आसन्न निर्वाचनका विषयमा राजनीतिक दलहरुसँग सरकारले छलफलसहित सुझाव संकलन गरेकै समयमा नेकपा एमालेले नयाँ सुरक्षा दस्ताको घोषणा गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले सबै दलहरुसँग छलफल गरेकी थिइन् । वर्तमान सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने म्यान्डेट पाएको छ त्यसै अनुसार मतदाता नामावली सम्बन्धी काम र दलहरुले दल दर्ताका कार्यक्रममा सहभागी भएका छन् । तर, यही समय आफूलाई संसदीय र शान्तिपूर्ण राजनीतिको पक्षपाती दाबी गर्ने एमालेले सत्ता छोड्न बाध्य पार्ने जेन–जी पुस्तासँग जुध्न संगठनको घोषणा गरेको छ । यद्यपि एमालेले विगतमा पनि हतियारविहीन लडाकु दस्ता गठन गरेको थियो ।

नेशनल भोलेन्टियर फोर्स नामक दस्ताको शुक्रबार पार्टी अध्यक्ष केपी ओलीले घोषणा गरेका छन् । सरकारले प्रतिनिधिसभाको निर्वाचन गर्ने तीब्ररुपले तयारी गरिरहेको छ । तर, एमाले भने विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको माग जोडतोडले उठाइरहेको छ । गत बुधबार बारामा युवा संघको कार्यक्रममा सहभागी हुन जान लागेका महासचिव शंकर पोखरेल जेन–जीको प्रदर्शनका कारण जान सकेनन् । एमालेका कार्यकर्ताले जेन–जीका प्रदर्शनकारीलाई कुटपिट गरेपछि सिमरा दुई दिनसम्म तनावग्रस्त रहेको थियो । यही समय घोषणा गरिएको फोर्सले एमालेले सम्बन्धित असम्बन्धित सबैको जीउधनको सुरक्षा गर्ने भनिएको छ । राज्य संयन्त्रले मात्रै सुरक्षा गर्ने अवस्था नरहेको भन्दै एमाले अध्यक्ष ओलीले त्रासदीपूर्ण वातावरण सहज बनाउन फोर्स गठन गरिएको दाबी गरेका छन् ।
अहिलेको अवस्था आफू अनुकूलको निर्वाचन परिणाम नआउने आंकलन गरेर एमालेका केही नेताहरु उत्तेजित अभिव्यक्ति दिइरहेको टिप्पणी भएको छ । व्यक्तिगत वा राष्ट्रिय सम्पत्ति होस् वा जीउधनको रक्षा होस् त्यो राज्यको जिम्मेवारी हो, त्यही नाममा त्यस्तै उद्देश्यका लागि यस्तो संगठन बनाउनु जिम्मेवार दलका लागि सुहाउँदो विषय होइन । राज्य संयन्त्र माथि दबाब दिन र फोर्स मार्फत सरकारलाई अवरोध गर्ने यस्तो कामले लोकतन्त्रको रक्षा हुन सक्दैन । यसकारण पनि प्रजातान्त्रिक विधिको शासन पक्षपाती भएको दाबी गर्ने कसैले पनि राज्यलाई नै चुनौती दिने अभिव्यक्ति र गतिविधि हुँदैन । जनता नै सर्वोच्च शक्ति हुन्, त्यसैले जनताको विश्वास प्राप्त गरेर राष्ट्रको गरिमा बढाउन राजनीतिक दलहरुले संयमतापूर्वक कदम चाल्नुपर्छ । यसमै देश, जनता र दलको जय हुन्छ ।



























