झापा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै गृहजिल्ला झापाको क्षेत्र नं. २ मा राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोट चुनावको मतगणना फेरि शुरुदेखि नै दोहोर्याइने भएको छ । शनिबारबाट सुरु भएको मतगणनामा ‘हेभी वेट’ नेताहरूबीचको तिखो प्रतिस्पर्धा र मत सदर–बदरको आरोपपछि बाँकी प्रक्रिया पूर्णरूपमा रोकिएको थियो।

कोशी प्रदेशका मन्त्रीदेखि नगरप्रमुख र पत्रकारसम्म प्रतिस्पर्धामा उत्रिएका कारण झापा–२ को नतिजा जिल्लामै सर्वाधिक चासोको केन्द्र बनेको थियो । विशेषगरी पार्टीका पूर्व प्रदेश अध्यक्ष तथा प्रदेश सभा सांसद चिन्तन पाठक र अर्जुनधारा नगरप्रमुख बलदेवसिंह गोम्देनबीच कडा प्रतिष्पर्धा छ । 
एमालेका शीर्ष तहबाट ‘पाठकलाई प्रतिनिधि बनाउनुैपर्छ’ भन्ने दवाब परेको र त्यसकै प्रभावमा गोम्देनका सदर मतलाई समेत बदर गरिएको आरोप एमालेभित्रमै खुलेर उठेपछि मतगणना आइतबार बिहान २ः३५ बजे स्थगित भएको स्रोतको दावी छ । बिहान ८ बजेबाट पुनः सुचारु गर्ने आन्तरिक सहमति बने पनि कार्यान्वयन हुन नसकेपछि अब सोमबारैबाट पूरेै मतगणना सुरुबाटै दोहोर्याइने सहमति भएको पार्टी निकट स्रोतको दाबी छ ।
- ६ ‘हेभी वेट’बीच पाँच सिटको भिडन्त
राष्ट्रिय महाधिवेशन प्रतिनिधिको खुला समूहमा खाने पानी–सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की, प्रदेश सांसद चिन्तन पाठक, जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी, बिर्तामोड नगरअध्यक्ष सुवास भट्टराई, अर्जुनधारा नगरप्रमुख बलदेवसिंह गोम्देन र नेपाल ट्रेड यूनियन महासंघका स्थायी कमिटी सदस्य देवराज कार्कीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
खुला समूहमा १९ उम्मेदवार रहे पनि मुख्य प्रतिस्पर्धा यी ६ बीचमा सीमित भएको छ । पाँच प्रतिनिधि चयन हुने व्यवस्थामा एकजना ‘हेभी वेट’ बाहिरिनु पर्ने भएकाले झापा–२ मा पार्टी भित्रको ‘हाई–स्टेक’ क्षेत्र बनेको हो ।
- मत सदर–बदर विवादले रातभरै मतगणना रोकियो
बिर्तामोड–४ स्थित नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा गणकले गोम्देनका केही सदर मतसमेत बदरमा राखेको आरोप लगाउँदै स्थानीय १२–१५ युवाहरूले आपत्ति जनाएपछि मतगणना रोकेको थियो । केही मतपत्र च्यातिएको आरोप पनि गोम्देन पक्षले अघि सारेको छ।
बिर्तामोड १–९, अर्जुनधारा १–११ र कन्काई–८ / ९ का मतगणना भइरहँदा विवाद चर्किएको बताइएको छ ।
मतगणना रोकिँदासम्मको मतफल यस प्रकार छ :
एकराज कार्की : १२८१, सुवास भट्टराई : ११४१, प्रेमबहादुर गिरी : १११३, चिन्तन पाठक : १०६३, देवराज कार्की : १०६३, बलदेवसिंह गोम्देन : १०१७ रहेको छ ।
अब ५९४ मत मात्र गणना हुन बाँकी छ । तर, गोम्देन पक्षले शुरुदेखि नै पुनः मतगणना गर्नुपर्ने अडान लिएपछि पार्टी नेतृत्व अन्ततः पूर्णरूपमा पुनर्गणना गर्नमा सहमत भएको हो ।
एमाले महाधिवेशन प्रतिनिधि छनौट : झापामा ‘पुरानै अनुहार’ हाबी
नेकपा एमालेले ११ औँ महाधिवेशनका लागि ‘युवा क्लस्टर’ व्यवस्था गरेर नयाँ पुस्तालाई मौका दिने संकेत गरिरहँदा झापामा भने खुल्ला र महिलातर्फ पुरानै अनुहारहरू नै दोहोरिएका छन् ।
दलभित्रको पुरानै संरचना र प्रभावशाली समूहको पकड यथावत रहेकै संकेत गर्दै अधिकांश प्रतिनिधि विगतका पदस्थ–कमिटीका नेताहरूले कब्जा गरेका छन् । जसका कारण प्रतिनिधि छनौटमा पुरानै अनुहार हावी भएको हो ।
पछिल्लो मत परिणाम अनुसार झापा क्षेत्र नं–१ मा खुला क्लस्टरबाट राजु पोखरेल, असारु राजवंशी र लक्ष्मी राई निर्वाचित भए । महिलातर्फ रमा भण्डारी र जानुका ओली, तथा युवा क्लस्टरबाट दीपक बराल विजयी भए ।
झापा क्षेत्र नं–३ मा खुल्लातर्फ छविलाल चुँडाल, त्रिलोचन सापकोटा र बसन्त बानियाँ चयन भए । महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल, युवा क्लस्टरबाट अग्निप्रसाद (अनिल) सापकोटा प्रतिनिधि बने।
झापा क्षेत्र नं–४ मा खुलातर्फ रोशन थोप्रा, रविन्द्र लम्साल, एलपी साँवा र हिक्मत कार्की विजयी छन् । महिलातर्फ कृष्णमाया भुजेल र गोमा रिजाल, युवा क्लस्टरबाट रोशन सुबेदी निर्वाचित भए ।
क्षेत्र नं–५ मा खुल्लातर्फ अम्बिकाप्रसाद खनाल, शिव ढुंगेल, होमबहादुर थापा र तुलसी कार्की विजयी भए । महिलातर्फ अम्बिका देवी अधिकारी (गीता), नर्वदा उप्रेती गौतम र लिला ढुंगेल दाहाल, र युवा क्लस्टरबाट युवराज पौडेल (विवश) चयन भएका छन् ।
झापाबाट दुई दलितसहित ३८ प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछन् । दलित क्लस्टरबाट सर्वसम्मत चयन भए पनि बाँकी ३६ सिटका लागि परेको प्रतिस्पर्धामा ९५ जना उम्मेदवार उभिएका थिए ।






























