प्रविधिको सही प्रयोग गरौं : लैङ्गिक हिंसा अन्त्य गरौं

0
44

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म संसारभर लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सञ्चालन गरिन्छ । यो अभियानको उद्देश्य केबल लैङ्गिक हिंसाका मुद्दाहरूबारे जनचेतना फैलाउनु मात्र होइन, यसबारे गम्भीर छलफल र समाधानको लागि साझा प्रयास पनि गर्नु हो । यस वर्षको अभियानको नारा ‘प्रविधिको सही प्रयोग गरौं ः लैङ्गिक हिंसा अन्त्य गरौं’ अत्यन्त सान्दर्भिक र महत्वपूर्ण छ, किनकि प्रविधिको वर्तमान युगमा यसको दुरुपयोगले लैङ्गिक हिंसा र उत्पिड़नका नयाँ रूपहरू जन्माएका छन्, जसका कारण पीडितको जीवन अझ कठिन बनिरहेको छ ।

प्रविधि र डिजिटल प्लेटफर्महरूको आगमनले मानिसको जीवनलाई सहज र सम्पर्कमूलक बनाएको छ । यो सँगै प्रविधिको दुरुपयोगका घटना पनि बढेका छन् । विशेषगरी महिला र बालबालिकाहरू अनलाइन हिंसा, यौन उत्पीड़न, साइबर धम्की र शारीरिक शोषणका शिकार बनिरहेका छन् । प्रविधिको सही प्रयोगको महत्व, प्रविधिको दुरुपयोग र यसको समाधानका उपायहरूको चर्चा गर्नु सान्दर्भिक हुन्छ । यसले लैङ्गिक हिंसाबिरुद्धको संघर्षमा कसरी योगदान पु¥याउन सक्छ भन्ने कुरा यहाँ अझ महत्वका साथ उठाइने छ ।

प्रविधिको दुरुपयोग : नयाँ र गम्भीर चुनौती

प्रविधिको युगले मानव जीवनलाई व्यापक परिवर्तन ल्याएको छ । सूचना र सञ्चारको क्षेत्रबाट लिएर, व्यापार, शिक्षा, स्वास्थ्य र मनोरञ्जनसम्मको क्षेत्रमा प्रविधिको अनिवार्य भूमिका रहेको छ । डिजिटल सञ्चारका नयाँ रूपहरू सामाजिक मिडिया, स्मार्टफोन एप्लिकेसन, अनलाइन प्लेटफर्महरूले मानिसहरूको आपसी सम्पर्कलाई तीव्र र समृद्ध बनाएको छ । तर, यस प्रगतिको साथै, यसका नकरात्मक असरहरूले समाजका संवेदनशील वर्गलाई थप जोखिममा पारिदिएका छन् ।

महिलाहरू र बालबालिकाहरू विशेषगरी साइबर उत्पीड़नका शिकार भइरहेको तथ्य एक गम्भीर समस्या बनिसकेको छ । अनलाइन प्लेटफर्महरूमा यौन उत्पीड़न, दुव्र्यवहार र शारीरिक शोषणका विभिन्न रूपहरू प्रकट भएको छन् । यस्ता दुरुपयोगका घटनाहरूले अभद्र टिप्पणी, अश्लील सामग्रीको सेयरिङ, ह्याकरहरूद्वारा महिलाका व्यक्तिगत तस्वीरहरूको अनधिकृत प्रसार र बलात्कारको धम्कीसम्मका घटनाहरूलाई जन्म दिएका छन् । यसैले प्रविधिको दुरुपयोगले महिलाहरूको मानसिक र शारीरिक स्वास्थ्यमा गहिरो असर पु¥याइरहेको छ, जसले उनीहरूको स्वतन्त्रता र सुरक्षा पनि संकटमा पार्दछ ।

साइबर उत्पीड़न र यौन शोषणका घटनाहरूले एक विशेष समस्या उठाएको छ, जुन भनेको अनलाइन हिंसा र वास्तविक जीवनको हिंसा बीचको अन्तर सीमित हुँदै गएको हो । अनलाइन दुव्र्यवहारले मानिसको मानसिकता र व्यवहारमा गहिरो असर छोड्छ, जसका कारण महिलाहरू र बालबालिकाहरू आफ्ना अधिकार र सुरक्षा सुनिश्चित गर्ने तर्फ हिचकिचाउँछन् ।

प्रविधिको सही प्रयोग : लैङ्गिक हिंसा अन्त्य गर्नको लागि उपाय

सपष्टरूपमा भन्नुपर्दा, प्रविधिको दुरुपयोग र यसका नकरात्मक परिणामहरूले लैङ्गिक हिंसाबिरुद्धको लडाइँलाई थप जटिल बनाएको छ । यद्यपि, प्रविधि आफैंमा कुनै पनि प्रकारको हिंसाको निम्तो होइन, यसको प्रयोग गर्ने तरिका र उद्देश्यले यसको प्रभाव निर्धारण गर्दछ । त्यसैले, प्रविधिको सकारात्मक र रचनात्मक प्रयोगले लैङ्गिक हिंसाबिरुद्धको अभियानलाई प्रभावकारी र सशक्त बनाउन सक्छ । प्रविधिको सही प्रयोगले हिंसाबिरुद्धको सूचना फैलाउने, पीडितलाई सहायता पु¥याउने र समाजमा सुसंस्कृत परिवर्तन ल्याउने अवसर प्रदान गर्दछ ।

