काठमाडौँ,
उपत्यकाको विभिन्न स्थानबाट चोरी भएका ५१ ओटा दुई पाङ्ग्रे सवारी साधन काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले धनीलाई फिर्ता गरेको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा चोरी तथा हराएको अवस्थामा फेला पारिएका ३३ मोटरसाइकल र १८ स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको हो। 
कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारी तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रूपमा सवारी साधन हस्तान्तरण गरे।
ट्राफिक प्रहरीले उपत्यकाभित्र प्राप्त निवेदनका आधारमा खोजतलास सञ्चालन गर्ने क्रममा गोंगबु, नयाँ बसपार्क, बालाजु, सीतापाइला, रानीबारी, बौद्ध, बालकुमारी, कोटेश्वर, काँडाघारी, पुतलीसडक, अनामनगर, सिंहदरबार, मालिगाउँ, गठ्ठाघर, लुभु लगायतका स्थानबाट ती सवारी साधन फेला पारेको जनाएको छ। केही सवारी साधनमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको पाइएको थियो।
ट्राफिक प्रहरीले साउन यतादेखि हालसम्म ९१ ओटा चोरी भएका दुई पाङ्ग्रे सवारी साधन धनीलाई बुझाइसकेको छ। यस अवधिमा चोरीमा संलग्न १९ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी इकाइमा पठाइएको प्रहरीले जनाएको छ।
आर्थिक वर्ष २०८०र८१ मा ४१७ ओटा तथा २०८१र८२ मा ५०३ ओटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी धनीलाई जिम्मा लगाइसकिएको ट्राफिक प्रहरीले जनाएको छ।
सवारी साधन चोरी रोकथामका लागि सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्न आग्रह गर्दै ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले एकान्त स्थानमा सवारी पार्किङ नगर्न अनुरोध गरेका छन्।
सवारी साधन हराएमा ट्राफिक प्रहरी हटलाइन १०३ तथा नेपाल प्रहरी हटलाइन १०० मा सम्पर्क गर्न वा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ।





























