- जेनजी आन्दोलनपछि छैन ट्राफिक चेकजाँचमा कडाई
झापा । झापामा एकै दिन १० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी एक जनाले ज्यान गुमाएका छन् भने १५ जना भन्दा बढी घाइते भएका छन् । मंसीर ६ गते मात्रै जिल्ला भर भएका साना ठूला दुर्घटनामा १५ जना भन्दा धेरै धाइते भएका हुन् ।
अधिकांश दुर्घटना मोटरसाइकल अनियन्त्रित हुँदा भएका छन् । केही ठाउँमा पैदलयात्रीलाई सवारीले ठक्कर दिएका छन् । सवारीको ठक्करबाट बालक समेत घाइते भएका छन् ।
सडक किनारमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा मंसीर ६ गते शनिवार राति ३८ वर्षीय बिनोद राउतको मृत्यु भयो ।
झापाको मेचीनगर–१५ हेल्दुबारीस्थित भित्री सडक खण्डमा भद्रपुरबाट इटाभट्टातर्फ जाँदै गरेको प्र.१–०१–०१३ प ३३३६ नं.को मोटरसाइकलले सडक छेउमा रोकीराखेको प्र.१–०१–००१ त ९९७७ नं.को ट्याक्टरलाई ठक्कर दिंदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक ३८ वर्षीय बिनोद राउत र पछाडि सवार २१ वर्षीय निश्चल भुजेल गम्भीर घाइते बनेका थिए । घाइते दुवै जनालाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित वीएण्डसी अस्पताल ल्याइएको थियो ।
तर, उपचारको क्रममा राति मोटरसाइकल चालक राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्काले जानकारी दिए । मोटरसाइकलमा पछाडि सवार भुजेलको भने उपचार जारी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यता बिर्तामोड–रामचोक क्षेत्रमा २४ घण्टामा आधाघण्टाको फरकमा दुर्घटना भएका छन् । दुर्घटना भएको क्षेत्र जिल्ला ट्राफिक प्रहरी कार्यालय भन्दा एक किलोमिटर मात्रै पश्चिममा पर्छ ।

प्रहरीका अनुसाार शनिवार राति पूर्व–पश्चिम राजमार्गस्थित रामचोक नजिक बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र.१–०१–०१७ प ९१६८ नम्वरको मोटरसाइकल अनियन्त्रित हुँदा १७ वर्षीय सुरज ताजपुरिया र पछाडि सवार २१ वर्षीय विशाल लिम्बू घाइते भए । उनीहरुको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना शनिवार राति ११ः३० मा भएको थियो ।
त्यसको आधा घण्टा अगाडि ११ बजे मात्रै सोही स्थानमा दुर्घटना भएके थियो । मे ४ प १४८४ नम्बरको अर्को मोटरसाइकल दुर्घटनामा १८ वर्षीय सचिन लिङदेन गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि वीएण्डसी अस्पताल पु¥याइएको थियो ।
त्यस्तै दमक–९ स्थित जयगुरु राइस मिल नजिक मोटरसाइकल अनियन्त्रित हुँदा ३५ वर्षीय प्रेम लिम्बू अचेत अवस्थामा भेटिए । मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको प्रहरीको भनाई छ ।
यता बिर्तामोड–भद्रपुर सडकखण्ड अन्तर्गत गरामनी नजिक मे ६ प ९१३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २३ वर्षीय अशोक राजवंशी घाइते भएका छन्।
शनिवार नै मेचीनगरमा सिटी सफारी र मोटरसाइकल ठोक्किँदा ३ जना घाइते भएका छन् । मेचीनगर–८ सिर्जनाचोकमा सिटी सफारी र मोटरसाइकल एकआपसमा ठोक्किँदा सिटीमा सवार ५२ वर्षीया सानु गिरी, मोटरसाइकल चालक समिर गिरी र मोटरसाइकलमा पछाडि सवार श्याम कुमार रोय घाइते भएका हुन् । सिटी चालक मादक पदार्थ सेवन गरेको अवस्थामा पक्राउ परेका छन् ।
यता मैनालीगेट नजिक पैदल हिँड्दै गरेकी ६० वर्षीया किरण देवी अग्रवाललाई मे ११ प ७५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनको निधार र खुट्टामा चोट लागेको छ । दुर्घटनामा सम्लग्न चालक फरार छन्।
त्यस्तै शिवसताक्षी–१० माईधारमा हाइलक्स र मोटरसाइकल ठोक्किँदा ५९ वर्षीय रमेश घिमिरे र उनकी पत्नी सीता घिमिरे घाइते भएका छन्। दुवैको उपचार बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा भइरहेको छ ।
शनिवार नै मेचीनगर–७ गौचरणमा खेलिरहेका ६ वर्षीय इसान श्रेष्ठलाई ईबी कारले ठक्कर दिएको छ । कारको ठक्करबाट बालक घाइते छन् । उनको स्थानीय अस्पतालमा उपचार भएको छ ।
यता बाह्रदशीमा मोटरसाइकल अटो ठोक्किँदा ३ जना घाइते भएका छन् । दुर्घटना बाह्रदशी–३ मा भएको हो । दुर्घटनामा २३ वर्षीय सुमन मुसहर, ४५ वर्षीय प्रदीप राजवंशी र ५८ वर्षीय सूर्यप्रसाद राजवंशी घाइते भएका छन् ।
एकै दिन यति धेरै दुर्घटना किन ?
अधिकांश दुर्घटनामा अनियन्त्रित मोटरसाइकल मुख्य कारण रहेको खुलेको छ । जेनजी आन्दोलनपछि ट्राफिक प्रहरीले चोकजाँचमा कडाई नगर्दा दुर्घटना भएका हुन् । जेनजी आन्दोलनपछि ट्राफिक चेकजाँचमा कडाई नहुँदा झापामा सवारी दुर्घटना बढेको सरोकारवालाहरुले बताउँदै आएका छन् ।
त्यसमाथि पनि मादक पदार्थ सेवन गरेर सवाारी चलाएका कारण दुर्घटना भएको प्रहरी स्रोतको भनाई छ । पैदल यात्री र वालबालिका समेत सुरक्षित नभएपछि ट्राफिक प्रहरीको काम कारवाही प्रति स्थानीयले प्रश्न उठाउन थालेका छन् । प्रहरीले सबै दुर्घटनाका सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएपनि दुर्घटना रोक्ने उपायका विषयमा खासै चासो देखाएको छैन । बिर्तामोडस्थित मुक्तिचोक क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति नहुँदा सवारी आवागमन अस्तव्यस्त हुने गरेको छ ।
पछिल्लो ४ महिनामा सवारी दुर्घटनामा परी झापामाा १८ जनाले ज्यान गुमाएका छन् । चालू आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । ती दुर्घटनामा परी २९ जना गम्भीर घाइते भएका छन् भने छ सय ७० जना घाइते भएका छन् ।
तीमध्ये दुई पाङ्ग्रे तीन सय २६, चार पाङ्ग्रे ९३, मझौला ३४, ठुला ३२ र पहिचान हुन नसकेका तीन वटा सवारी साधन रहेका उनले जानकारी दिए ।






























