चासोक तङ्नाम उधौली पर्व बिर्तामोडमा भव्य रूपमा सम्पन्न

0
27

सञ्जय श्रेष्ठ

झापा । किरात याक्थुङ चुम्लुङ बिर्तामोडको आयोजनामा यस वर्षको चासोक तङ्नाम उधौली पर्व ‘येले तङ्बे ५०८५’ बिर्तामोडमा सांस्कृतिक धुमधामका साथ सम्पन्न भएको छ।
बिर्तामोड नगरपालिका–३ स्थित डोमलाल रंगशालामा आयोजित कार्यक्रममा नगर अध्यक्ष हिमालय प्रसाद कन्दङ्वाको अध्यक्षता तथा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतराको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा स्थानीय कलाकार पालन, दुर्गा तुम्सा, सम्झना लिम्बु, गीता नेम्वाङ, कर्मिला आङ्देम्बे, रिपना लिम्बु, सिद्धान्त खड्का तथा नृत्याङ्गना कुमारी चेम्जोङसहितका कलाकारले प्रस्तुति दिएका थिए।
कमेडी गायक सुजन शिवाकोटीको प्रस्तुति र राष्ट्रिय कलाकार ब्रविन शेर्मा तथा सुनिता थेगिमको विशेष प्रस्तुतिले दर्शकलाई दिनभर मनोरञ्जन दिलाएको कार्यक्रम सञ्चालिका भिममाया नेम्वाङ कन्दङ्वाले बताइन्।

सांस्कृतिक झाँकीअन्तर्गत नेवार समुदायको लाखेनाच, सन्थालनाच, च्याब्रुङ नाच, धाननाच लगायतका झाँकी प्रदर्शन गरिएको थियो। साथै ७ विपन्न परिवारलाई जाडोका लागि न्यानो कम्बल वितरण गरिएको आयोजकले जानकारी दिएको छ।

कार्यक्रममा शिवसतासी नगर प्रमुख मेघाहाङ (रोशन) थोप्रा, अर्जुनधारा नगर प्रमुख बलदेव गोम्देन, हल्दिवारी गाउँपालिका प्रमुख रविन्द्र लिङ्देन, बिर्तामोडका उपप्रमुख नगेन्द्र सङ्ग्रौला, विभिन्न वडाध्यक्ष, राष्ट्रिय तथा प्रदेश चुम्लुङका पदाधिकारी, पुलिस नायब उपरीक्षक विजय श्रेष्ठ, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, कि.या.चु.का वरिष्ठ संरक्षक एवं सल्लाहकारहरू, समाजसेवी तथा कलाकारहरूसहित उल्लेख्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

सहभागिता, सांस्कृतिक विविधता र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको सो कार्यक्रमलाई सफल बनाउनेतर्फ सबैको महत्वपूर्ण योगदान रहेको आयोजक समितिले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here