१२ वर्षपछि प्रादेशिक अस्पताल भद्रपुरमा ‘एनआइसीयू’ सेवा सुरु

0
48

भद्रपुर , प्रादेशिक अस्पताल भद्रपुरमा करिब १२ वर्षपछि नवजात सघन उपचार कक्ष (एनआइसीयू) सेवा सञ्चालनमा आएको छ। आजदेखि सेवा औपचारिक रूपमा सुरु भएको अस्पतालले जनाएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ताका अनुसार २०७० सालमै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नवजात शिशुको उपचारका लागि आवश्यक उपकरण उपलब्ध गराएको थियो। तर जनशक्ति अभावका कारण सेवा सञ्चालन हुन नसक्दा उपकरण वर्षौंदेखि अस्पतालको स्टोरमा राखिएको अवस्था थियो।

हाल मन्त्रालयले चार जना डाक्टर उपलब्ध गराएपछि अस्पतालको पुरानो भवनमा एकैपटक तीन नवजात शिशुलाई एनआइसीयूमा भर्ना गरेर उपचार गर्न सकिने व्यवस्था मिलेको डा. गुप्ताले जानकारी दिए।

उनका अनुसार सेवा सञ्चालनसँगै नवजात उपचारका लागि निजी अस्पताल र क्लिनिक धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। “१२ वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेका उपकरण अहिले जनशक्ति पुगेपछि प्रभावकारी रूपमा प्रयोगमा आएका छन्,” उनले भने।

एनआइसीयूमा हाल चार जना डाक्टर, नौ जना स्टाफ नर्स र चार जना सुरक्षागार्ड खटाइएका छन्। डाक्टर सङ्घीय सरकारले उपलब्ध गराए पनि बाँकी जनशक्ति प्रादेशिक अस्पतालकै रहेको अस्पतालले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here