झापा – जेनजी आन्दोलनका क्रममा काठमाडौँ महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट लुटिएका दुई थान पेस्तोलसहित पक्राउ परेका व्यक्ति नेपाली कांग्रेसका नेता विश्वदीप लिङ्देनका छोरा भएको खुलेको छ ।
प्रहरीले लिङ्देनका छोरा सहित तीन जनालाई पक्राउ गरेको हो । उनीहरुलाई दुई थान पेस्तोल र २० राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा झापाको दमक–६ प्रशान्तीटोल बस्ने कांग्रेस नेता विश्वदीप लिङ्देनका छोरा २९ वर्षीय विश्व लिङ्देन, दमक–९ बस्ने २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली–४ आइतवारे बस्ने ३० वर्षीय पवन हाङसुङ्वा छन्।
गएराति करिब ८ : ३० लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेस लामिछानेको कमाण्डमा खटिएको टोली र इप्रका दमकबाट खटिएको टोलीले दमक–८ मा डेरा गरी बसेका सरोज पुरीलाई कोठा बाहिर हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो। उनको साथबाट ठूलो चापे टाइप–५४ चाइनिज पेस्तोल एक थान र १५ राउण्ड गोली बरामद भएको व्यूरोले जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि उनलाई इलाका प्रहरी कार्यालय दमकमा बुझाइएको थियो।
इप्रका दमकमा सोधपुछ गर्दा पुरीले अर्को हतियार काँग्रेस नेता विश्वदीप लिङ्देनका छोरा विश्व लिङ्देनकहाँ राखेको बयान दिएका थिए। त्यसैका आधारमा प्रहरीले लिङ्देनलाई घरमै पुगेर पक्राउ गरेको हो।
थप सोधपुछमा विश्व लिङ्देनले सो हतियार इलाम चुलाचुली–४ बस्ने पवन हाङसुङ्वालाई २० हजार रुपैयाँमा बिक्री गरेको स्वीकार गरेका छन्।
पछि लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोली हाङसुङ्वाको बारीमा पुगेको थियो। त्यहाँ खाल्डो खनेर रातो प्लास्टिकको झोलामा लुकाएर राखिएको अवस्थामा ठूलो चापे टाइप–५४ चाइनिज पेस्तोल एक थान तथा ५ राउण्ड गोली पेस्तोलमै लोड गरिएको, खिया लागेको अवस्थामा फेला परेको प्रहरी बताउँछ। हाङसुङ्वालाई समेत नियन्त्रणमा लिएर दमकमा ल्याइएको छ।
बरामद दुवै हतियार र २० राउण्ड गोलीसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि काठमाडौँ पठाइएको प्रहरी स्रोतले जनाएको छ।
उल्लेखनीय छ, २०६४ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादीका तर्फबाट उम्मेदवार बनेका विश्वदीप लिङ्देनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका थिए। दुई वर्षअघि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सदस्यमा मनोनयन गरेका थिए।






























