अन्तरिम सरकारको घोषणा मृताबिक अहिले देशभर मतदाता नामावली दर्ताको लहर छ । विगतमा नाम दर्ता नगरेका र उमेर पूरा नभएका नवयुवाहरु समेत नाम दर्ताका लागि उत्साहपूर्वक लागेका छन् । यही समय निर्वाचनमा भाग लिएर जनताको मत आकर्षित गरी शासन सत्ताको सञ्चालनको तहमा पुग्ने ध्येयले नयाँ दल पनि निर्वाचन आयोगमा दर्ता हुन लागेका छन् । प्रजाको इच्छा अनुसार चल्ने शासन व्यवस्थालाई प्रजातन्त्र भनिँदै आएकोमा अहिले लोकतन्त्र अर्थात् लोगको तन्त्रमा रुपान्तरित गरिएको छ, जसको आधार भनेको जनता नै हुन् । जनताको इच्छा अनुसार राज्य सञ्चालन गर्नुपर्छ भन्ने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको मान्यताका आधारमा नेपालमा प्रजातन्त्रको अभ्यास गरिएको हो ।

जनभावना र जनचाहना अनुरुप सञ्चालन हुने राजनीतिक प्रणाली प्रजातन्त्र वा लोकतन्त्र हो । जनताको चाहनाको प्रतिविम्वन निर्वाचनबाटै हुन्छ । जनभावना र चाहना विपरीत सञ्चालन भएका, शासन व्यवस्था असफल भएका इतिहासमा थुपै्र उदाहरण छन् । त्यही जनभावना अनुसार निर्वाचित सरकारले पनि जनताको चाहना अनुरुप राज्य सञ्चालन गरेन भने जनविद्रोह हुन्छ । नेपालकै इतिहास पनि विगतमा भएका आन्दोलन त्यसका उदाहरण हुन् । अझ अस्ति भर्खरै भदौ २३ र २४ गतेको नेपाली नवपुस्ताको विद्रोह नेपालको पछिल्लो घटना हो, जसले दुईतिहाइको दावी गर्ने सरकारलाई नै विस्थापित गरिदियो ।
जेन–जीको नाममा भएको यो विद्रोहले विश्वव्यापी चर्चा पाएको छ । उक्त विद्रोहको मूल लक्ष्य र माग भनेकै राजकीय तहमा सुशासनको माग थियो । भ्रष्टाचारको अन्त्य नभई देशले तीव्रतर आर्थिक विकासको मार्ग पहिल्याउन सक्दैन । तीव्रतर विकासका लागि देशमै रोजगारीको सृजना हुनुपर्छ, सक्षम जनशक्तिले सिप, कुशलता, क्षमता र योग्यता अनुसार स्वदेशमै रोजगारी पाउनुपर्छ । नवयुवाका साथै आमनेपालीको चाहना पनि सुशासन नै हो, जसले आर्थिक विकासको मार्ग पछ्याएर व्यक्ति, समाज र सिंगो राष्ट्रको आर्थिक विकास गर्न सक्छ ।
यस्तो चाहना तब मात्रै पूरा हुनसक्छ जब जननिर्वाचित सरकारले जनताको चाहना र भावनालाई सम्बोधन गर्नसक्छ । त्यसका लागि सरकारले भने जस्तै आगामी निर्वाचनमा उत्साहपूर्ण र विवेकको मत प्रयोग हुन्छ । ‘कानै चिरेको जोगी आउने’ मनस्थिति बदल्न मतदाता नै जाग्रत हुनुपर्छ । त्यसका लागि उमेर पुगेका र परिवर्तनकामी नेपालीले निर्वाचनलाई पर्वका रुपमा उपयोग गर्नुपर्छ । त्यही भावनाको जागरणले भएको विद्रोह र त्यसले उत्पन्न गरेको परिस्थितिमा हुन लागेको निर्वाचनमा मतदान गर्ने अधिकार सुनिश्चित गर्न देशभर युवाहरुको उत्साह बढेको छ । नवपुस्ताले चाहेको परिवर्तनको ढोका खोल्ने ‘साँचो’ नै यही निर्वाचन भएकाले बढेको उत्साह र जागरुकता शुभसंकेत हो जसले नयाँ इतिहास निर्माण गर्ने आशा गर्न सकिन्छ ।




























