स्मृति

0
3

प्रवेशिका परीक्षा दिएर नतिजाको प्रतीक्षासँगै उच्च शिक्षा अध्ययन गर्ने कल्पनाकासमा कावा खेल्दै बसेको थिएँ । पठनपाठनमा न अब्बल विद्यार्थीको कोटीमै पर्थे, न त गोबर गणेश नै थिएँ । दुईवटैको सिमारेखा नाघ्न कहिल्यै सकिनँ । शिशुदेखि दश कक्षासम्म दसौं श्रेणीभन्दा माथि कहिल्यै उक्लिन सकेको थिइनँ । आठौं कक्षामा प्रवेश गरेदेखि प्रगतिशील विचार प्रति सम्मोहित भएर पढाइमा भन्दा ज्यादा संगठनलाई महव दिने अखिले कार्यकर्ता भएँ । हरेक दिन–रात कमरेडहरु सँगको बाक्लो उठबसले बैठक, छलफल तथा प्रशिक्षण कार्यक्रमलाई ज्यादा समय दिने भएँ । लाल बुझक्कड् बन्ने लालसाले, नेपालीमा उल्था गरिएका आयातित राता किताबहरु खुबै पढियो । गिनिएका नेपालका प्रगतिशील लेखकका रचनाहरु त झन् चाख दिएर पढिन्थ्यो । परिवर्तनको चाहनाले राजनीतिलाई नजिकैबाट नियाल्ने प्रयास गरेँ । राजनीतिप्रतिको बढ्दो चाखले औपचारिक शिक्षाप्रति अरुचि पैदा गराइ पढाइ कमजोर बनायो कक्षा दशसम्म पुग्दा । त्यसैले परीक्षाको नतिजा प्रति संसयले अड्डा जमाएको थियो । आखिर आउनैपथ्र्याे प्रतिक्षाको क्षण अर्थात परीक्षाफल, निर्धारित समयमा आयो नै ।

कुरो २०४७ सालको हो । त्यसभन्दा अघिको दुई ब्याचले लगातार आवश्यक प्रतिशत कटाउन नसकेर थलापर्न लागेको श्री जनता प्रस्तावित माध्यमिक विद्यालयका लागि हाम्रो ब्याचले बाउन्न प्रतिशत नतिजा ल्याउन सफल भयो । माध्यमिक विद्यालय स्वीकृतीका लागि बलियो आधार बन्यो हाम्रो परिक्षाफल । कुल एकाउन्न जना विद्यार्थीहरु मध्ये एकजना प्रथम श्रेणी, चौध जना द्वितीय श्रेणी, बाँकी बाह्र जना तृतीय श्रेणीमा उत्तिर्ण हुन सफल भयौं । मेरो परीक्षाफल सोचेको भन्दा राम्रो आयो, द्वितीय श्रेणीमा उत्तीर्ण भएँ । तिनताका एसएलसी परीक्षामा उत्तीर्ण हुनेलाई निकै इज्जत गरिन्थ्यो । अभिभावकका अलावा इष्टमित्रले समेत ठूलै ठाउँ, राम्रै कलेज र राम्रो विषय लिएर पढ्न सुझाउँथे । हुनेखानेका छोराछोरी प्रायजसो राजधानीमै पढ्न रुचाउँथे । हुँदा खानेका नानीहरु नजिकै रहेका कलेज धाउँथे । आफू हुँदा खाने वर्गभित्र पर्थेँ । ठूलो ठाउँमा, खर्चालु पढाइ धान्ने सामथ्र्य मेरा अभिभावकसँग नरहेको मलाई राम्रो हेक्का थियो । त्यसैले ठूलो ठाउँमा अध्ययन गर्ने जिजिविषालाइै अन्तरकुन्तरमा थान्को लगाएर भद्रपुरस्थित मेची बहुमुखी क्याम्पस भर्ना भइ पढ्ने निधो गरेँ ।

