इलामको भालुझोडामा बस–पिकअप ठोक्किँदा ८ जना घाइते

0
41

इलाम , रोङ गाउँपालिका–४ भालुझोडास्थित मेची राजमार्गमा शुक्रबार साँझ भएको बस–पिकअप दुर्घटनामा ८ जना घाइते भएका छन्।  साँझ ५:५० बजे कन्यामबाट झापा तर्फ जाँदै गरेको बसले सडकछेउमा बिग्रेर रोकेर राखिएको पिकअपलाई ठक्कर दिएपछि दुर्घटना भएको इलाम प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार झापा दमकबाट पर्यटक लिएर इलाम आएको प्र–१–०२–००२ ख १०५५ नम्बरको बसले खाद्यान्न बोकेको प्र–१–०१–००१ च ८२१७ नम्बरको पिकअपलाई ठक्कर दिएको थियो। ठक्करपछि पिकअप करिब ५० मिटर तल खसेको छ।

घटनास्थलमा प्रहरी चौकी किटेनीबाट प्रहरी नायब निरीक्षक राजन कटुवालको कमाण्डमा ट्राफिकसहितको टोली परिचालन गरिएको थियो।

दुर्घटनामा बसमा सवार ४३ जनामध्ये ६ जना र पिकअप चालक तथा सहचालक गरी २ जना घाइते भएको प्रहरीले जनाएको छ। सबै घाइतेलाई तत्काल उद्धार गरी झापास्थित विराट सिटी अस्पतालतर्फ पठाइएको छ।

बस चालक झापा दमक–८ का ३२ वर्षीय घनश्याम खतिवडा प्रहरी नियन्त्रणमा छन्। दुबै सवारी साधनमा क्षति पुगे पनि राजमार्ग अवरुद्ध भने नभएको प्रहरीले बताएको छ।

बसमा सवार घाइते 

कल्पना बिक (४०), दमक–४, झापा — निधारमा चोट, विराट सिटी अस्पतालमा उपचाररत, अवस्था सामान्य।

लिजा बिक (१५) — शरीरको भित्री भागमा चोट, अवस्था मध्यम।

भगितमाया बिक (५४) — खुट्टामा चोट, अवस्था सामान्य।

श्याम कार्की (४४) — टाउकोमा चोट, अवस्था सामान्य।

गोमा देवी सोदारी (४३) — घाँटीमा चोट, अवस्था सामान्य।

चन्द्रकुमार राई (५०) — खुट्टा र नाकमा चोट, अवस्था सामान्य।

पिकअपमा सवार घाइते

राजाराम खड्का (५४), अर्जुनधारा–५, झापा — टाउकोमा सामान्य चोट, अवस्था सामान्य।

अमरबहादुर श्रेष्ठ (५८) — अनुहार र शरीरका विभिन्न भागमा चोट, अवस्था सामान्य।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here