
विवेक केशरी प्रसाईं
(आत्माकथा )
आज म तपाईंहरूलाई मेरो कथा सुनाउछु -यो कुनै बनावट होइन, कुनै अतिशयोक्ति होइन, यो मेरो जीवनको नाङ्गो सचाइ हो ।
एक यस्तो कथा, जहाँ म एकपटक जीवनबाट चिप्लिएँ तर जीवनले नै फेरि मलाई अँगालेको थियो । म मरेर पनि बाँचेको मान्छे, फेरि उठेर तन्दुरुस्त हिँडेको मान्छे -आज यही सत्य म तपाईंहरूलाई सुनाउँदैछु । म मरेर बाँचेको होइन, म फेरि उठेर हिँडेको मान्छे हुँ ।
२०१० साल ई.स. सम्म मेरो जीवन सामान्य थियो । काम गर्दै, हिँड्दै-डुल्दै -सबै कुरा यथावत । तर एक दिन अचानक मेरो हात र खुट्टाको पाछिल्लो भागमा अलि-अलि सनसनी शुरु भयो । पहिले त हल्का झट्का जस्तो लाग्थ्यो, तर बिस्तारै त्यो “खसखस” डरमा बदलिन थाल्यो ।
म जचाउनु टिचिङ् अस्पताल गए । डाक्टर ले मलाई भरना हुने सल्लाह दियो । अस्पतालको बेडमा टोलाउँदै बस्नुपर्ने त्यो क्षण -असमझदारीले भरिएको, “के हुँदैछ ?” भन्ने प्रश्नले मनलाई दिनरात छेडिरहने ।
दसैं नजिकिँदै थियो । अस्पतालका धेरै विभागहरू जसरी सबैलाई छुट्टीको माहोल थियो, मेरो शरीरमा भने अजीव परिवर्तन तीव्र भइरहेको थियो । डाक्टरहरूले जति जति हेरे, मेरो कदम जति जति सुस्त भयो ।
दसैं सुरु हुँदा म हिँडेर अस्पताल पुगेको मान्छे, दसैं सकिँदा हिँड्नै नसक्ने भइसकेको थिएँ । हिजोसम्म हातले साधारण काम गर्न सक्थेँ तर त्यसपछिका केही दिनमा दुइटै खुट्टा लगभग निष्क्रिय भइसकेका थिए ।
अन्ततः, “अब यहाँ होइन, दिल्ली लैजानुपर्छ”, डाक्टरले सुझाव दिए । दसैं सकिएको थियो तर मेरो जीवनमा सबैभन्दा ठूलो अँध्यारो त्यही बेला सुरु भएको थियो । त्यति बेला मेरो शरीर, मेरो मन र मेरो हिँडाइ सबै कसैको सहारामा टेकेर मात्र अगाडि बढ्न सक्थ्यो र त्यो सहारा बने -मेरा दादा उत्तम कार्की ।
दादाले मलाई दिल्ली पुर्याउने निर्णय गरे, तर त्यो निर्णय केवल औपचारिक थिएन । उनी डाक्टर नभए पनि मेरो जीवनका ती दिनमा उनी नै एम्बुलेन्स, औषधि, हिम्मत र परिवार सबै बने । उनी नहुँदा म दिल्ली पुग्थेँ भन्ने कुरा म आफैँ विश्वास गर्न सक्दिनँ ।
दिल्लीको बाटो मेरा लागि यात्राभन्दा बढी एक शरीरलाई बोक्ने, एक आत्मालाई सम्हाल्ने, एक भविष्यलाई बचाउने
संघर्ष बनेर आएको थियो ।
दिल्ली पुर्याइएसँगै मलाई सीधा एपोलो हस्पिटल लगियो । पहिले नै खुट्टा नचल्ने भइसकेको शरीर, मनमा डर, अस्थिरता, उदासी -सबै मिसिएको क्षण । अस्पतालको सेतो भित्ताहरू, बिस्तरामा बिछिएको मेरो आफ्नो शरीर र वरिपरि दौडिरहेका नर्स-स्टाफहरू… सबै कुरा सपनाजस्तो, तर यथार्थले नङ्ग्याएको यस्ता क्षण कमै हुन्छन् ।
सुरुमा रगत परीक्षण, फेरि न्यूरोलोजिकल परीक्षा, EMG-NCS टेस्ट, MRI, स्पाइनल ट्याप… जसले गर्दा शरीर मात्र होइन, मनले पनि दैनिक रूपमा परीक्षा दिनुपथ्र्यो । हिजो हिँड्ने खुट्टा, आज टेबलमा राखेर विद्युत् संकेतमार्फत परीक्षण गरिँदैछ -त्यो भावनालाई भाषा दिन गाह्रो हुन्छ ।
एक बिहान रिपोर्ट हेरेर मुख्य न्यूरोलोजिस्ट डाक्टर बिनित सुरि आए । उनको अनुहारमा पेशागत गम्भीरता थियो तर आँखामा सहानुभूति पनि प्रस्टै देखिन्थ्यो । उनी ढुक्क भएर मेरो नजिक आए र शान्त स्वरमा भने, “You have CIDP -Chronic Inflammatory Demyelinating Polyneuropathy.”
