अपहरण–हत्या प्रकरणको सफल अनुसन्धान : प्रहरी निरीक्षक सुभाष केसी ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषित

0
159

झापा , कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले इलाका प्रहरी कार्यालय झिलझिले, झापामा कार्यरत प्रहरी निरीक्षक सुभाष केसीलाई २०८२ साल कार्तिक महिनाका ‘सर्वोत्कृष्ट प्रहरी’ रूपमा घोषणा गरेको छ।

केसी नेतृत्वको टोलीले कार्तिक ९ गते अर्जुनधारा–४ दहिझोडा सामुदायिक वनमा घटेको अपहरण, शारीरिक बन्धक र ज्यानसम्बन्धी घटनामा संलग्न शंकितहरूलाई पहिचान गर्दै निगरानी सुरु गरेको थियो।
घटनामा ३३ वर्षीय सरोज शर्माको हत्या भएको पुष्टि हुँदै जाँदा केसीले सूक्ष्मरूपमा तथ्य–प्रमाण जोड्दै अनुसन्धानलाई निर्णायक मोडतर्फ अघि बढाए।

उनकै निर्देशनमा कार्तिक १३ गते मेचीनगर–१३ स्थित सामुदायिक वनमा पीडितले प्रयोग गरेको गाडी जलेको अवस्थामा फेला पारियो। त्यसपछि घटनाको अनुक्रमलाई अलग–अलग कोणबाट विश्लेषण गर्दै केसीले टोलीसहित प्रमुख शंकितलाई नियन्त्रणमा लिन सफल भए।
अनुसन्धानको क्रममा मृतकको शव गाडिएको स्थानसमेत पहिचान गराउँदै उत्खनन प्रक्रियाबाट शव बरामद गरिएको थियो, जसका आधारमा अनुसन्धान थप प्रमाणमुखी बन्दै अगाडि बढ्यो।

घटना सार्वजनिक भएपछि पीडित परिवार तथा स्थानीयवासी क्षुब्ध बनेका थिए, प्रतिवादीका घर तथा सम्पत्तिमा आक्रमणको जोखिम समेत बढेको थियो। यस्तो संवेदनशील परिस्थितिमा सुरक्षा व्यवस्थापन र अनुसन्धान दुबै प्रभावकारी रूपमा सम्हाल्नु केसी नेतृत्वको टोलीका लागि चुनौतीपूर्ण थियो।

जटिल अपराधलाई वैज्ञानिक आधारमा सफलतापूर्वक निष्कर्षमा पुर्याउँदै समाजमा शान्ति–सुरक्षा कायम गर्न महत्वपूर्ण योगदान दिएको भन्दै प्रहरी निरीक्षक सुभाष केसीलाई ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here