अर्जुनधारा । 

निजी तथा आवासिय विद्यालय संगठन नेपाल(प्याब्सन) अर्जुनधारा नगर समितिले बुधबार एक कार्यक्रमकोबीच विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
संगठनको मंगलबार सम्पन्न दोस्रो पालिका भेलाको निर्णय अनुसार ७७औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा संगठनले उक्त सामग्रीहरु वितरण गरेको अध्यक्ष बालगोपाल गौतमले जानकारी दिए ।
संगठनले अर्जुनधारा नगरपालिका–१स्थित गणेश आधारभूत विद्यालय, अर्जुनधारा नगरपालिका–४ स्थित लक्ष्मी आधारभूत विद्यालय र अर्जुनधारा नगरपालिका–६स्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा पुगेर जम्मा ९० जना विद्यार्थीलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेको हो ।

वितरण गरिएको सामग्रीहरुमा ट्राउजर सेट, टिसर्ट, कपी, पेन्सिल, बल पेन र ज्यामिट्री बक्स रहेको संगठनका सचिव ताराप्रसाद नेपालले जानकारी दिए । कार्यक्रममा प्याब्सन झापाकी उपाध्यक्ष इश्वरा श्रेष्ठ, सदस्यद्वय दीपेन्द्र सुब्बा र सुमन शर्मा जम्मरकट्टेल, सल्लाहकारद्वय रुद्र सिटौला र राजेशकुमार आचार्य, कोषाध्यक्ष राजन वाग्लेलगायतको सहभागिता रहेको थियो ।