ती चार शब्द -माथिबाट बज्रझैँ खस्यो । CIDP -मैले कहिल्यै नसुनेको नाम तर जसले मेरो पुरै जीवनको दिशालाई बदलिदिने शक्ति राख्थ्यो ।
डाक्टरले विस्तृत रूपमा बताए -यो एक autoimmune रोग हो, जहाँ शरीरको आफ्नै प्रतिरक्षा प्रणालीले नसहरूलाई घेरेको ‘मायलिन’लाई नष्ट गर्छ । त्यसैले हात-खुट्टा सुन्निनु, कमजोरी बढ्नु, अनि अन्ततः हिँड्न नसक्नु -सबै लक्षण यिनै कारणले भएको रहेछ ।

त्यो क्षण…
डाक्टरका शब्दहरू सुन्दै गर्दा मेरो कान सुन्न थाले तर मन तातो भयो ।
लाग्यो “अब म हिँड्न सक्ला कि सक्दिन ? यो रोग कति गम्भीर ? म घर फर्किन पाउँला ?”
मनमा लाखौँ प्रश्न, आँखा नचाहेर पनि रसाए । तर त्यही क्षण डाक्टरले थपे,
“Don’t worry. CIDP is treatable. You came at the right time.”
त्यही वाक्य मेरो सबैभन्दा ठूलो सहारा बन्यो ।
CIDP को निदान भएपछि सुरु भयो मेरो जीवनको सबैभन्दा कठोर, सबैभन्दा लामो र सबैभन्दा परिवर्तनकारी अध्याय ।
इलाज तत्कालै सुरु भयो । हप्तामा एक पटक दिइने इन्जेक्सन, सोध्दा सामान्य जस्तो लाग्ला तर त्यो इन्जेक्सनको पीडा -शरीरको भित्री नसै-नसामा जलन फैलिनेजस्तो, धड्कनमा चसक्क चिरा पर्ने जस्तो हुन्थ्यो ।
इन्जेक्सन लाग्ने दिन मन मनै डराउँथेँ तर लागिसकेपछि शरीरमा हल्का राहत पनि महसुस हुन्थ्यो -जसले भन्थ्यो,
“अलिकति भए पनि, सुधार सम्भव छ ।”
एक-दुई दिनको कुरा हैन, पुरै तीन महिना म एपोलो हस्पिटलकै कडा नियमिततामा बाँधिएर बसेँ । सेतो भित्ताहरू र दिनरात मुन्टोमा घनघनाउने प्रश्न, “म फेरि हिँड्न सक्ला कि सक्दिन ?”