शुभचिन्तकहरुले कानून विषय पढ्न सुझाए पनि समाज शास्त्र विषय नै रोजेँ । कम खर्चमा पढाइलाई अगाडि बढाउने उद्देश्यले घरबाटै धाएर पढ्न शुरु गरेँ । त्यो बेला खुदुनाबारीदेखि शनिश्चरे जान अहिलेको जस्तो सहज थिएन । बाटो नक्सा जस्तो मात्र थियो कच्ची र साँघुरो । हुन त अहिले पनि पक्की र फराकिलो बाटो निर्माणाधीन अवस्थामा रहेको छ । गत वर्ष पौष मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भए अनुसार काम शुरु गरिएतापनि दुईतिहाइ काम बाँकी छाडेर ढेकेदार कम्पनी फरार छ । शनिश्चरे–खुदुनाबारी सडक अस्तव्यस्त छ । नियमन गर्ने सरकारी निकाय मौन छ । टाङटिङ र बिरिङमा पुल थिएन । हिउँदयाममा त्यो पनि सुख्खा मौसम हुँदा मात्र गाडी घोडा कुद्थे । बिर्तामोडसम्म साइकल गुडाएर , बिर्तामोडदेखि बसमा क्याम्पस पुग्थेँ । जिल्लाको सदरमुकाम भद्रपुर लाइनमा ठूलाखालका र राम्रा अवस्थाका गाडी बिरलै चल्थे, अधिकांश लिलिपुटे र थोत्रा । सुरक्षित र आरामदायी यात्रा आकाशको फल झैं हुन्थ्यो । जहिल्यै भिडभाड÷कोचाकोच । खुट्टा टेक्न पाए अहोभाग्य सम्झनुपथ्र्याे । झमक्क साँझ पर्दा मात्र सबै विषयको कक्षा सकेर घर आइपुग्थेँ । सधैँ गलेर लोत हुइन्थ्यो । बेलुकीको खाना खायो सुत्यो । के को पढ्नु घरमा ।

दिनहुँ यसरी चार महिनासम्म कलेज धाउँदा वाक्कदिक्क भएँ । अघिका जोसजाँगर सब सेलाए । बर्षायाम शुरु भइसकेको थियो । रहरै हुँदा पनि धाउनु सम्भव थिएन खुदुनाबारीदेखि । भद्रपुर आसपासमा डेराजम गर्नुको अर्काे विकल्प नै थिएन मसँग । त्यसैले जेठदेखि उतै डेरा बन्दोबस्त गरेर पढाइलाई निरन्तरता दिन शुरु गरेँ । तारा इङ्नाम मेरो रुम पार्टनर थिए । उनी मेरा छिमेकी मात्र नभइ बाल्यकालदेखिकै मिल्ने साथी थिए । अध्ययनमा अब्बल थिए, राजनीतिमा राम्रो दखल राख्नुका साथै साहित्यानुरागी थिए । राम्रो सम्भावना बोकेका व्यक्तिका कोटीमा राख्दा फरक नपर्नेखालका, हाल हामीबीच छैनन् । अल्पायुमै उनलाई गुमाउनुप¥यो । भौतिक रुपले अवसान भएको दुई दशक बितिसकेको हुँदो हो । उनको यादले घरिघरि निचोर्ने गर्छ ।

डेरा बसेर टाकनटुकुन दुई महिना मात्र पठनपाठन गरेको हुँदो हुँ । बुबाको स्वास्थ्य स्थिति बिग्रिएकोले उपचार नगराइ नहुने भयो । घरमुलीनै बिरामले थला परेपछि, उहाँको जीवनभन्दा मेरो पढाइ ठूलो ठानिनँ । घरमा ठूलो मान्छे भनेको आमा मात्र हुनुहुन्थ्यो । ठुल्दाजु बितेको तीन वर्ष भइसकेको थियो । गाडी दुर्घटनामा परेर, खाउँ–खाउँ लाउँ–लाउँ भन्ने उमेरमै । माल्दाजु नेपाल प्रहरीमा जागिरे । दिदीको बिहेवारी भइसकेको थियो । साल्दाजु मुङ्लानिया । आमालाई घरमा सघाउ–पघाउ गर्ने ठूली भतिजी जो सानै थिइ । खाना बनाउनसम्म चाहिँ सक्ने भएकी थिइ । म पढन्ते र काममा अलिक अल्छी । आमाले गर्ने घरेलु काम बाहेक सारा काम बुबाले भ्याउनुहुन्थ्यो । सगोलमा रहुञ्जेल खेतीपातीदेखि लिएर हर काममा ठुल्दाजु नै हुनुहुन्थ्यो , बुबाले गर्ने काममा भरथेग गर्ने । भाउजुले घरको सारा काम भ्याउनुहुन्थ्यो । मानो छुट्टिएपछि अर्थात् बेगल भएपछि कामको सबै भार बुबा–आमा माथि थुप्रिएको थियो । बुबा नै ओछ्यान लागेपछि अब प¥यो विपद् ।