लैङ्गिक हिंसा अन्त्य गर्ने उपायहरू : सजगता र जागरूकता फैलाउने

प्रविधिको माध्यमबाट लैङ्गिक हिंसा र उत्पीड़नका विभिन्न रूपहरूको बारेमा शिक्षा र जानकारी साझा गर्नु अत्यन्त महत्वपूर्ण छ । अनलाइन प्लेटफर्महरूमा शारीरिक र मानसिक दुव्र्यवहारका शिकार भएका महिलाहरू र बालबालिकाहरूसँग कसरी व्यवहार गर्ने, यस प्रकारका उत्पीड़नको पहिचान कसरी गर्ने र यस्ता समस्याको समाधानका उपायहरू के–के हुन् भन्ने बारेमा जनचेतना फैलाउनु आवश्यक छ । सामाजिक मिडियाको सहायताले विशेष गरेर युवापुस्तामा यसको प्रभावकारी जानकारी फैलाउन सकिन्छ ।

सकारात्मक अनलाइन सञ्जालको निर्माण

सामाजिक मिडिया र अन्य डिजिटल प्लेटफर्महरूले महिलाहरू र पुरुषहरूको बीचको दूरीलाई घटाउन र उनीहरूलाई सुरक्षित प्लेटफर्महरूमा जोड्न मद्दत गर्न सक्छ । यस प्रकारका प्लेटफर्महरूमा महिला अधिकारकर्मी, सामाजिक कार्यकर्ता र सरकारसँगको सहकार्यले हिंसाबिरुद्धको जागरूकता अभियान चलाउन सकिन्छ । अनलाइन हेल्पलाइन, साइबर सुरक्षा सम्बन्धी तालिम र यौन उत्पीड़नका घटनाहरूको प्रतिकार गर्ने अभियानहरू प्रविधिको माध्यमबाट चलाउन सकिन्छ ।

कानूनी र नीतिगत सुधार

प्रविधिको सही प्रयोगका लागि कानूनी र नीतिगत आधारहरूको स्पष्टता र प्रभावकारिता अत्यन्त महत्वपूर्ण छ । सरकारले अनलाइन अपराध र साइबर उत्पीड़नका घटनाहरूलाई रोक्नका लागि कडा कानूनी संरचनाहरू तयार गर्नुपर्छ । भएका कानूनको प्रभावकारी कार्यान्वयन पनि उत्तिकै आवश्यक छ । यसका अतिरिक्त, यौन हिंसा र बलात्कार जस्ता मुद्दाहरूमा डिजिटल प्लेटफर्महरूमा कडा निगरानी राख्नु आवश्यक छ । यस्ता अपराधलाई रोक्नका लागि कानूनी प्रक्रिया र शिक्षा अभियानलाई पनि प्रविधिको माध्यमबाट सशक्त बनाउन सकिन्छ ।

महिला र पुरुष दुबैका लागि सशक्तिकरण

महिला र पुरुष दुबैलाई डिजिटल साक्षरता र प्राविधिक सीपको तालिम दिनु, लैङ्गिक समानताको भावना उत्पन्न गर्नु र हिंसा विरोधी वातावरण सिर्जना गर्नु महत्वपूर्ण छ । प्रविधिको प्रयोगलाई सामान्य शिक्षा र महिलाको सशक्तिकरणको लागि पनि प्रयोग गर्न सकिन्छ । महिलालाई अनलाइन शिक्षामा समावेश गरेर उनीहरूको आर्थिक र सामाजिक सशक्तिकरणलाई सुदृढ पार्न सकिन्छ ।

निष्कर्ष

‘प्रविधिको सही प्रयोग गरौं :लैङ्गिक हिंसा अन्त्य गरौं’ भन्ने नाराले प्रविधिको शक्ति र यसको जिम्मेवार प्रयोगको महत्वलाई रेखाङ्कित गर्दछ । प्रविधि आफैंमा कुनै पनि प्रकारको हिंसा फैलाउने साधन होइन, तर यसलाई दुरुपयोग गर्ने तरिका वा सही तरिकाले प्रयोग नगर्ने अवस्था भने त्यसको नकरात्मक परिणाममा परिणत हुन सक्छ । त्यसैले, प्रविधिको सही प्रयोग गर्नुपर्छ जसले समाजलाई अझ सुरक्षित, समान र समावेशी बनाउन सक्छ । जब हामी प्रविधिको सही प्रयोग गर्न सिक्नेछौं र यसका सकारात्मक प्रभावलाई प्रोत्साहन गर्नेछौं, तब मात्र लैङ्गिक हिंसा र उत्पीड़नको समस्यामा द्रूत र प्रभावकारी समाधानको सम्भावना बढ्छ ।

यस वर्षको अन्तर्राष्ट्रिय अभियानको नारा प्रविधिको सकारात्मक र रचनात्मक प्रयोगको महत्वलाई स्पष्ट पार्दछ । हामी सबैले प्रविधिको माध्यमबाट लैङ्गिक हिंसा र उत्पीडनलाई समाप्त गर्ने साझा जिम्मेवारी लिनु आवश्यक छ । यसका लागि नागरिक, सरकार र सबै संस्था र व्यक्तिहरूको सक्रिय सहभागिता अनिवार्य छ ।

लैङ्गिक हिंसा भनेको के हो ?