तीन महिनासम्म औषधि, ड्रिप, परीक्षण, नर्सका कदमको आवाज र साँझपख एक्लै आँखा चिम्लेर सम्झिने घर-परिवार ।तीन महिना पछि डाक्टरहरूले भने, “अब अस्पताल भित्र बसिरहनुपर्दैन, बाहिर कोठा लिएर बस्नुस् । उपचार जारी रहन्छ ।”
त्यसपछि एपोलो नजिकै एउटा कोठा लिएर राखियो अस्पतालभन्दा बाहिर तर अझै पनि पूर्ण स्वतन्त्रता नभएको जीवन । अब उपचार महिनामा एक पटकको इन्जेक्सनमा झर्यो तर त्यो इन्जेक्सन अझै पनि समानै पीडादायी थियो ।
त्यत्तिखेर सबैभन्दा ठूलो शक्ति -संगीता । उनी मसँग थिइन् । म कमजोर थिएँ, उनी बलियो बनिन् । म डराउँथेँ, उनी ढाडस दिन्थिन् । म चल्न सक्थिनँ, उनले समाइदिइन् । उसको त्यो उपस्थितिले ‘इलाज’ लाई औषधिभन्दा ठूलो अर्थ दियो -बाँच्ने शक्ति ।
हात उठाउन नसक्ने म, खुट्टा चलाउन नसक्ने म, शरीरको हरएक नसले प्रतिरोध गर्ने म -बिस्तारै, बिस्तारै, साना-साना गतिहरू पुनः फर्किन थाले । फिजियोथेरापी चोट जस्तै लाग्थ्यो तर त्यो नै मेरो दोस्रो जन्मको आधार भयो ।
अन्ततः नौ महिना पछि डाक्टरले भने, “अब तपाईँ नेपाल फर्कन सक्छौँ ।” त्यो वाक्य जीवनमा सबभन्दा ठूलो उपहार जस्तै लाग्यो ।नेपाल फर्किएपछि म फिजियोथेरापी, औषधि र इन्जेक्सनसँगै नयाँ जीवनको तालिम सिक्दै थिएँ । हिँड्न, उठ्न, हात चलाउन, सबै कुरा फेरि-फेरि सुरु गर्नु एकदमै कठिन थियो । तर त्यो यात्राले मलाई एउटा ठूलो शिक्षा दियो -शरीर कत्तिको कमजोर होला, मानसिक शक्ति त्यसभन्दा सयगुणा बलियो हुन्छ । आशा बाँचिरहेसम्म, मानिस कुनै पनि भोगाइ पार गर्न सक्छ ।
दिल्लीबाट नौ महिनाको उपचारपछि म घर फर्किएँ तर फर्कनु भनेको उपचार सकिनु थिएन -त्यो त दोस्रो चरणको युद्धको सुरुवात मात्र रहेछ ।
नेपालमै इन्जेक्सन उपलब्ध थिएन । त्यसैले महिनामा एक पटक सिलिगुडीका प्रसिद्ध डाक्टर पि.डी. भुटिया कहाँ जानुपर्थ्यो । डा भुटिया ले अब त मलाई राम्रोसँग चिन्न थाल्यो ।
यात्रा आफैँमा पीडादायी -सडक, झट्का, थकान तर ती सबैभन्दा ठूलो पीडा त त्यो इन्जेक्सनबाट बग्ने जलन थियो । तर हरेक महिनाको त्यो एक इन्जेक्सन मेरो शरीरलाई “अलिकति भए पनि, टिकिरहनुस्” भन्नेजस्तै थियो ।
सामान्य मानिसको लागि दुई वर्ष भनेको एक पटक आँखै झिम्किने समयजस्तै होला तर मेरो लागि दुई वर्ष ओछ्यानमै बाँधिनु एक-एक दिन, एक-एक घन्टा जुनून, पीडा र धैर्यको परीक्षा थियो ।
बाहिर संसार चलिरह्यो तर मेरो संसार एउटै ओछ्यानमा सिमित भयो । हिड्न सकिँदैन, बस्न पनि कठिन र मनमा बारम्बार उही प्रश्न- “क्या म फेरि उठ्न सक्छु ।
फिजियोथेरापीको यात्रा अस्पतालमै अन्त्य भएको थिएन । घरमै दैनिक रूपमा -हात माथि उठाउने अभ्यास, घुँडा मोड्ने,
पाखुरा बलियो बनाउने, थोरै-थोरै खुट्टा उठाउने… ती अभ्यासहरू सुरुमा निकै पीडादायी तर हरेक दिन थोरै सुधार आशाको एउटा सानो बत्ति झैँ बल्थ्यो ।
धेरैले भन्थे, “कति कठिन भयो !”
तर त्यो भन्दा कठिन त मनभित्र चल्ने एकान्त युद्ध थियो,
“म सक्षम छु कि छैन ?”
“म फेरि खुट्टामा उभिन सक्छु कि सक्दिन ?”