खुदुनाबारीमा एक–दुई क्लिनिक मात्र थिए । अहिले जस्तो सरकारी स्तरबाट चल्ने स्वास्थ्य चौकी थिएन । निजी क्लिनिकमा प्याथोलोजी ल्याव, एक्स–रे जस्ता आधारभूत स्वास्थ्य उपकरण हुनु त परैको कुरा दक्ष डाक्टर थिएनन् । केही जानकार छिमेकीले शनिश्चरे लगेर डाक्टर सकल देव चौधरीलाई चेकजाँच गर्न सुझाएपछि, उनीहरुकै सल्लाह बमोजिम बिरामीलाई गोरुगाडामा शनिश्चरे लगियो र चेकजाँच गराइयो । चेकजाँचपछि डाक्टर चौधरीले मृगौलामा पत्थरिया रहेको हुनसक्ने अड्कल गर्दै आफूसँग एक्स–रे तथा ल्यावका उपकरण नभएकोले उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लैजान सल्लाह दिए । शनिश्चरेमा पनि मानव स्वास्थ्य चेकजाँचमा प्रयोग हुने उपकरणहरु थिएनन् । कि बिर्तामोड कि त भद्रपुरै जानुपर्ने बाध्यता थियो । अहिले सुन्दा पनि अनौठो लाग्छ ।

पछिल्लो दिन बेलुकैदेखि पिसाब जाने क्रिया रोकिएकोले बिरामीको छट्पटी बढिरहेको बुझ्न उहाँको रोदन सुन्दा गाह«ो पर्दैनथ्यो । यति भइसकेपछि हाँप र झाँप गर्दै उहालाई भद्रपुर लग्यौं । सार्वजनिक सवारीसाधनबाट बडो कष्टले । साथमा आमा र भिनाजु हुनुहुन्थ्यो । अस्पतालको बिरामीको अवस्था बुझेर तुरुन्तै भर्ना लियो । प्राथमिक उपचार अन्तर्गत रोकिएको पिसाब बाहिर निकाल्ने काम भयो । त्यसपछि मुत्रनलीमा मुलायम रबरको थैलोयुक्त नली मार्फत पिसाब रोकिने समस्या तत्काल रोकथाम गर्न अस्थाई व्यवस्था मिलाउने काम भयो । चेकजाँच , दबाइपानीका लागि कुरुवाले गर्नुपर्ने र अर्हाए जति सब काम लुरुलुरु गरेँ । सरकारी अस्पताल न हो चुस्त व्यवस्थापनको कमि थियो । विरामीको चाप ज्यादा डाक्टर कम । डाक्टर पिताम्बरलाल यादव एकजना मात्र शल्यक्रिया गर्ने सर्जन थिए । बेलुकीको भिजिटमा आउँदा बल्ल डाक्टरको मुहार देख्न पाइयो । दिउँसो तयार भएको मेडिकल रिपोर्ट सरसर्ति हेरिसकेपछि भने– ‘मुत्रथैलीमा स्टोन छ, मेजर अपरेशन गर्नुपर्छ यहाँ सम्भव हुन्न बिरामीलाई विराटनगर या धरान लैजानु ।’

