सुरुङ्गा ।

झापाको कनकाई— ३ सुरुङ्गास्थित भगवती बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा संस्थापक अध्यक्ष तिलचन्द्र उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो । २०५७ को पुस १४ गतेदेखि सेवा सुचारु गरेको संस्थामा स्थापनाकालमा २५ जना शेयर सदस्य रहेकोमा हाल १ हजार ७ सय ३६ शेयर सदस्य भइसकेको र २ लाख ५० हजार शेयर पुँजी लगानी गरी सञ्चालनमा ल्याएको भगवती साकोसमा हाल शेयर पूँजी ३ करोड ७२ लाख रुपैयाँ पुगेको कार्यालय व्यवस्थापक महेन्द्रप्रसाद सापकोटाले जानकारी दिए ।
संस्थाका अध्यक्ष अध्यक्ष युवराज सङ्ग्रौलाद्वारा प्रस्तुत आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन, लेखा समिति संयोजक बल्लभकुमार गौतमद्वारा प्रस्तुत आ. व. २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन र लेखा सुपरीवेक्षण प्रतिवेदन सभाले पारित गरेको थियो । त्यसै गरी सभाले आ.व. २०८२/०८३ को वार्षिक कार्ययोजना तथा कार्यक्रम पनि पारित गरिएका थिए ।
हाल संस्थामा २ करोड ५७ लाख जगेडा कोषमा, १६ करोड ९ लाख निक्षेपमा रहेको र १६ करोड ८९ लाख रुपैयाँ ऋण लगानी भएको जानकारी दिइयो । संस्थाको कुल सम्पत्ति २५ करोड ५६ लाख रुपैयाँ रहेको बताइएको छ ।
साधारणसभामा असल बचतकर्ता मिठु भट्टराई र कुलप्रसाद न्यौपाने, असल ऋणी इन्दिरा मैनाली र सुरेशकुमार कडरिया, उत्कृष्ट कर्मचारीका रुपमा सबिन भट्टराईलाई सम्मान गरिएको थियो ।
त्यसै गरी शेयर सदस्यका सन्तानमध्ये संस्थागत विद्यालयका तर्फबाट स्मृति दाहाल र दीपककुमार गर्ग, सामुदायिक विद्यालयका स्तुति खतिवडा र कनकाई बहुमुखी क्याम्पसबाट सागर लुइँटेललाई उत्कृष्ट विद्यार्थीका रूपमा पुरस्कारसहित सम्मान गरिएको थियो । त्यसै गरी, महिला ३ र पुरुष १४ गरी १७ जना ज्येष्ठ सदस्यहरूलाई समेत सम्मान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष तोमप्रसाद बाराकोटीले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव नरेन्द्रप्रसाद फुयाँलले सञ्चालन गरेका थिए ।






























