झापा ।

कोशी प्रदेशमा मंसीर महिनामा मात्रै सवारी दुर्घटनामा परी ३२ जनाले ज्यान गुमाएका छन् । सवारी चालकको लापरबाही, विशेषगरी तीव्र गतिका कारण एकै महिनामा ३२ जनाले ज्यान गुमाएका हुन् ।
ट्राफिक प्रहरीको तथ्यांक अनुसार प्रदेशका १४ जिल्लामा मंसीर महिनामा ५ सय ८१ वटा सवारी दुर्घटना भएका छन् । ८ सय ६२ सवारीसाधन दुर्घटनामा पर्दा ९ सय ७९ जना घाइते भएका छन् । कूल दुर्घटनामध्ये ८० प्रतिशत चालकको लापरबाहीका कारण भएको प्रहरीको निष्कर्ष छ । दुर्घटनामा परी ९ सय ७९ जना घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।
कार्यालयका प्रवक्ता एवम् डीएसपी सन्तोष श्रेष्ठका अनुसार मंसीर महिनामा मात्रै चालकको लापरबाहीका कारण ४ सय ६५ वटा दुर्घटना भएका छन् । यो संख्या समग्र दुर्घटनाको ८० प्रतिशत हो । चालकको लापरबाहीमध्ये पनि सबैभन्दा धेरै दुर्घटना तीव्र गतिका कारण भएको जानकारी श्रेष्ठले दिए । उनका अनुसार सवारीसाधन तीव्र गतिमा चलाउँदा एक महिनाको अवधिमा २ सय ४७ वटा (४२.५ प्रतिशत) दुर्घटना भएका छन् ।
चालकको अक्षमताका कारण ९६ वटा (१६.५ प्रतिशत), ट्राफिक नियम उल्लंघनका कारण ६० वटा (१०.३ प्रतिशत), मादक पदार्थ सेवन (मापसे)का कारण ४२ वटा (७.२ प्रतिशत), गलत ‘ओभरटेक’का कारण १८ वटा (३.१ प्रतिशत) र चालक निदाएका कारण २ वटा (०.३ प्रतिशत) दुर्घटना भएको डीएसपी श्रेष्ठले बताए ।
उनका अनुसार यान्त्रिक गडबडी, ‘ओभरलोड’, ‘ब्रेक फेल’, ‘टायर पन्चर’ लगायतका कारण २३ वटा अर्थात् १.२ प्रतिशत दुर्घटना भएका छन् । यात्रुका कारण ५५ वटा (९.५ प्रतिशत) दुर्घटना भएको जानकारी श्रेष्ठले दिए । सवारीसाधनमा चढ्दा एवम् ओर्लदा, जथाभावी बाटो काट्दा तथा यात्रुले लापरबाही गर्दा दुर्घटना हुने गरेको उनको भनाइ छ ।
श्रेष्ठका अनुसार १ महिनाको अवधिमा सडकको दुरावस्था (खाल्डाखुल्डी, घुम्ती, साँघुरो बाटो, उकालो ओरालो, सडक निर्माण र कच्ची सडक)का कारण ३१ वटा (५.३ प्रतिशत), हुस्सु एवम् कुहिरोलगायत मौसमका कारण ४ वटा (०.७ प्रतिशत) र छाडा चौपायाका कारण ३ वटा (०.५ प्रतिशत) दुर्घटना भएको छ ।
कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरीका अनुसार सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमलाई तीव्र बनाएर सडकमा सवारीसाधनको चेकजाँच बढाइएको छ । चालकको लापरबाही, तीव्र गति, ओभरलोडजस्ता नियम उल्लंघन रोक्न सडकमा ट्राफिक सक्रियता बढाइएको उनले बताए ।
सडक सुरक्षालाई मध्यनजर गर्दै समुदाय, विद्यालय, पैदलयात्री तथा चालक लक्षित विभिन्न सचेतनामूलक कार्यक्रम समेत ट्राफिक प्रहरीले गरिरहेको छ । मंसीर महिनामा ट्राफिक सचेतना तथा सडक प्रयोग अभिमुखीकरण सम्बन्धी एक हजार ३ सय ९३ वटा सचेतनामूलक कार्यक्रम गरिएको जानकारी एसपी गिरीले दिए । विभिन्न स्थानमा गरिएको कार्यक्रममा २४ हजारभन्दा बढीको सहभागिता रहेको उनले बताए ।
