सानिमा बैंक माईको छात्रवृत्ति प्रियंका र सुस्मितालाई

0
106

इलाम ।

सानिमा बैंक लिमिटेड माई शाखाले शैक्षिक सत्र २०८२ का लागि प्रदान गर्ने छात्रवृत्तिवाट जनता माध्यमिक विद्यालय माई-९ चिसापानीकी प्रियंका दाहाल र लक्ष्मीआदर्श माध्यमिक विद्यालय माई-८ विष्णेटारकी सुस्मिता अर्याल छनौट भएका छन्।

आर्थिक बर्ष २०८१ मा एसईई पास गरेका बिधार्थी मध्येवाट आर्थिक रूपमा कमजोर, समसामयिक विषयको जानकारी, अध्ययन योजना र भविष्यको लक्ष्य तथा एसईई नतिजाका आधारमा दुईजना छात्रालाई छनौट गरिएको छ ।

छनौट भएका बिधार्थीलाई अध्ययनका लागि बिभिन्न माध्यमबाट बार्षिक प्रति विद्यार्थी ५० हजारका दरले छात्रवृत्ति प्रदान गरिने छ । कक्षा-११ सफल रहेका खण्डमा कक्षा-१२ मा पनि सोही बराबरको छात्रवृत्ति निरन्तरता गरिने बैकका प्रबन्धक हिमा पराजुलीले जानकारी दिनुभयो।

माई नगरपालिका भित्रका २ उच्च माध्यमिक विद्यालयका ७ जनाको आवेदन रहेको छात्रवृत्ति वितरण छनौट समितिमा माई नगरपालिका उपप्रमुख हिमा भण्डारी, माई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत केशब खनाल, पत्रकार विमल दहाल, कन्काई माध्यमिक विद्यालय माई-२ का सह-प्रधानाध्यापक खेमराज लिम्बू र सानिमा बैक लिमिटेड माई शाखाका प्रबन्धक हिमा पराजुली रहेको ५ सदस्यीय छनौट समिति रहेको थियो ।

सानिमा बैंकले आफ्नो ‘समुदायसँगको सहकार्य तथा सामाजिक उत्तरदायित्व’ कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकताका रूपमा राख्दै प्रत्येक वर्ष नियमित रूपमा छात्रवृत्ति वितरण, शैक्षिक सहयोग तथा क्षमता अभिवृद्धिमा केन्द्रित कार्यक्रमहरूको आयोजना गर्दै आएको छ। शिक्षामा गरिएको लगानीले दीर्घकालीन रूपमा सामाजिक तथा आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने बैंकको विश्वास रहेको बताईएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here