झापा ।
नयाँ भन्सार ऐन, २०८२ शनिबारदेखि लागू हुँदै भन्सार जाँचपास प्रणालीमा ठूलो परिवर्तन आएको छ । ऐन प्रमाणीकरण भएको ९१ दिनपछि कार्यान्वयनमा आएपछि अबदेखि प्रचलनमा रहेको हरियो, पहेँलो र रातो गरी तीन लेनमा ‘ब्लु लेन’ थपिएको छ ।
नयाँ व्यवस्था अनुसार ‘ब्लु लेन’ लगभग हरियो लेनकै जस्तै सहज मानिएको छ । यसमार्फत जाँचपास हुँदा भन्सार विन्दुमा कागजात वा सामान दुवैको तत्काल चेकजाँच नहुनेछ । तर, भन्सार जाँचपास परीक्षण कार्यालय (पिसिए) ले ब्लु लेनमा पारिएका सबै वस्तु अनिवार्य रूपमा पछि परीक्षण गर्नेछ ।
अघिल्लो प्रणालीमा हरियो लेनबाट पास भएका वस्तु पिसिएले चेकजाँच नगरे पनि हुन्थ्यो, तर निलो लेनमा त्यो छुट रहने छैन ।
विगतको कानूनमा हरियो लेन विश्वासिला व्यवसायीका लागि सिधै जाँचपास, पहेँलो लेन कागजात परीक्षण तथा रातो लेन कागजात–सामान दुवै परीक्षणको प्रावधान थियो ।
नयाँ ऐनले व्यापार सहजीकरणका लागि ‘आधिकारिक व्यावसायिक व्यक्ति (एबिपी)’ को अवधारणा पनि सुरु गरेको विभागले जनाएको छ । एबिपीमा सूचीकृत व्यवसायीले न्यून कागजातमा शीघ्र जाँचपासको सुविधा पाउने छन् । साथै, आयातित वस्तु फिर्ता पठाउने अधिकार भन्सार प्रमुखलाई नै दिने गरी अधिकार हस्तान्तरण गरिएको छ, जुन पहिले महानिर्देशकको अनुमतिबाट मात्र सम्भव थियो ।
सहजीकरणसँगै ऐनले निगरानी र दण्डसजाय कडाइ गरेको छ । न्यून परिमाण घोषणा भएमा लाग्ने जरिवाना ५० प्रतिशतबाट बढाएर १०० प्रतिशत पुर्याइएको छ । राजस्व छल्ने नियतले किर्ते कागजात पेश गरेमा हानीको २०० प्रतिशतसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय तोकिएको छ । निर्याततर्फ पनि गलत विवरण पेश गरेमा २०० प्रतिशत जरिवाना तथा वस्तु जफत हुने व्यवस्था गरिएको छ ।
यात्रुले ल्याउने निजी प्रयोगका सामग्री तथा उपहारलाई कानुनी मान्यता दिएको ऐनले नेपाल डब्लुटिओ र क्योटो महासन्धिका मापदण्ड अनुरूप अघि बढेको भन्सार विभागको भनाइ छ ।
यद्यपि व्यवसायीहरूले कडा प्रावधानले व्यावसायिक वातावरणमा थप चुनौती आउने भन्दै चिन्ता व्यक्त गरेका छन् ।




























