९० वर्षीया नारमायाको हर्नियाको सफल शल्यक्रिया 

0
69

झापा, झापाको अर्जुनधारा नगरपालिका–२ निवासी ९० वर्षीय नरमाया आचार्यको दुर्लभ हर्नियाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
बीएण्डसी मेडिकल कलेज, बिर्तामोडमा डा. वाशु वास्कोटा सहितको विशेषज्ञ चिकित्सक टिमले आचार्यको उपचार गरेको हो। गत सोमवार अस्पताल भर्ना भएकी आचार्यको बुधबार हर्नियाको शल्यक्रिया गरिएको थियो।
उपचारमा संलग्न डा. सूर्य ओलीका अनुसार आचार्यको फिर्मरल हर्निया (लेफ्ट साइड) शल्यक्रिया जोखिमपूर्ण थियो र यस प्रकारको शल्यक्रिया सामान्यतया दुर्लभ हुने गर्दछ। डा. ओलीले बताए अनुसार, विशेषज्ञ चिकित्सक टिमको सहकार्य, विरामीका आफन्तको सकारात्मक मोटिभेसन र उच्च स्तरीय अस्पताल सुविधाले गर्दा सफल शल्यक्रिया सम्भव भएको हो।
आचार्यका छोरा याम आचार्य र छोरी इन्द्रमाया भट्टराईले अस्पताल र चिकित्सक टिमको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्। परिवारका अनुसार, १० जना छोराछोरीले सल्लाह गरेर आमाको उपचारका लागि बीएण्डसी मेडिकल कलेजमा डाक्टरसँग आग्रह गरेका थिए। प्रारम्भिक जाँचपछि उनलाई कनकाई अस्पतालमा उपचार सम्भव नभएको र सुविधासम्पन्न अस्पतालमा लैजान सुझाइएको थियो।
शल्यक्रियापछि आचार्य अहिले पूर्ण स्वस्थ र घरमै सुरक्षित रूपमा फिर्ता भएकी छन्। परिवारले उपचार सहज र सुरक्षित भएकोमा खुशी व्यक्त गरेका छन्।
डा. वाशु वास्कोटा र उनका सहकर्मी चिकित्सक टिमले यस जटिल शल्यक्रियालाई सफल बनाउँदा स्थानीय स्वास्थ्य क्षेत्रमा नयाँ आशा र उदाहरण प्रस्तुत गरेका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here