आदर्श अभिभावक सम्मान आयोजना गर्दै ढुंगेल परिवार

0
230

झापा, झापा र सुनसरी जिल्लामा ‘आदर्श अभिभावक सम्मान’ कार्यक्रम आयोजना हुने भएको छ ।
कोशी प्रदेशको सुनसरी जिल्ला–सदरमुकाम इनरुवामा जीवनको लामो समय बिताएका पिता स्व. प्रजापति देव ढुंगेल र माता स्व. हरिमाया ढुंगेलका सुपुत्र स्व. श्यामदेव ढुंगेलको स्मृतिमा स्थापना गरिएको स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले सम्मान कार्यक्रम गर्न लागेको हो।
प्रतिष्ठानका संस्थापक संरक्षक रामप्रसाद ढुंगेलका अनुसार समाजमा विद्यमान असल, कर्तव्यनिष्ठ तथा आदर्श अभिभावकको पहिचान गरी उनलाई सम्मानित गर्ने उद्देश्यले कार्यक्रमको सुरुआत गर्न लागिएको हो।

उनका भनाइमा स्व. श्यामदेव ढुंगेलको योगदानको कदर गर्ने, उनको व्यक्तित्व र सरल स्वभावका कारण परिवार, सन्तान र समाजमा परेको प्रभावबारे नयाँ पुस्तालाई जानकारी गराउने तथा स्व. श्यामदेव ढुंगेलको जीवनयात्रामा आधारित बृत्तचित्र निर्माण गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको छ।

प्रतिष्ठानले हरेक वर्ष पुस ९ गते आदर्श बुबाआमा सम्मान प्रदान गर्नेछ। सोही दिन स्व. श्यामदेव ढुंगेल र प्रतिष्ठानका संरक्षक रामप्रसाद ढुंगेलको जन्मदिन पर्ने भएकाले यही अवसर पारेर कार्यक्रम आयोजना हुने बताइएको छ।

आदर्श बुबाआमा सम्मानअन्तर्गत हरेक वर्ष ४ जोडी अभिभावकलाई सम्मानसँगै निश्चित रकम पुरस्कारको रूपमा प्रदान गरिनेछ। पहिलो चरणका लागि झापाको शिवसताक्षी–६ स्थित श्री जन आदर्श उच्च मावि तथा सुनसरीको इनरुवा नगरपालिकास्थित श्री देवकोटा प्रावि र भगवती मावि चयन गरिएको छ। यी विद्यालयमै स्व. श्यामदेव ढुंगेलका छोराहरु रामप्रसाद ढुंगेल, सन्जय ढुंगेल र राजु ढुंगेलले प्रारम्भिक शिक्षा सुरु गरेका थिए।

आगामी २०८२ पुस ९ गते झापाको जन आदर्श उच्च माविमा पहिलो सम्मान कार्यक्रम आयोजना गरिनेछ। सोही विद्यालयका शिक्षक भक्ति काफ्लेको संयोजकत्वमा पुरस्कार तथा सम्मान वितरण समिति गठन गरिएको छ। तीन जोडी अभिभावकको सिफारिस समिति मार्फत हुनेछ भने एक जोडी अभिभावकको सिफारिस दाताको परिवारले गर्नेछ।
प्रतिष्ठानका अध्यक्ष सन्जय ढुंगेलका अनुसार सम्मान कार्यक्रम हरेक वर्ष स्व. श्यामदेव ढुंगेलको जन्मदिन र पुण्यतिथिको अवसर पारेर यी विद्यालयहरूमा निरन्तर आयोजना गरिनेछ। नियमित कार्यक्रम संचालनका लागि प्रतिष्ठानले स्थानीय वित्तीय संस्थामा निश्चित रकम अक्षयकोषको रूपमा राख्ने र सोको ब्याजबाट कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here