अलिकता आठोपाँजो र जोरजम्मा गरेको रकम कलम निख्रिनै लागेको थियो यताउता गर्दागर्दै । घरगाउँमा सरसापट खोजखाज गर्नु थियो । फेरि ठूलो ठाउँ, अस्पतालमा बिरामीलाई उपचार गराउनेबारे मेलोमेसो थाहा थिएन । भोलिपल्ट बिहानको एघार बजेतिर बिरामी हेर्न भनि शनिश्चरेबाट माइला मामा, खुदुनाबारीबाट साईला सनाबा टुप्लुक्क आइपुग्नुभयो । मलाई ठूलो सास आयो । आमाले मामालाई भन्नुभयो– ‘ल है माइला अब के गर्ने हो ? कता लैजानुपर्ने हो ? कान्छोले त्यति नपाउला ठूलो ठाउँमा ।’ मामाले भन्नुभयो– ‘ठिकै छ, भिनाजुलाई विराटनगर लैजानुपर्छ, हामी जान्छौं । तिमी, ज्वाइँ र कान्छा घर जानु । पैसाको जोकाड गरेर कान्छालाई भोलि पठाउनु ।’ त्यसपछि बुबाको डिस्चार्ज गर्ने काम सकेर उहाँहरु विराटनगर लाग्नुभयो, हामी घर तर्फ लाग्यौं ।

त्यसको पर्सिपल्ट मात्र विराटनगर जाने चाँजोपाँजो मिल्यो । उताबाट अपरेसन हुने भयो, रुपैयाँ पैसाको जोहो र ब्लड चाहिने भयो भन्ने तारन्तारको खबर आयो । लक्ष्मी दाइ, प्रेम भाइ र म गरी तीन भाइ त्यसतर्फ रवाना भयौं बिहान सबेरै । हामी अस्पताल पुगेपछि यावत उपचार सम्बन्धी विषयबारे सुझाउनुभयो उहाँहरुले । जरुरी काम परेको जनाउ दिँदै घर फर्कनुभयो दुबैजना । अस्पतालमा रहेका बिरामीका सेवा सुश्रुषामा अहोरात्र खट्दै आएका नर्सहरुले– ‘बा को भोलि अपरेशन हुन्छ, ओ पोजिटिभ ग्रुपको दुई पौउण्ड ब्लड स्ट्याण्ड वाई राख्नु ।’ भनी सुसूचित गरेपछि हामी ब्लड बैंक गयौं । शुरुमै दाइ र मेरो रक्त समूह चेक ग¥यौं । संयोगबस ठ्याक्कै मिल्यो र ब्लड जम्मा गर्ने काम पनि फत्ते ग¥यौं र अस्पताल फर्कियौं ।

शल्यक्रिया गर्नुपर्ने बिरामीलाई जनरल वार्डबाट अन्तै सारिदोरहेछ । त्यो वार्ड अलिक सफा र व्यवस्थित थियो । जनरल भन्दा । कुरुवालाई पनि अलिकता सहज हुनेखालको बेलुकीपख त्यता सारियो । बिरामीलाई रातिदेखि निराहार रहने उर्दी भयो, त्यसै ग¥र्यौं । यो गर, त्यो गर आदेश हुन्छ, आज्ञाकारी बनेर यता कुदो, उता कुदो गलेर हत्तु हैरान हुने । वार्डमा टुसुक्क बसेर उँग्न धरि नपाइने । एक बिरामीको दुईजना कुरुवा बस्नै नपाइने । नर्सहरुले कराएर बाहिर निकालिहाल्ने । आलोपालो बाहिर–भित्र गर्नुपर्ने । बार्ड बाहिर दुर्गन्ध र लामखुट्टेले खपिनसक्नु । कष्टले रात काटनुपर्ने ।

पाचौं दिन बिहान सखारै बिरामीको विवरणसहित अपरेसनको निम्ति नम्बरिङ गरिएको प्लेकार्ड बेडमा झुण्ड्याइयो । विवरणमा उल्लेख भए अनुसार बुबाको अपरेसन गर्ने पालो दोस्रो नम्बरमा थियो । निकै हर्षित थिएँ रे त्यो बिहान । अपरेसन थिएटरभित्र लगिएको बुबालाई केहिबेरमै अपरेसन नगरी फर्काएर पहिलेकै वार्डमा ल्याइएपछि ओठ र तालु सुकेका थिए रे मेरा । चश्मदिद गवाह बनेका लक्ष्मी दाइले अझै भन्नुहुन्छ– अस्पतालको त्यो हर्कतले निराश भएँ । मनभरी नानाभाँतीका कुरा खेले । किन गरिएन शल्यक्रिया ? के हुनै नसक्ने अवस्था हो ? संसयले मनभित्र डेरा जमायो । झटपट शल्यक्रिया नहुनुपर्ने कारणबारे सत्यतथ्य बुझ्ने अभिप्रायले स्वास्थ्य परिचारिकालाई सोधिह ालेँ । ‘सल्यक्रिया किन भएन सिस्टर ?’

