नेपाल अहिले पनि संकटको घेरामै छ । पुराना विचार, व्यवहार र ढाँचाले देशको मुहार बदल्न नसकिने नवीन धारणा अहिले बलियो बन्दै गएको छ । बन्दुकको नालबाट सत्ता प्राप्त गर्ने पुरातन सोच नवपुस्ताका लागि अस्वीकार्य भएको छ । युवा पुस्ता त्यहीकारण नयाँ नेपालको निर्माण गर्ने चाहनाले चेतनालाई उजिल्याएर अघि बढेका छन् । यो पुस्ता डिजिटल प्रविधिको प्रयोग बढाएर देश विकासको उत्कट चाहना बोकेर लामबद्ध छन् । अर्कातिर एकथरी राजनीतिक स्थिरतापछिको विकासको अपेक्षा गरिरहेका छन् । त्यहीं पुराना पुस्ताहरु राजनीतिमा निरन्तर संलग्न भएर आफ्ना अनुभवको बलमा फेरि पनि राज्यसत्ताको साँचो नछोड्ने दाउमा छन् ।

कुनै पनि देश सम्पूर्ण विकास योग्य तथा कुशल नेतृत्वको अगुवाईमा मात्र सम्भव हुन्छ । हाम्रो देशले त्यस्तो नेतृत्व पाएन जसले आमनागरिकको इच्छा, आकांक्षा र अपेक्षा अधुरै रहे । त्यसैले आमनागरिकको इच्छा र आवश्यकताको परिपूर्ति गर्न सक्ने सक्षम, सक्रिय, कर्मठ, दृढप्रति र संघर्षशील नेतृत्व देशको आवश्यकता हो । त्यो आवश्यकता वैधानिक बाटोबाटै खोज्नु पर्दछ । त्यो बाटो हो, निर्धारित समयमा हुने निर्वाचनमा विवेकपूर्ण अभिमतको प्रस्तुति । त्यही संगीन घडीमा छौं हामी यतिखेर । हाम्रो नेपाल पुरानै ढाँचा र ढर्राबाट सञ्चालन गर्ने कि काम नलाग्ने पुरानै ढाँचालाई टालटुल पार्ने !
आम नेपालीको चाहना नयाँ नेपालको निर्माण हो । त्यो सपना आसन्न निर्वाचनमा गरिने मतदानले पूरा गर्नसक्छ । मतदान केबल प्रक्रिया होइन, यो नवीनताको कडी पनि हो, तर त्यो कडी त्यतिखेर मात्र सार्थक हुन्छ जब मतदाताले क्ष्णिक स्वार्थ त्यागेर विवकको मत प्रयोग गरिन्छ । युवा वर्ग नउठी न देशको विकास हुन्छ न त दुई दिनको चेतनाले ल्याएको ऐतिहासिक परिवर्तनको सार्थकता प्रमाणित हुन्छ ।
अतः परिवर्तनका संवाहक भनिने नव तथा युवा पुस्ताले हिजोको निरंकुश सरकारबाट पाएको निर्मम दमनबाट पाठ सिकेर एकीकृत आवाज बुलन्द गर्नुपर्छ । पुरातन सोच, विचार र व्यवहारले नयाँ र समृद्ध राष्ट्र बन्नै सक्दैन यो अनुभव र इतिहासले प्रमाणित गरिसकेको छ । त्यसकारण पनि नयाँ पुस्ता र युवा वर्गले देश बदल्न आफूलाई बदलेर, मत बदलेर र विचार बदलेर राष्ट्र निर्माणको यज्ञमा समावेश हुनुपर्छ । त्यसका लागि चेतनाको ढोका खोलेर विवेकको प्रयोग गर्नुपर्छ ।




























