झापा , जेनजी आन्दोलनको क्रममा झापामा भएको तोडफोड र आगजनी घटनामा संलग्न व्यक्तिहरूलाई प्रहरी चरणबद्ध रूपमा पक्राउ गर्दै आएको छ। यसैबीच, इलाका प्रहरी कार्यालय अनारमनीमा भएको आक्रमणमा संलग्न थप एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–३ निवासी २१ वर्षीय बादल राजवंशी रहेका छन्। उनलाई बिर्तामोड–४, अन्नपूर्ण चौकबाट इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
भदौ २४ गतेको जेनजी आन्दोलनपछि बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयको कम्पाउन्डभित्र रहेका सवारीसाधनमा गरिएको तोडफोड र आगजनीमा बादलको प्रत्यक्ष संलग्नता देखिएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले अन्य फरार अभियुक्तको पनि पहिचान गरेर सक्रिय रूपमा खोजी जारी राखेको छ।





























