी स्रोत प्रयोग गर्नु राज्यको तटस्थतामाथि गम्भीर प्रहार भएको कानुन व्यवसायीहरूको ठहर छ।
स्थानीयवासीहरूले उपप्रमुख कार्कीले गरेकै सरकारी स्रोत उपयोगमा पारदर्शिता र जवाफदेहिताको अभाव देखिएको टिप्पणी गरेका छन्। उनीहरूको भनाइमा, जनप्रतिनिधिले कानुनको कडाइका साथ पालना गर्नुपर्ने बेला उल्टै स्रोतको दुरुपयोग हुनु अयोग्य आचरण हो।
नेकपा एमालेबाट निर्वाचित उपप्रमुख नरमाया कार्कीले तत्कालीन नेकपा माओवादी केन्द्रका नेता महेन्द्र भट्टराईलाई पराजित गर्दै उपप्रमुख पद जितेकी थिइन्। उनी एमालेको झापाकी जिल्ला सदस्य समेत हुन्।






























