अस्थिरता हटाऊ

0
38

भगवान बुद्धको जन्मभूमि, ऋषिहरुको तपोभूमि सुन्दर र शान्त देशको उपनामले परिचय बनाएको नेपाल अहिले अस्तित्वको संकटमा छ । कुनै समय विश्व बन्धुत्वको भावनाका साथ सद्भाव, सहअस्तित्व र सत्कर्म बाँड्ने हैसियत राख्ने नेपालको पहिचान कमजोर हुन थालेको छ । परिवर्तित राज्य प्रणाली र राजनीतिक अस्थिरताले निम्त्याएको अनिश्चितता कमजोर सुरक्षा व्यवस्थाले जनतामा भय उत्पन्न भएको छ । वर्तमान सरकारले विद्यमान अनिश्चय, त्रास र सुरक्षाको प्रत्याभूति दिन नसक्दा सरकारमाथि प्रश्न उठेका छन् र आलोचना पनि भइरहेको छ ।

बितेको साढे तीन दशकदेखि नेतृत्वले आफ्नो दायित्व पूर्णरुपले निर्वाह गर्न सकेन । जनताले खोजेको सुशासन र जनअपेक्षा पूरा नहुँदा निराशा उत्पन्न भयो । निराशाले वितृष्णा र वितृष्णाले उत्पन्न गरेको आक्रोशको परिणाम थियो– भदौ २३ को बिद्रोह । जेन–जी आन्दोलनका नामको बिद्रोहले एकै दिनमा जरा गाडेको राज्यसत्ता हल्लिन पुग्यो । यद्यपि अहिले परिवर्तित अवस्थाले पनि जनअपेक्षा पूरा गर्ने संकेत देखाएको छैन । आन्दोलनले ल्याएको परिवर्तनले स्थिरता, पारदर्शिता, जनअपेक्षा पूरा हुने अवस्था नआए फेरि पनि अस्थिरता नै हावी हुने भय पनि छ । प्रजातन्त्र जनअपेक्षा अनुसार जनताकै अभिमतबाट सञ्चालन हुने प्रणाली हो । त्यसको अझ परिष्कृत रुप भनेर देशमा लोकतन्त्र र गणतन्त्रात्मक शासन व्यवस्था पनि ल्याइयो । तर, राज्य सत्ता सञ्चालन गर्ने राजनीतिक दलकै कारण उत्पन्न यो जटिलताको अन्त्य फेरि पनि जनताकै अभिमतबाट खोज्नुपर्छ । त्यसका लागि आम निर्वाचन नै एक मात्र बाटो हो ।

देश र जनताको सेवा गर्छौं भन्ने दलले त्यही निर्वाचनका माध्यमबाट राज्य सञ्चालनको जिम्मा लिनु पर्दछ । सरकारले निर्धारण गरेको प्रतिनिधिसभाको निर्वाचनमा निःशर्त सहभागी हुनुपर्छ । विगतमा भएका गल्तीहरुको लागि क्षमा माग्दै नयाँ जनादेशको याचना गर्नुपर्दछ । जेन–जी पुस्ताले पनि विवेकपूर्ण व्यवहार गर्दै परिवर्तनलाई संस्थागत गर्न सकारात्मक भूमिका खेल्नुपर्छ । यसका लागि आपसी संवाद गरी सहकार्य गर्नुपर्छ । उत्तेजना, आक्रोश र आवेगले मात्र शान्ति, स्थायित्व र सुशासनको आशा पूरा हुँदैन । यसतर्फ सरकार, राजनीतिक दल र नवपुस्ताले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्छ । अनि मात्र बुद्धको जन्मभूमिको परिचय जोगाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here