जेनजी आन्दोलनका सहिद : सुशासनको यात्रामा श्रीयमको बलिदानी

0
60
विवेक मिश्र \रासस

बेलबारी , मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका १८ वर्षीय श्रीयम चौलागाईंको उच्च शिक्षा हासिल गरी देशमै उज्ज्वल भविष्य बनाउने सपना अपूर्ण नै रह्यो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर कालिलो उमेरमा नै उनको ज्यान गएको हो।

इटहरीबाट प्रवेशिका परीक्षा सकेर केही वर्षअघि काठमाडौँ पुगेका श्रीयम कक्षा १२ मा ग्लोबल कलेजमा अध्ययनरत थिए। राजनीतिमा औपचारिक रूपमा संलग्न नभए पनि जेनजी आन्दोलनले उनीलाई आकर्षित गरेको परिवारजनले बताएका छन्। स्कुल पोसाकमै आन्दोलनमा सहभागी रहेका श्रीयम नयाँबानेश्वर सडकमा ढलेका थिए।

श्रीयम परिवारका दोस्रो सन्तान हुन्। आमाबुबासँग काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलामा भाडाको कोठामा बस्दै आएका उनी सबैतिरबाट ‘भविष्यको आधार’ भनेर हेर्ने व्यक्तिमध्ये एक थिए।

५२ वर्षीय पिता गणेशप्रसाद चौलागाईं पेसाले यातायात व्यवसायी हुन्। “पढाइमा उत्कृष्ट भएकाले काठमाडौँ ल्याएर राम्रो कलेजमा भर्ना गराएका थियौँ,” बुबा गणेशले गहभरिएर सुनाए।

न्यायका लागि आन्दोलन–संगठनमा परिवार सक्रिय

छोराको मृत्यु व्यर्थ नहोस् भन्ने उद्देश्यका साथ गणेशप्रसाद अब जेनजी सहिद परिवार संघर्ष समितिमा सक्रिय छन्। राज्यसँग १४ बुँदे मागसहित न्याय खोजिरहेको समितिले दोषीमाथि कारबाही, मृतक परिवारका लागि शिक्षा–स्वास्थ्य निःशुल्क व्यवस्था, पेन्सनलगायत माग अघि सारेको छ। केही विषयमा प्रगति भएको भए पनि “कोशी प्रदेश सरकार र बेलबारी नगरपालिकाले चासो नदेखाएकोमा अत्यन्त दुःख लागेको” गणेश बताउँछन्।

‘हामीले सन्तान गुमायौँ, देशले असल युवा’

श्रीयमका काका राजन चौलागाईं भन्छन्, “हामीले हाम्रो सन्तान गुमायौँ, तर देशले पनि एक असल, इमानदार र सम्भावनायुक्त युवा गुमायो। सहिदको सपना हामी सबैले मिलेर पूरा गर्नुपर्छ।”

श्रीयमका मामा केशव कार्कीका अनुसार श्रीयम पढाइमै केन्द्रित थिए। “दुई दिनअघि मात्र विदेशमा रहेकी दिदीसँग कुरा भएको रहेछ। राजनीतिमा खासै चासो नदेखिए पनि देशलाई निकास चाहिन्छ भन्ने भावनाले आन्दोलनमा हिँडे,” उनले सुनाए। भदौ २३ को दिउँसो म रंगशालामा खेलाडी छनोटमा व्यस्त रहँदा श्रीयमलाई गोली लागेको खबर आएको थियो।

“ट्रमा सेन्टर पुगेपछि मृतकको सूचीमा सातौँ नम्बरमा उनको नाम देखेँ। एकछिन त सासै अड्किएजस्तो भयो,” मामा केशवले पीडा सुनाए।

विद्यालयको स्मरण : ‘श्रीयम लगनशील र प्रिय विद्यार्थी’

श्रीयमले कक्षा ९ र १० इटहरी–५ स्थित मकालु बोर्डिङ स्कुलमा पूरा गरेका थिए। विद्यालयका प्रिन्सिपल थानेश्वर ढकालका अनुसार, “श्रीयम अत्यन्तै लगनशील, मेहनती र इमानदार विद्यार्थी थिए। शिक्षक–शिक्षिका र सबै साथीका प्रिय थिए।” विद्यालयले उनको सम्झनामा स्मरणीय कार्यक्रम गर्ने योजना बनाएको प्रिन्सिपल ढकालले जानकारी दिए।

सहिद घोषणा भइसकेका ४५ युवा

जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते मारिएका ४५ जनालाई सरकारले सहिद घोषणा गरिसकेको छ। गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सहिद मान्यता दिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here