हल्दिवारी –५ लाई स्मृति फुटबलको उपाधि

0
60

हल्दिवारी – झापाको हल्दिवारीमा जारी स्व. जगत बहादुर तथा नरमाया वन स्मृति प्रतिष्ठानद्वारा आयोजित दोस्रो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता–२०८२ को उपाधि हल्दीवारी–५ ले हात पारेको छ।

मंसिर १७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनलमा हल्दीवारी–५ ले हल्दीवारी–३ लाई ४–१ ले पराजित गर्दै उपाधि जितेको हो। छवटा टिमको सहभागिता रहेको प्रतियोगितामा विजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड र मेडल हासिल गर्‍यो भने उपविजेता–३ ले १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्‍यो।

जर्सी नं १२ का कप्तान आयुष थिङ ‘म्यान अफ द म्याच’ बने।
विधागत पुरस्कारमध्ये बेष्ट डिफेन्डर अमृत मेचे (वडा–३), बेष्ट मिडफिल्डर हिमाल लिम्बु (वडा–३), हाइ स्कोरर संजोग भुजेल (वडा–५), बेष्ट फरवर्ड विवेक लिम्बु (वडा–५), बेष्ट कोच समिर फागो (वडा–५), प्लेयर अफ द टुर्नामेन्ट हिमाल गुरुङ (वडा–५) र गोलकिपर अफ द टुर्नामेन्ट समीर परियार (वडा–५) घोषित भए।

प्रतियोगिता हल्दिवारी माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न भएको थियो। समापन समारोहमा जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीबीच भएको मैत्रीपूर्ण खेल पनि आकर्षण बनेको थियो। उक्त खेलमा जनप्रतिनिधि समूहले वडा–३ का अजित बिष्टले गरेको एक मात्र गोलका आधारमा १–० को जीत हात पारे।

समापन कार्यक्रम कोशी प्रदेशका सांसद छवि चुडालको प्रमुख आतिथ्यमा सम्पन्न भयो। विभिन्न वडाका अध्यक्ष, स्थानीय राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, खेल प्रेमी तथा स्थानीय बासिन्दाको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक मानबहादुर वन (महेन्द्र) ले खेलकुदले युवालाई सकारात्मक बाटोमा उन्मुख गराउने र समुदायबीच सहकार्य बढाउने बताएका थिए। प्रमुख अतिथिले स्व. आमाबुबाको स्मरण गर्दै माल्यार्पण गरेका थिए।

प्रतिष्ठानले शिक्षा–समाजसेवी नरेन्द्र कार्की, बालगायिका निर्देशिका अछामीलगायतलाई सम्मान प्रदान गर्‍यो। त्यसैगरी वडा–५ ले प्रतिष्ठानका संस्थापक महेन्द्र वनलाई विशेष सम्मान अर्पण गरेको थियो।

कार्यक्रम प्रतिष्ठानका संरक्षक अधिवक्ता डम्बर वनको अध्यक्षता, प्रधानाध्यापक टंकबहादुर पाख्रिनको स्वागत र शिक्षक तुलसी कोइरालाको सञ्चालनमा सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here