कोशीमा पछिल्लो १ महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ८ हजार ३ सय ३८ वटा सवारीसाधन कारबाहीमा परेका छन् । नियम उल्लंघन गर्नेलाई जरिबानाको कारबाही गर्दा ८४ लाख ४४ हजार रूपैयाँ राजश्व संकलन भएको गिरीले बताए । उनका अनुसार अटो टेम्पो तथा सिटी सफारीमध्ये ५ हजार ५ सय ७५ वटालाई चेकजाँच गर्दा ९ सय ७१ वटाको अवस्था दुरुस्त नभएको पाइएको छ । अवस्था दुरुस्त नभएका ३ पांग्रे सवारीसाधनलाई अवस्था चुस्त दुरुस्त बनाउन लगाइएको ट्राफिक प्रहरीले जनाएको छ । एसपी गिरीका अनुसार स्वरुप परिवर्तन गरिएका ३३ वटा मोटरसाइकल कारबाहीमा परेका छन् ।
ट्राफिकले कारबाही गरेर जरिबानाबापत १६ हजार ५ सय रूपैयाँ संकलन गरेको छ । साइलेन्सर पाइप र स्वरुप परिवर्तन गरेर ध्वनिप्रदूषण हुने गरी ठूलो आवाज निकालेर कुदाइने मोटरसाइकलमाथि ट्राफिक प्रहरीले निगरानी बढाएको उनले बताए । ट्राफिक प्रहरीले पछिल्लो १ महिनामा १ हजार ५ सय ३५ वटा सार्वजनिक यात्रुवाहक सवारीसाधनमा भाडादर टाँस्न लगाएको छ । ट्राफिकले ५ सय ६९ वटा सवारीसाधनमा राखिएको ठूलो आवाजको ‘प्रेसर हर्न’ समेत निकालेर हटाएको छ । मंसीरमा मात्रै मापसे गरेर कुदाइएका ४ सय ५३ वटा सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन् ।
मापसे गरेर सवारीसाधन चलाउने कार्यलाई निरुत्साहित गर्न चेकजाँच तथा कारबाहीलाई तीव्र पारेर ट्राफिक प्रहरीले २ लाख ३७ हजार ५ सय रूपैयाँ राजस्व संकलन गरेको छ । पछिल्लो समय लागू पदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने क्रम बढेसँगै ट्राफिक प्रहरीले कडाइ गर्न थालेको छ । मंसीर २ गते सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित तरहरामा सार्वजनिक एवम् निजी गरेर २९ वटा सवारीसाधनका चालक र सहचालकको लापसे परीक्षण गरिएको थियो ।
त्यतिबेला ९ जना चालकले लापसे गरेर सवारीसाधन चलाएको पुष्टि भयो । उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले लागूऔषध ऐन अन्तर्गत अनुसन्धान एवम् कारबाही अघि बढाएको छ । त्यस्तै, मंसीर १३ गते आयोजित निःशुल्क शिविरमा ४ सय १५ जनाको आँखाको परीक्षण गरिएको थियो ।
तीमध्ये चालक २ सय १० जना, परिचालक १ सय २० जना र यात्रु एवम् सर्वसाधारण ८५ जनाले सेवा लिएका थिए । आँखा जाँच गरिएकामध्ये १२ जना चालकलाई मोतियाविन्दुको समस्या देखिएको थियो । मोतियाविन्दुको समस्या देखिएकालाई सवारीसाधन सञ्चालनमा तत्काल रोक लगाएर थप उपचारका लागि पठाइएको जानकारी एसपी गिरीले दिए ।




























