काठमाडौँ, प्रहरीले काठमाडौँ महानगरपालिका–२६ केशरमहल चोकबाट अवैध लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा घर भई हाल काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय प्रकाश श्रेष्ठ तथा दोलखा घर भई काठमाडौँ बुढानिलकण्ठ बस्ने २८ वर्षीय देबेन्द्र लामा रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले बा.३६ प ७८८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।” पक्राउ परेकाहरुको साथबाट प्रहरीले नियन्त्रित लागूऔषध डाइजेपाम २० एम्पुल, फेनारगन २३ एम्पुल र बुप्रेनोर्फिन २० एम्पुल बरामद गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
गाँजासहित चालक र सहचालक परे पक्राउ
प्रहरीले धरान उपमहानगरपालिका–२० बाट ५० केजी लागू औषध गाँजा सहित पिकअप गाडीका चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ।
आज दिउँसो करिब १३ः१० बजे अस्थायी प्रहरी चौकी बिष्णुपादुका क्षेत्रमा नियमित गस्तीमा खटिएको प्रहरी टोलीले को १ ज २१७८ नम्बरको यात्रुवाहक पिकअप गाडी चेकजाँच गर्ने क्रममा गाडीमा लुकाइछिपाइ राखिएको गाँजा फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) भिषणबाबु राईले जानकारी दिए ।
प्याक गरि राखिएको ५० केजी गाँजा सहित गाडी चालक धनकुटा सागरिगढी गाउँपालिका–९ का खड्गबहादुर मगराती र सहचालक दुर्गा बिकलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सोही गाडीको पछाडि सवार दुई जना हाम फालेर भागेको हुदा खोजी भईरहेको प्रहरीले जनाएको छ !































