आफ्नो पालिकाभित्र बालबालिकाले पैसाकै अभावमा अध्ययनबाट वञ्चित हुन नपरोस् भनेर रोङ गाउँपालिकाले एक रुपैयाँ बचत कार्यक्रम सञ्चालन गरेको थियो । एकपछि अर्को जनसरोकारका रचनात्मक एवम् आयआर्जन सम्बन्धी काममा सो पालिका पूर्वको उदाहरणीय स्थानीय सरकार बनेको छ । इलाम जिल्लास्थित रोङ गाउँपालिकाले खासगरी देशको भविष्य स्वीकार गर्दै बालबालिकाको क्षेत्रमा महŒवपूर्ण योजना सञ्चालन गरिरहेको छ । पालिका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासको नेतृत्वको सो पालिकाले प्रत्येक बालबालिकाको बैंक खातामा दिनहुँ एक रुपैयाँ जम्मा गरिदिन्छ र बालबालिकालाई पनि आफ्नो तर्फबाट बचत गर्न प्रेरित गर्छ ।

पछिल्लो समय रोङ गाउँपालिका अभिभावकविहीन बालबालिकाको संरक्षक बनेको छ । हुन त सरकार सबै नागरिकको अभिभावक हो र संरक्षक पनि । तर यो भनाइ नारामै सीमित छ । यही अवस्थामा रोङले विभिन्न कारणले अभिभावकविहीन हुन पुगेका बालबालिकाका लागि उच्च शिक्षासम्मको जिम्मा लिएको छ । पालिकाभित्रका त्यस्ता एक्काइस जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई स्वास्थ्य, पालनपोषण र कक्षा १२ सम्मको शिक्षाको जिम्मा लिएको छ । बालबालिकाको जन्मसिद्ध र मौलिक हकका रुपमा स्थापित यस्तो व्यवस्थाले बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित हुने छैनन् ।
अध्यक्षसँग विद्यार्थी कार्यक्रम अन्तर्गत अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै अध्यक्ष स्याङ्बोले उनीहरुको संविधानप्रदत्त मौलिक अधिकार सुरक्षित गरेको बताए । कोही नहुनेका लागि भगवान बनेर आएका पालिकाले उनीहरुको दुर्घटना, स्वास्थ्य बिमा समेत पालिकाले गर्ने बताइएको छ । यसका लागि गाउँपालिकाले कोष नै बनाएको छ जसमा दाताहरुको सहयोग पनि विद्यार्थी मै खर्च गर्ने योजना बनाइएको छ । अहिले नै अभिभावकत्व ग्रहण गरेका विद्यार्थीका लागि पालिकाले प्रतिविद्यार्थी दश हजार र सिद्धी हाइड्रोपावरले बीस हजारका दरले रकम जम्मा गरेको पालिकाले जनाएको छ । आवश्यकताका आधारमा उनीहरुलाई आवासीय सुविधा योजना समेत तयार पारेको सो पालिका पूर्वको नमूना बन्दै जानुमा सरकार र स्थानीय सरकारले यसैगरी जनमुखी काम गर्ने हो भने सरकारप्रतिको विश्वास बढ्छ, अभिभावक छ भन्ने अनुभूति हुन्छ ।



























