छोटो समयमै अधिक धन कमाउन गरिने जोखिमपूर्ण कारोबार अर्थात् सट्टेबाजीको धन्धा नेपालमा पनि व्यापक बन्दै जान थालेको छ । त्रिभुवन विश्व विद्यालय क्रिकेट मैदानमा जारी नेपाली प्रिमियर लिग एनपीएलमा त्यस्तै कारोबार गरेको आरोपमा प्रहरीले अहिलेसम्म दश जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेका मध्ये एकजना नेपाली पनि छन् । उनीहरुले अहिलेसम्म अर्थात् पक्राउ पर्दाको समयसम्ममा दुई करोड रुपैयाँभन्दा बढीको यस्तो कारोबार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । असाधारण लाभ आर्जन गर्ने लोभले पछिल्लो समय नेपाली पनि कारोबारमा संलग्न हुने र ठगिने क्रम बढेपछि प्रहरीले सक्रियता बढाएको छ ।

अनलाइन ठगीको अपराध अहिले व्यापक बन्दै गएको छ । यस्ता अवैध तथा कानूनद्वारा वर्जित कुनै पनि किसिमको कारोबार ठगी हो । त्यसलाई रोक्न विशेष कानूनका रुपमा जुवा ऐन २०२० प्रचलनमा रहेको छ । नेपाली नागरिकको आर्थिक हित एवम् सदाचारका लागि जुवा खेल्न खेलाउन प्रतिबन्ध लगाउने उद्देश्यले यो ऐन जारी भएको हो । प्रविधिको विकासले अहिले यस्ता जुवाजन्य खेलहरुमा पनि परिवर्तन आएको छ । इन्टरनेटको सहायताले हुने भएकाले अनलाइन जुवा भनिने यस्तो ठगीमा डिजिटल माध्यमकै प्रयोग हुने गरेको छ । विद्युतीय उपकरणको प्रयोग गरी रकम बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर हुन्छ । यस्तो ठगीको पछिल्लो उदाहरण एनपीएल खेलमा सट्टेबाजी गरेको आरोपमा पक्राउ परेको घटना एउटा हो ।
अनलाइन जुवा, सट्टेबाजी जस्ता खेललाई प्रचलित नेपाल कानूनले कसूरका रुपमा मानेको छ । कानूनद्वारा निषेधित यस्तो जुवाजन्य खेल खेलाए वा खेले जरिवाना गरिने व्यवस्था छ । यस्ता खेल खेलाउने कुनै संस्था दर्ता वा सञ्चालन गर्न पाइँदैन। तर पनि नेपालमा आर्थिक लाभ लिने उद्देश्यले युवापुस्ता यस्ता खेलमा संलग्न हुने गरेका छन् । सट्टेबाजी अहिलेको त्यस्तो ठगी धन्दा कारोबार हो जसका कारण आत्महत्यासम्मका घटना हुन थालेको छ । सट्टेबाजी खेलाउने अधिकांश भारतीय र केही अन्य देशका नागरिक हुने भएकाले नेपालीले हारेको करोडौं रकम बाहिरिने निश्चित छ । यस्ता रकमको भुक्तानी नेपालका बैंक वित्तीय संस्थानहरुकै खाता प्रयोग हुने भएकाले नेपाल राष्ट्र बैंक, दूरसञ्चार र प्रहरीले विशेष चासो देखाउनु पर्दछ । जुवाकै कारण पाण्डवहरुको बनबास भएको घटनाले पनि जुवाजन्य गतिविधिबाट युवापुस्ता विशेष सचेत हुनुपर्छ ।




