दुई वर्षको नियमित थेरापीपछि एक दिन लाग्यो, “आज खुट्टा अलिकति हल्का चल्यो ।” अगाडि बढेँ । अर्को दिन, माथि-तल साना साना स्टेपहरू । फेरि थोरै-थोरै हिँडाइ ।
त्यो पहिलो कदम मेरो जीवनको सबैभन्दा ठूलो विजय थियो । त्यस एक कदमले दुई वर्षको पीडा भुलेर मैंले फेरि भविष्य देखेँ ।
केही सुधार भएपछि म पुनः दिल्ली गएँ । त्यहाँ डा. बिनीत सूरी, भारतका अत्यन्तै ख्यातिप्राप्त न्यूरोलोजिस्ट, उनले मेरो रिपोर्ट पढे, हिँडाइको प्रगति देखे र मुस्कुराउँदै भने,
“This is a good sign. You are recovering. You will walk… and you will live normally again.” त्यो वाक्य मेरा लागि बिजुलीझैँ चम्किएको आशा थियो ।
उनै डाक्टरले सुभ संकेत दिएपछि म बिस्तारै हिँड्न सक्ने भएँ, बस्न सक्ने भएँ र जीवन फेरि सामान्यतर्फ फर्कन थाल्यो जसलाई मैले असम्भव ठानेको थिएँ ।
निष्कर्ष -जीवनले सिकाएको महान पाठ
मेरो यस यात्राको सार अत्यन्त स्पष्ट छ -शरीर थक्लिन्छ । उपचार पीडादायी हुन्छ, समय ढिलो बग्छ तर आशा, भित्रको मनोबल र परिवारको साथ सबैभन्दा बलियो औषधि हो ।
आज म हिँडिराखेको कदम, म बोलिराखेको आवाज, म बाँचिराखेको प्रत्येक सास -यी सबै मेरो मात्र शक्ति होइनन् । यीभन्दा धेरै-धेरै ठूलो प्रेम, साथ, आशीर्वाद र कर्तव्यबोध
माथि टिकेका छन् । आज म हिँडिरहेछु भने, मेरो शरीरले हैन, यिनै मानिसहरूको हातले उठाएर राखेको कारणले हो ।
जब म असहाय थिएँ, जसलाई आफैं हिँड्न सक्ने विश्वास पनि घटिसकेको थियो, त्यसबेला “बिरामी होइन, मेरो भाइ” भन्ने मनले मलाई दिल्लीसम्म पुर्याउने काम आफूमा लिए । उत्तम दादाको त्यो एक निर्णय माथिबाट दिएको दोस्रो जीवन जस्तै हो ।
दुई वर्ष ओछ्यानमै बाँधिनु मेरा लागि कष्ट थियो तर परिवारका लागि धैर्य, प्रेम र श्रद्धाको परीक्षा । उनीहरूले कहिल्यै थाकेनन् । कहिल्यै निराश भएनन् र कहिल्यै भन्नेनन्, “किन यस्तो भयो ?” उनीहरूको मौन बलले मलाई फेरि उठ्न सिखायो ।
एपोलो अस्पतालमा डा. बिनित सूरीसँगको भेट मेरा लागि निदान मात्र होइन -ईश्वरको संकेत जस्तै भयो । उनले हल्का मुस्कानसहित भने “This is a good sign. You will walk.” यति छोटो वाक्य तर त्यही वाक्यले मभित्र मरेको आशा फेरि हरियो भएर उम्रियो ।
सिलिगुडीको जति यात्रा पीडादायी थियो, त्यसको भन्दा धेरै उपचार पीडादायी तर डा. भुटिया शान्त, संयत र अनुभवी हातले मेरो CIDP -यात्रालाई आशावादी ट्र्याकमा राखिरहे । प्रत्येक भेट मेरी नसहरूको उपचार मात्र होइन -मेरो मनको ढुकढुकीलाई ढाडस पनि थियो ।
बिर्तामोडका रिजाल सर -फिजियोथेरापी केवल शरीरको प्रशिक्षण होइन, मनको पुनर्जन्म प्रक्रिया पनि हो । दैनिक अभ्यास, दैनिक पीडाबतर दैनिक प्रगति -उनी नहुँदा आज म यति सहज हिँड्न सक्दिनथेँ ।
मेरो जीवनको सबैभन्दा ठूलो सम्मन, मेरो संगीता । हिजो म हिँड्न सक्दिनथेँ, उनी हिँडिरहन्थिन् तर आफ्नै बाटो होइन, मेरो बाटोसँगै । म कमजोर हुँदा उनी ढाल बनिन्, म रोँदा उनी ढुक्क बनिन् । अस्पताल, कोठा, फिजियोथेरापी, यात्रा -प्रत्येक मोडमा उनी थिइन् । संगीता मात्र साथ दिएनन्, उनी मलाई फेरि बनाइदिइन् ।
आज म हिँडिरहेको छु तर यस शरीरमा मेरो कदमभन्दा धेरै
यिनै मानिसहरूको करुणा, परिश्रम र प्रेम हिँडिरहेको छ ।
मेरो जीवन अब म एक्लैको होइन -यो कृतज्ञताले बुनेको -एक पवित्र कथा हो ।


