‘हामीलाई थाहा भएन डाक्टर सा’प आएपछि उहाँलाई नै सोध्नु ।’ उताबाट टर्राे जवाफ पाएँ । दाइले उसैगरी सवाल गरिरहनुभयो, चित्तबुझ्दो जवाफ आएन हामी अवाक् भयौं । मनभित्र शंकैशंकाको ओइरो पहिरो खस्क्यो । भयले तन रुग्ण बन्यो । आफूसित भएको रुपैयाँ पैसा पनि सिद्धिन लागेको थियो । शल्यक्रियाका लागि चाहिने सरसामान खरिद र दबाइ पानीमा खर्च गर्दागर्दै । अब डाक्टर कमरुल हकको कुरा सुन्न मात्र रह्यो । समस्याको जड पहिल्याउन उनकै प्रतिक्षामा रह्यौं । डाक्टर हक आए नियमित समयमा । वार्डका सबै विरामीको अवस्था जाँचबुझ गर्ने क्रममा हाम्रो बिरामीलाई हेर्न भ्याए । सहयोगी टिमलाई खासखुस गर्दै के–के भने बुझिनँ । मैले प्रश्न गर्नुअघि नै मलाई सम्झाउने पाराले भने– ‘बिरामीको उमेर बढी र कमजोर शरीर भएकोले मेजर अपरेसन गर्दा ब्लिडिङ बढी भएर मृत्यु हुनसक्ने रिस्क लिने हो भने मात्र अपरेसन गरिदिने ।’ भनेपछि तीनछक्क परेँ । थिएटरमा लैजानु अघि कुरुवाले गर्नुपर्ने कागजमा सहीछाप गरेकै थिएँ । फेरि किन यस्तो कुरा गरिरहेका छन् डाक्टर ? उनले भनेकै कुरा सत्य हो या अरु कुनै कारण छ ? मनमा खुल्दुली भइरह्यो ।
‘भोलि नौ बजेभित्र रिफर लेटर तयार पारिदिन्छु, लिएर वीर अस्पताल (काठमाडौं) लैजानु बिरामीलाई ।’ –डाक्टर हकले भने ।

‘डा. साप यदि यहाँ उपचार सम्भव थिएन त शुरुमै किन भन्न सक्नुभएन ? हामी जस्ता गरीबलाई यतिका दिनसम्म उपचारको भरोसा दिलाएर यतिका खर्च गराउनु न्यायोचित भयो र ?’ आक्रोषित हुँदै मैले सवाल तेर्साएँ । बेरोकावट मेरो सवाल सुनेको नसुने झैं भए । मलाई जवाफ दिन आवश्यक देखेनन् क्यार । एकअर्कातिर मुखामुख गर्दै अर्काे बिरामी हेर्न अगाडि बढे । मेरो केही जोर चलेन । चलोस पनि कसरी । अस्पतालमा डाक्टरको निर्णय नै सर्वाेपरी हुन्छ, एकछत्र हुकुम चल्छ । बुबालाई अब काठमाडौं कुन खर्चले कसरी लैजाने, त्यहाँ पनि उपचार हुने हो होइन भन्ने कुराले खुबै पिरोल्यो । मनमा अनेकन तर्कनाहरु उब्जिएर त्यो रातभर आँखा झिमिक्क पारिएन ।