लिङ्गका आधारमा हुने हिंसा नै लैङ्गिक हिंसा हो ? विश्वका धेरै समाजमा प्राचिनकालदेखि नै समस्याको रूपमा देखिँदै आएको छ । लिङ्गका आधारमा हुने हिंसा भन्ने बित्तिकै महिला हिंसा भन्ने बुझ्ने प्रचलन सामान्य जनजीवनमा भए पनि महिला वा पुरूष वा तेस्रोलिङ्गी भएकै आधारमा पेशा, अध्ययन, कार्यस्थल, परिवार तथा समाजमा वा कुनै पनि ठाउँमा घृणा गर्नु, कुटपिट गर्नु, यौनजन्य दुराचार, डरत्रास, धम्की दिनु, पारिश्रमिक नदिनु वा कम दिनु, अश्लील शब्द बोन्नु, अश्लील फोटो देखाउनु आदि सबै लैङ्गिक हिंसा हो ।

हाम्रो लगायत विश्वका धेरै समाजहरूमा पुरूषभन्दा महिलाहरू विभिन्न प्रकारका हिंसाबाट बढीपीडित भएका कारण लैङ्गिकताको आधारमा हुने हिंसामा महिला माथि हुने हिंसा बारेको छलफल केन्द्रित छ । अझ स्पष्टरुपमा भन्नुपर्दा लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरी हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ ।

स्रोत, साधन, अवसर, जिम्मेवारी तथा हक–अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू यस अन्तर्गत पर्दछ । साथै, लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन २०७१ अनुसार ‘लैङ्गिक हिंसा’ भन्नाले सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउने कार्य सम्झनुपर्छ र सो शब्दले लैङ्गिक आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दबाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउँछ ।

लैङ्गिक हिंसाका प्रकार : शारीरिक हिंसा

कुटपिट, जबरजस्ती, गर्भपतन गर्न लगाउनु, महिलालाई कामको बोझ थपेर दुःख दिनु वा शारीरिक रुपमा घाऊ, चोटपटक वा क्षति पुग्ने गरी गरिने कुनै पनि प्रकारका हिंसा यस अन्तर्गत पर्दछन् ।

मानसिक हिंसा,शारीरिक यातनाको डर, धाक, धम्की दिने, त्रासपूर्ण व्यवहार गर्ने, गालीगलौच गर्ने, अपशब्द बोल्ने, अरुका अगाडि होच्याउने, तिरस्कार गर्ने, झुठा बात लगाउने, घरबाट निकाला गर्ने, इच्छा विपरीत काम गर्न लगाउने साथै बैचारिक, धार्मिक, साँस्कृतिक तथा परम्पराका आधारमा गरिने भेदभावलाई समेत जनाउँदछ ।

सामाजिक साँस्कृतिक हिंसा

सामाजिक संस्कार, धर्म परम्परा वा रीतिरिवाजका आधारमा गर्ने हिंसाहरु जस्तैः बालविवाह, बोक्सीको आरोप, झुमा, देउकी, वादी, बोक्सी, बहुविवाह, सुत्केरी तथा रजस्वलाको समयमा गरिने छुवाछुतको व्यवहार वा छाउपडि इत्यादि सामाजिक साँस्कृतिक हिंसाभित्र पर्दछन् ।

यौनिक वा यौन हिंसा

काम गर्ने स्थान, अध्ययन–अध्यापन गर्ने स्थान, सार्वजनिक यातायात वा अन्य सार्वजनिक स्थानमा, घरभित्र वा जुनसुकै स्थानमा गरिने बलात्कार, बलात्कारको प्रयास, यौन दुव्र्यवहार, यौनशोषण, जबरजस्ती संवेदनशील अगंहरु छुने वा छुवाउने जबरजस्ती वा झुक्याएर यौन चित्र फोटो वा फिल्म देखाउने वा जबरजस्ती संवेदनशील चित्र, फोटो वा फिल्म खिच्ने, यौनजन्य कुराकानी वा शब्दहरूको प्रयोग गर्ने वा यस्तै प्रकारका अन्य घटनाहरू यौनिक हिंसाभित्र पर्दछन् । यौनिक हिंसाको धेरै जसो घटनाहरू चिनेजाने कै व्यक्तिहरूबाट हुने गरेको तथ्याङ्कले देखाउँछ ।

आर्थिक हिंसा

सगोल वा निजी सम्पत्तीको प्रयोग गर्न वा रोजगारी वा आर्थिक स्रोतसाधनको पहुँच वा प्रयोगमा वञ्चित गर्ने कार्यलाई जनाउँदछ ।

स्रोतः राष्ट्रिय महिला आयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here