छैटौं दिन, बिहानै धरानमा रहनुहुने माल्दाजुलाई टेलिफोन मार्फत यावत विषयबारे जानकारी गराएँ । लक्ष्मी दाइ घर फर्कने हुनुभयो, खर्चबर्चको तम्तयारीका लागि । खुदुनाबारीमा टेलिफोन सेवा नभएकोले एकजना घर नफर्कि नहुने बाध्यता परेको हामीलाई । त्यसैले घरतर्फ बाटो लागे प्रेमलाई साथमा लिएर । टेलिफोन गरेको दुइघण्टा बित्दा नबित्दै माल्दाजु आइपुग्नु भयो । अस्पतालमा गर्नुपर्ने सारा काम सकेर हामीलाई काठमाडौं जाने बस चढाएर बाटो लाग्नुभयो ।

जेठको महिना थियो मनसुन चाँडै सक्रिय भएछ क्यार, नारायणगढ कटेपछि पानी पर्न शुरु भयो । ड्राइभरले गाडीको गति तीव्र पा¥यो । पहाडको पेटैपेट, त्रीशुलीको तिरैतिर, नागबेली सडक गाडीको तीव्रगति निकै डरलाग्यो, पहिलोपटकको यात्रा भएर पनि त्यस्तो लागेको हुनुपर्छ । पानी नै नपरिकन बेलाबखत खस्किने कृष्णभिर खस्किएर जाममा परियो । बिरामी लिएर गएको बेला जाममा बस्नुपर्दा कति छट्पटी भयो होला ? भनि साध्य छैन । सातौं दिन बिहान मात्र जाम हट्यो, यातायात सुचारु भयो । रातभरि जाममा बाटाभरी तेर्सिएका गाडी थानकोट नपुन्जेल धिमा गतिमा गुडेको झैं लाग्थ्यो । कमिलाका ताँती छुटे जस्तै देखिन्थे । थानकोट कटिसकेपछि नागढुङ्गा, नैकाव, कलङ्की हुँदै त्रिपुरेश्वर पुग्दासम्म जाममा पर्नुपरेको थियो । कष्टकर यात्रा टुंग्याउँदै टुँडिखेल छेउमै रहेको बसपार्कमा उत्रियौं । त्यो दिन र रात बसपार्कै छेउमा रहेको चरिको लजमा बिताइयो ।

वीर अस्पतालमा बिरामी भर्ना हुनै मुश्किल । लगातार एघार दिनसम्मको फलोअपसँगै तात्कालिन झापा क्षेत्र नं. २ का सांसद माननीय देवीप्रसाद ओझाको सहयोगले बल्लतल्ल बिरामी भर्ना गर्न सफल भइयो । उपचारको क्रममा आदरणिय मामा विपिन केशर प्रसाईं र माइजुको साथ सहयोग अतुलनीय छ । दाइ लक्ष्मीप्रसाद कटुवाल, मित्र उपेन्द्र आलेको साथ सहयोग बिर्सनै नसकिने रह्यो । अझ अस्पतालमो लामो बसाइले स्वयम्लाई जण्डिज रोगले समाएको बखत मेरो स्वास्थ्य सुधार गर्न मुख्य भूमिका निर्वाह गर्ने मामा माइजू प्रति नमन गर्छु ।

भर्ना भएको चार दिनपछि बुबाको सफल शल्यक्रिया भयो । डा. विश्वराज दली र डा. अर्जुनदेव भट्ट जो शल्यक्रियामा सहभागी प्रमुख चिकित्सक हुनुहुन्थ्यो । स्वास्थ्य परिचारिकाहरु जो विशुद्ध सेवाभावले अहोरात्र बिरामीको उपचारमा खटिरहे, उनीहरुकै सहयोगले बुबालाई मृत्युको मुखबाट बचाउन सकियो । परिवारमा खुशि पुनर्बहाली भयो । वीर अस्पतालमा भर्ना गरिएको आठ दिनभित्र नै बुबाको सफल शल्यक्रिया र डिस्चार्ज भयो । घर छाडेको पुग–नपुग महिना दिनपछि सकुशल अवस्थामा घर फर्काएर ल्याउन पाउँदा परिवारमा खुशीको सिमा रहेन । तर, पठनपाठनमा एक वर्षपछि धकेलिनुपर्दा भने मन अमिलो भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here